वामदेव फेरि बोले– फुटको घोषणा हुन बाँकी छ, दुवै पक्षका बैठकमा जान्नँ – Nepal Press

वामदेव फेरि बोले– फुटको घोषणा हुन बाँकी छ, दुवै पक्षका बैठकमा जान्नँ

काठमाडौं । नेकपा उपाध्यक्ष वामदेव गौतमले पार्टी फुटको घोषणा हुनमात्र बाँकी रहेको भन्दै आफू दुवै समूहका बैठकमा सहभागी नहुने बताएका छन् । गौतमले प्रतिनिधिसभा विघटनको भर्त्सना गरे पनि ओली र प्रचण्ड–माधव नेपाल दुवै पक्षका भेला बैठकमा सहभागिता जनाएका छैनन् ।

आइतबार दुवै पक्षका सांसदहरुको बैठकमा सहभागी नभएका उपाध्यक्ष गौतम सोमबार दुवै पक्षका केन्द्रीय कमिटी बैठकमा पनि सहभागी नहुने भएका छन् । उनले नेपाल प्रेससँग भने– अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका दुवै गुटका बैठकमा भाग नलिने मैले निर्णय गरेको छु । अन्तिमसम्म पनि पार्टी एकता बचाउन प्रयास गर्छु ।

गौतमको भनाइ उनकै शब्दमा

मन्त्रिपरिषद्ले संसद भंग र मध्यावधि निर्वाचनको सिफारिश गरेपछि मैले सम्माननीय राष्ट्रपतिलाई टेलिफोनबाटै त्यस्तो सिफारिश स्वीकृत नगर्नुस् भन्न चाहेको थिएँ । तर, उहाँसँग टेलिफोनमा कुरा गर्न सम्भव भएन ।

त्यसपछि मैले उहाँका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीमार्फत भनेको थिएँ, ‘यदि उहाँले मन्त्रिपरिषद्को सिफारिश बमोजिमको विषयलाई जारी गर्नुभयो भने त्यो दुर्भाग्यपूर्ण हुनेछ । उहाँले यसलाई एकपटक मन्त्रिपरिषद्मै फर्काइदिन उपयुक्त हुन्छ। यसका निम्ति मेरो विनम्र अनुरोध छ ।’

तर, राष्ट्रपतिले विज्ञप्तिमार्फत मन्त्रिपरिषद्को सिफारिशलाई स्वीकृत गर्नुभएको समाचार सुनें । त्यसपछि त्यो दुःखद् घटना हो भन्ने निष्कर्षमा पुगें। त्यसपछि संविधानको मर्म र भावना विपरीत प्रतिनिधिसभा विघटन गैर संवैधानिक कदम हो भन्ने धारणासहित मैले आइतबार नै विज्ञप्ति जारी गरें । अब फुटको घोषणा गर्न मात्रै बाँकी रहेका बैठक, भेलामा भाग नलिने निर्णय मैले गरें ।

फेरि पनि पार्टी एकताको पक्षमा छु । त्यसका निम्ति अर्को निर्णय नहुँदासम्म म पार्टी एकीकरण बचाउन सकिन्छ कि भन्ने प्रयासमै रहनेछु ।

क. केपी ओलीले गरेको भेला होस् वा अरु कमरेडहरुले गर्नुभएको भेला नै किन नहोस्– ती सबै पार्टी फुटाउनका निम्ति भइरहेका छन् । म फुटको साक्षी बस्न सक्दिनँ । म यो पार्टी एकीकरण गराउनेमध्येको नेता हुँ । त्यसैले अहिले पनि एकताको पक्षमा म छु । संसद भंगको गैरसंवैधानिक कदमको विरोध गरिरहन्छु । तर, दुवैतिरका भेलामा मेरो उपस्थिति हुँदैन । मैले पहिले पनि गुटहरुको भेलामा नजाने भन्दै आएको हुँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर