मदन भण्डारी अस्पताल : नाम फेरियो, काम भएन – Nepal Press

मदन भण्डारी अस्पताल : नाम फेरियो, काम भएन

स्तरोन्नति कागजमै सीमित, अझै चिकित्सक गएनन्

विराटनगर । प्रदेश १ सरकारले उर्लाबारी नगरपालिकास्थित मंगलबारे अस्पताललाई मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा नाम परिवर्तन गरे पनि आवश्यक स्तरोन्नति गर्ने काम भने अलपत्र छ ।

प्रदेश सरकारको घोषणा साविकको मंगलबारे अस्पतालको नाम परिवर्तन गरी मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर बनाउने कुरा अस्पतालको लेटरप्याड र छाप परिवर्तन गर्ने काममा मात्र सीमित बनेको छ ।

प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शय्याको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शय्यामा स्तरोन्नति गरी प्रदेश सरकार मातहत ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालको नाम परिवर्तन गरिएको छ । तर, अहिले पनि साविक १५ शय्याको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालनमा रहेको छ । आवश्यक चिकित्सकको अभावमा भएका उपकरण पनि त्यसै थन्किएका छन् ।

सरकारको निर्णय एक वर्ष पूरा भए पनि त्यसका लागि अस्पतालको शय्या वृद्धि र आवश्यक जनशक्ति पदपूर्ति गर्ने काम पनि हुन नसकेको अस्पतालका निमित्त सुपरिटेन्डेन्ट डा. योगेश मण्डलले बताए । अस्पताल अहिले पनि निमित्त सुपरिटेन्डेन्टको भरमा चल्दै आएको छ ।

प्रदेश सरकारले प्रदेशकै गौरवको आयोजनाको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नति गर्नका लागि १ करोड रुपैयाँ बजेट छुट्याएको थियो ।

मेडिकल सुपरिटेन्डेन्ट मण्डलले सरकार ५० शय्याको अस्पतालसहितको ट्रमा सेन्टरका रूपमा विकास एवम् स्तरोन्नति गर्ने भने पनि पुरानै अवस्थाका भरमा अस्पतालबाट सेवा सञ्चालन गर्न बाध्य भएको बताए । उनले सरकारको निर्णय अनुसारको योजना कार्यान्वयनमा अहिलेसम्म जान समेत नसकेको बताए ।

‘प्रदेश सरकारले १५ शय्याको अस्पताललाई स्तरोन्नति गरी ५० शय्या बनाउने निर्णय गरेको थियो’ मेडिकल सुपरिटेन्डेन्ट मण्डल भन्छन्, ‘सरकारको निर्णय अहिलेसम्म कार्यान्वयनको प्रक्रियामा जान सकेको छैन । अहिलेसम्म अफिसियल लेटर पनि आएको छैन ।’

उनले अस्पतालको नाम, लेटरप्याड र छाप परिवर्तन गर्ने बाहेकका अन्य काम अगाडि नबढेको पनि जानकारी दिए ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रूपान्तरित अस्पताल करार सेवाका चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका चिकित्सक नभएका कारण सेवा प्रवाह अनुसार अस्पतालको स्तर वृद्धि नहुँदा बिरामी घण्टौंसम्म पालो कुर्न बाध्य छन् ।

उर्लाबारीकी मीना कार्की बिरामीले सामान्यतः दुई÷तीन घण्टा पालो पर्खेपछि मात्रै चिकित्सक भेट्न पाउने गरेको गुनासो गर्छिन् ।

‘अस्पतालमा बिरामीको चाप बढ्दै गएको तर चिकित्सकको संख्या थोरै भएकाले पालो पर्खेर उपचार गराउन बाध्य छौं’ उनले भनिन्, ‘सामान्य रुघाखोकी लागेका कतिपय बिरामी लामो लाइन देखेर अस्पताल बाहिरको पसलबाट औषधि किनेर फर्किन्छन् ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर