बुटवल मेडिकल कलेज: दुई वर्षअघि नै कार्यालय उद्घाटन, आयोजनाको डीपीआर पनि बनेन – Nepal Press

बुटवल मेडिकल कलेज: दुई वर्षअघि नै कार्यालय उद्घाटन, आयोजनाको डीपीआर पनि बनेन

रुपन्देही । २०७५ चैत ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयको उद्घाटन भयो । तर, मेडिकल कलेजको भने अझैसम्म विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि बनेको छैन ।

‘एक प्रदेश, एक मेडिकल कलेज’को सरकारी नीतिअनुसार सरकारी मेडिकल कलेज खोल्न सरकारले दुई वर्षअघि नै बजेट छुट्ट्याएको थियो । आयोजनाको भौतिक प्रगति नदेखिए पनि भित्रभित्रै झन्झटिला काम सकिएको कलेजका आयोजना निर्देशक मानबहादुर घिमिरेले बताए । कोरोना महामारीका कारण पनि काम प्रभावित भएको उनको भनाइ छ ।

हालै आयोजनाको डीपीआर गर्न ‘केड कन्सल्टेन्सी’ प्रालि काठमाडौं छनोट भएको र १० महिनामा उक्त कन्सल्टेन्सीले डीपीआर पूरा गर्ने उनले बताए । तिलोत्तमा नगरपालिका–१ र ८ मा पर्ने शंकरनगर र करिहया सामुदायिक वनको झण्डै दुई सय बिगाह जमिनमा मेडिकल कलेज बन्ने भनिएको छ । योजना अनुसार मेडिकल कलेज त्रिभुवन विश्वविद्यालयको आंगिक कलेजका रूपमा स्थापना हुने घिमिरेको भनाइ छ ।

त्यसका लागि करीब १२ अर्ब खर्च हुने पूर्वानुमान गरिएको छ । यद्यपि आयोजनाका पूर्णलागत डीपीआर पूरा भएपछि मात्र आधिकारिक विवरण आउनेछ ।

अस्पताल १ हजार बेड क्षमताको हुनेछ । सोही क्षेत्रभित्र दुई वटा ठूला भवनहरू बन्नेछन्, जहाँ १ हजार विद्यार्थी पढ्न र ५ सय डाक्टर नर्स बस्ने सुविधा रहनेछ । सो क्षेत्रमा एउटा स्कूल, खेल मैदान, स्वीमिङ पुलसहित मेडिकल कलेजको अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको बन्नेछ ।

आयोजनाका इञ्जिनियर उमेश सिंहले यसै आर्थिक वर्षभित्र डीपीआर सम्पन्न गरेर टेन्डरको प्रक्रियामा जाने गरी काम भइरहेको बताए ।

आयोजनास्थलमा एउटा खेलमैदान पनि परेको छ । त्यसलाई अन्यत्र स्थानान्तरण गर्न नगरपालिकासँग समन्वय गरिरहेको इञ्जिनियर सिंहले बताए । अर्थमन्त्री विष्णु पौडेल यसअगाडि अर्थमन्त्री हुँदा उनैको पहलमा देशका सातवटै प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने योजना ल्याइएको थियो ।

सुरूकै वर्ष आयोजनाका लागि १ करोड रूपैयाँ बजेट छुट्ट्याइएको थियो । वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) अनुसार आयोजनास्थलमा १३ हजार रूख काट्नुपर्ने अवस्था छ । त्यसका लागि वन मन्त्रालयबाट स्वीकृतको प्रक्रिया सकिएको घिमिरेले बताए ।

तिलोत्तमा नगरपालिकाका प्रमुख वासुदेव घिमिरेले मेडिकल कलेजको प्रोजेक्ट नेपालकै ठूलो प्रोजेक्ट रहेकाले छिटो बनाउन सबैको सहकार्य आवश्यक भएको बताए । उनले तिलोत्तमामा आयोजनाप्रति कुनै क्षेत्रबाट अवरोध नहुने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर