पूर्व माओवादीका तीन नेताले छाडे प्रचण्डको साथ – Nepal Press

पूर्व माओवादीका तीन नेताले छाडे प्रचण्डको साथ

काठमाडौं । संसद् विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयप्रति असहमति जनाउँदै पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका सात मन्त्रीहरुले सामूहिक राजीनामा दिंदा गृहमन्त्री रामबहादुर थापा र उद्योग मन्त्री लेखराज भट्टले भने राजीनामा दिएनन् ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको नोकझोकमा उनीहरुले ओलीको पक्ष लिएको प्रष्टै भयो । थापा र भट्ट पूर्व माओवादी समूहका नेता हुन् ।

त्यस्तै प्रचण्डको साथ छाड्ने नेतामा टोपबहादुर रायमाझी पनि रहेको पाइएको छ । प्रधानमन्त्रीविरुद्ध दर्ता गरिएको ९० सांसदको हस्ताक्षर सूचीमा उनको नाम छैन ।

पछिल्लो समय प्रचण्डप्रति असन्तुष्टि जनाइरहेका अर्का नेता हरिबोल गजुरेलले भने अन्तिम समयमा आएर प्रचण्डलाई नै साथ दिएका छन् । हस्ताक्षर सूचीमा गजुरेलको पनि नाम छ।

सचिवालय सदस्य रामवहादुर थापा बादल र स्थायी कमिटी सदस्यद्वय लेखराज भट्ट तथा टोपवहादुर रायमाझीले केपी ओलीलाई साथ दिएका छन् । उनीहरु प्रचण्डसँग सधैका लागि छुटेका हुन् वा परिस्थितिको आँकलन गर्दैछन् ? प्रष्ट छैन । तर प्रचण्ड माधव नेपाल पक्षको बैठक बसिरहँदा बादल प्रधानमन्त्रीसँगै निर्वाचन आयोग र सुरक्षा निकायका छलफलमा थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर