सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन – Nepal Press

सरकारले राउटेलाई दिएको आश्वासन पूरा गरेन

सुर्खेत । कर्णाली प्रदेश सरकारले दशैंमा राउटेलाई दिएको आश्वासन अहिलेसम्म पूरा नभएको उनीहरूले गुनासो गरेका छन् ।

गत ८ असोजमा दशैंको अवसर पारेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओली, सामाजिक सेवा केन्द्र सोसेकका अध्यक्ष हिरासिंह थापा लगायतको टोली सुर्खेतको चिंगाड गाउँपालिकास्थित राउटे बस्ती पुगेका थिए ।

मुख्यमन्त्री शाहीले वस्तीमा गएर राउटेहरूले पाइरहेको भत्तामा मासिक दुई हजार थपिदिने घोषणा गरेपछि उनीहरूमा खुसी छाएको थियो । मुख्यमन्त्री शाहीले भनेका थिए, ‘हामी राउटेलाई हेर्ने अलग्गै संरचना बनाउँछौं । तपाईंहरूलाई प्रदेश सरकारको तर्फबाट थप दुई हजार भत्ता दिन्छौं ।’
तर, अहिलेसम्म मुख्यमन्त्री शाहीले गरेको वाचा आश्वासनमा मात्र सीमित भएको उनीहरूको गुनासो छ । ‘हामीलाई प्रदेश सरकारले दुई हजार थपिदिए पाँच हजार पुग्थ्यो । कमसेकम लाउन खान त समस्या हुन्नथियो,’ राउटे युवा प्रकाश शाहीले भने, ‘आउँछ कि भन्ने आश गरिरह्यौँ । तर अहिलेसम्म नआउँदा आशा मरेको छ ।’

राउटेका मुखिया महिनबहादुर शाही सरकारले गरेको त्यो वाचा अहिलेसम्म पूरा नगरेकोमा दुःखी छन् ।

‘हाम्रो वस्तीमा आएर आफैंले गरेको वाचा सरकारले पूरा गरिदिए हुने ! त्यति पाइयो भने हामीलाई धेरै राहत हुन्छ,’ मुखिया महिनबहादुर भन्छन् । सरकारले जङ्गलमा आफूहरूलाई उपयुक्त व्यवस्था पनि गर्न नसकेकोमा पनि उनको दुखेसो छ ।

राउटे युवा वीरबहादुर पनि सरकारले वाचा पूरा नगरेकोमा गुनासो गर्छन् । भन्छन्, ‘सरकारले घोषणा मात्रै गरे जस्तो लाग्यो । हामीसँग भनेको वाचा पूरा गरोस् ।’
सामाजिक विकास मन्त्री रावलले सामुदायिक वनसँग सहकार्य गरेर राउटेका समस्या समाधान गर्ने बताएका थिए । ‘अहिले हामीले राउटेको उत्थान गर्न एक संरचना निर्माण गर्ने तयारी गरेका छौं । त्यो संरचनामा एक जना अधिकृतसहित डाक्टर र नर्सको टिम हुनेछ । आवश्यक बजेटको व्यवस्थापन गर्न हामी जुटेका छौं, त्यसका लागि आवश्यक गृहकार्य दशैं लगत्तै सुरु गर्छौं ।’

तर, मन्त्री रावलले प्रतिवद्धता गरेअनुसार कुनै दशैंयता कुनै पनि काम सुरु नभएको राउटेहरूको गुनासो छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *