साैराहामा बढ्न थाले पर्यटक, निकुञ्ज घुम्नेको संख्या भने घट्दै – Nepal Press

साैराहामा बढ्न थाले पर्यटक, निकुञ्ज घुम्नेको संख्या भने घट्दै

चितवन । अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर पर्यटकीय गन्तव्य सौराहामा कोठा बुकिङ हुने क्रम बढेको छ ।

क्षेत्रीय होटल संघ (हान) चितवनका महासचिव गुणराज थपलियाले करिब ५० प्रतिशत होटल नयाँ वर्षका लागि बुकिङ भैसकेको बताए ।

अंग्रेजी नयाँ वर्ष २०२२ को पहिलो दिन यहि पुस १७ गते शनिबार परेको छ । सन् २०२१ को विदाइ गर्ने दिन शुक्रबार र सन् २०२२ को स्वागत गर्ने दिन शनिबार परेकाले आन्तरिक पर्यटक बढ्ने अनुमान गरिएको बताए ।

मंसिरमा सौराहामा गरिएको एमालेको महाधिवेशनले सौराहा एक हप्ता भरिभराउ बनेको थियो । लगत्तै हेटौंडामा भएको कांग्रेसको बागमती प्रदेश अधिवेशनले गर्दा करिब ३ दिन सौराहा चलायमान बनेको थियो । कोभिड संक्रमणका कारण करिब २ वर्ष ठप्प बनेको सौराहा मंसिर यता लयमा फर्किन लागेको छ ।

‘अंग्रेजी नयाँ वर्षमा पनि फेरि सौराहा भरिभराउ हुने आशमा छौँ’, उनले भने, ‘विदेशी पर्यटक नगण्य भएपनि आन्तरिक पर्यटकले सौराहाका पर्यटन व्यवसाय लयमा फर्किदैछ ।’

हानका निर्वतमान अध्यक्ष सुमन घिमिरेले विदेशी पर्यटक आउने मुख्य सिजन भएपनि स्वदेशी पर्यटकै भरमा सौराहा चलायमान बनेको बताए ।

‘सेप्टेम्बर १५ देखि डिसेम्बर १५ विदेशी पर्यटक आउने मुख्य सिजन मानिन्छ’, उनी भन्छन, ‘तर विदेशी पर्यटकको चहलपहल नभएपनि स्वदेशी पर्यटक बढेका छन्, हामी उत्साहित छौँ ।’ अंग्रेजी नयाँ वर्षलाई लक्षित गरेर हरेक पुस ११ देखि १५ गतेसम्म हात्ती महोत्सव गरेर १५ वर्ष यता पर्यटकलाई स्वागत गर्दै आएकोमा २ वर्ष यता हात्ती महोत्सव हुन छाडेको छ ।

रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) सौराहाले पर्यटकलाई अंग्रेजी नयाँ वर्षमा स्वागत गर्न नमस्ते अभियान चलाउने भएका छन् ।

रेवान सौराहाका अध्यक्ष नरेश गिरीले सौराहा प्रवेश गर्ने मुख्य गेट घण्टाघर क्षेत्रमा नमस्ते अभियान चलाइने बताए । ू

ओरालो लाग्यो निकुञ्ज घुम्ने पर्यटकको संख्या

वाइल्ड लाइभ टुरिजमका लागि परिचित चितवन राष्ट्रिय निकुञ्ज घुमफिर गर्न आउने पर्यटकको संख्या ओरालो लागेको छ । यो वर्षको मंसिरसम्म ५१ हजार ३ सय ३ जनाले मात्रै निकुञ्ज घुमेका छन् । विदेशी पर्यटक ज्यादै कम छन् । भूकम्प गएको वर्षपछिका वर्षमा पर्यटकको संख्या बिस्तारै उकालो लागेकोमा कोभिड महामारी पछि ओरालो लागेको हो ।

निकुञ्जको तथ्यांक अनुसार कार्तिक र मंसिरमा भने पर्यटक संख्या केहि बढेको छ । पर्यटक प्रवेश शुल्कबाट निकुञ्जले कार्तिकमा ५१ लाख १४ हजार ८ सय ५० रुपैयाँ र मंसिरमा ५४ लाख १२ हजार रुपैयाँ राजश्व संकलन गरेको थियो ।

साउनमा ३लाख ५४ हजार ३ सय ५०, भदौमा ६ लाख ११ हजार २ सय ५०, असोजमा १५ लाख २ हजार ७ सय रुपैयाँमात्रै राजश्व संकलन गरेको छ । आर्थिक वर्ष २०७७-७८ मा ९८ हजार ९ सय २८ पर्यटकले निकुञ्ज घुमेका थिए ।

९ वर्ष यताकै सबैभन्दा धेरै २०७५(७६ मा १ करोड ८७ लाख १ सय ९ जना पर्यटकले घुमेका थिए । निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले पर्यटकको संख्यामा कमि आउदा निकुञ्जको आम्दानी समेत घटेको बताए ।

‘पर्यटक कम आउँदा निकुञ्जको आम्दानी पनि घटेको छ । आम्दानीको २० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रको सामुदायिक विकास, संरक्षण र जनचेतना लगायतका कार्यक्रमको समेत बजेट घटेको छ’, उनले भने ।

निकुञ्ज घुम्न स्वदेशीले १ सय ५० रुपैयाँ र विदेशीले २ हजार रुपैयाँको प्रवेश शुल्क तिर्नुपर्छ । कोभिडले ठप्प बनेको जंगल सफारी यहि असोजदेखि सुरु गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर