प्रधानमन्त्री दम्पतीले अभिभावकत्व लिएका छोरीको काठमाडौंमा पढ्ने धोको – Nepal Press

प्रधानमन्त्री दम्पतीले अभिभावकत्व लिएका छोरीको काठमाडौंमा पढ्ने धोको

सुर्खेत । तीन वर्षअघि कर्णाली सरकारले ‘रारा कर्णाली भ्रमण वर्ष २०७५’ शुभारम्भ गर्दै थियो । सोही अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली रारा पुगेका थिए ।

त्यही क्रममा प्रधानमन्त्री ओली र उनकी पत्नी राधिका शाक्यले मुगुका दुई बालिकालाई विद्यालय भर्ना गरे । दुई वर्षभित्र निरक्षरता हटाउने अभियानस्वरुप प्रधानमन्त्रीले बालिकालाई भर्नासहित अभिभावकत्व ग्रहण गरे ।

बालिकालाई बोकेर कपडा, झोला र केही रकमसमेत दिए ।

अभिभावकत्व ग्रहण गरेको तीन वर्ष बितिसक्दा पनि बालिकाहरूको जीवनमा भने खासै परिवर्तन आएको छैन ।

मुगुको माङ्ग्रीमा बस्दै आइरहेकी थिन्ले साङ् लामा प्रधानमन्त्री ओलीले अभिभावकत्व ग्रहण गर्दा ८ वर्षकी थिइन् । अहिले उनी ११ वर्षकी भइन् ।

गाउँमा प्रधानमन्त्रीकी छोरी भनेर त जिस्काउँछन् । तर थिन्लेको पठनपाठन र दिनचर्यामा उही अभाव र गरिबीको झल्को मेटिएको छैन । आमा छिजुलाई त्यतिखेर ठूलो आशा थियो । त्यो आशा अभाव दुःखले मेटाइदिएको छ ।

आफन्त र छिमेकी पनि थिन्लेको उज्ज्वल भविष्यप्रति आशावादी थिए । तर थिन्लेले गाउँकै स्कुलमा अभावकाबीच पढ्नुपरेपछि प्रधानमन्त्रीप्रतिको विश्वास गुमेको छ । ‘समाचार बाहिर आएपछि मात्रै प्रधानमन्त्रीको निजी सचिवालयबाट वर्षको एक दुई पटक पढ्ने खर्च प्राप्त हुन थाल्यो,’ आमा छिजु बताउँछिन् ।

थिन्लेका बुवा केही वर्षअघि अचानक बिरामी भए । विकट ठाउँमा समयमै रोग पहिचान सकेन । अन्ततः अकालमै उनको ज्यान गयो । त्यसपछि आमा छिजु र थिन्लेका दुर्दिन सुरु भए । अहिले आमा र बहिनीसहित थिन्ले मामाघर बस्छिन् ।

उसो त यार्चा सिजनमा धेरै बालबालिकाको पढाइ छुट्छ । थिन्लेको पनि छुटछ ।गाउँको यस्तै वातावरणले छोरीको पढाइ यत्तिकैमा रोकिएकला कि भन्ने चिन्ता छ छिचुमा ।

ओली पुनः प्रधाममन्त्रीमा नियुक्त भएको खबर आमा छिजुले पाइछिन् । नेपाली बोल्न नजानेकी उनले तामाङ भाषामै भनिन्, ‘ उहाँ फेरि प्रधानमन्त्री बन्नुभएकोमा खुसी लाग्यो । यहाँ त छोरीले पढ्न पाउँदिन । काठमाडौंमै लगेर पढाइदिए भविष्य उज्यालो हुन्थ्यो ।’

प्रधानमन्त्री ओलीसँगै धर्मपत्नी राधिका शाक्यले अभिभावकत्व ग्रहण गरेकी बालिका हुन्– छेरिङ रेन्तोम लामा । उनको समस्या थिन्लेको भन्दा कम दुःखदायी छैन । घर खर्च जुटाउन यार्चा संकलन लागि पाटन गएका उनका मारिएकोे ६ वर्ष बित्यो । छेरिङरसहित उनकी बहिनी हजुरवुवासँगै मांग्रीमा बस्दै आएकी छन् अहिले ।

उनकी आमा भने छाइलचौरमा होटल गरिरहेकी छन् । शाक्यले अभिभावकत्व ग्रहण गरेकी छेरिङ तीन महिनायता विद्यालय गएकी छैनन् । ‘घरको एक्लो छोरालाई पाटनमा मारिदिए दुई नातिनीलाई कसरी पढाउनु,’ छिरका हजुरवुबा कुङ्जान तेन्जिङ लामा भन्छन्, ‘लोकप्रियता कमाउन देशका ठूला मान्छेले छोरी बनाइदिए । तर कुनै सहयोग गरेनन् ।’

मांग्रीस्थित बौद्ध माध्यमिक विद्यालयकाअनुसार थिन्ले नियमित विद्यालय जान्छिन् । तर छिरिङ भने प्रायः गयल हुन्छिन् । ‘गाउँमा पढाइप्रति रुचि राख्ने कम छन्, सानो कक्षासम्म उपस्थिति राम्रो हुन्छ । माथिल्लो कक्षामा भने न्युन हुँदै जान्छ,’ विद्यालयका प्रधानाध्यापक टिकाप्रसाद उपाध्याय भन्छन् ।

तस्बिर :  पत्रकार सुशिल खड्का ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *