‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँध्ने – Nepal Press

‘सत्यम्’मा मलिका महत अनुबन्धित, पलसँग जोडी बाँध्ने

काठमाडौं । अन्ततः राजेश हमालको मुख्य भूमिका रहने फिल्म ‘सत्यम’ले लिड फिमेल भेटाएको छ । अभिनेत्री मलिका महत प्रोजेक्टमा अनुबन्धित भएकी छिन् । उनले फिल्ममा पल शाहसँग अनस्क्रिन रोमान्स गर्नेछिन् । म्युजिक भिडिओमा पल र मलिकाको अनस्क्रिन जोडी हिट भैसकेको छ ।

गत वर्ष ‘फूलबुट्टे सारी’ गीतको म्यूजिक भिडिओमा अभिनय गरेपछि दर्शकको ‘फेभरेट’ बनेको यो जोडीले पहिलो पटक फिल्ममा स्क्रिन सेयर गर्न लागेको हो ।

‘यात्रा’बाट फिल्ममा डेब्यु गरेकी मलिकाको पछिल्लो फिल्म ‘पानीफोटो’ रिलिज तयारीम छ । कोरोनाकालमा अभिनय गरेको म्यूजिक भिडियोओबाट उनी दर्शकको रोजाइमा परेकी हुन् । ‘सत्यम्’ को कथावस्तु र यसमा आफ्नो भूमिका मन परेपछि काम गर्नका लागि राजी भएको मलिकाले बताइन् ।

फिल्ममा पहिलोपटक हमाल र शाहसँग काम गर्न लागेकोमा मलिकाले खुशि भएको बताइन् । यो फिल्मबाट धेरै कुरा सिक्न पाउने उनको विश्वास छ । शंकर कार्कीको निर्देशनमा बन्न लागेको फिल्ममा अनुपविक्रम शाही र अभय बरालको पनि मुख्य भूमिका रहने भएको छ ।

पर्दामा दर्शकले राजेश अनुपको भीडन्त हेर्न पाउनेछन् । यसअघि उनीहरुले फिल्म ‘सौर्य’ मा एकसाथ अभिनय गरेका थिए । फिल्ममा हमालको चार फरक लुक्स रहनेछ । नवयुग सिनेमाको प्रस्तुतीमा बन्ने ‘सत्यम्’लाई रेशम सापकोटाले लेखेका हुन् भने सापकोटा नै फिल्मका निर्माता हुन् । गणेश पौडेल एशोसियट निर्माता रहेको चलचित्रका सह–निर्माताहरुमा श्याम मल्ल र कृष्ण जोशी छन् ।

फिल्मको एक्सन दृश्य खिच्नको लागि पोखरामा भव्य सेटको निर्माण गरिएको छ । यो फिल्मबाट हमालले चार वर्षपछि कमब्याक गर्न लागेका हुन् । यसकारण पनि ‘सत्यम्’ निर्माण अगावैदेखि दर्शकमाझ प्रतिक्षित बनेको छ ।

तिहारपछि मनाङ, मुस्ताङ, पोखरा र काठमाडौंमा छायांकन हुने फिल्मको इन्डोर महत्त्वपूर्ण दृश्यलाई सेटमै खिचिने भएको छ । निर्देशक कार्कीका अनुसार, निर्माणधिन भव्य सेटमा हेलिकोप्टर क्रयासको दृश्यदेखि ठूला भवनहरुको दृश्यहरु छायांकन गरिनेछ ।

‘सत्यम’मा दक्षिण भारतिय चलचित्रहरुमा उदाईरहेका कलाकार मिलन सिजापतिको पनि नेगेटिभ भुमिका रहने बताईएको छ । निर्माता सापकोटाका अनुसार यो फिल्मबाट सिजापतिले नेपाली फिल्ममा डेब्यू गर्दैछन् । उनी नेपालमा फिजिकल मोटिभेशनल ट्रेनरको रुपमा परिचित छन् । यो चलचित्रबाट मोक्तर खान, कैलाश रावल, नेरिस्का स्थापित, प्रिन्सप्रसिद्ध सिंह, प्रविन चापागाईं, अन्विशा खड्की लगायतका कलाकारहरुले डेब्यू गर्दैछन् । उनीहरु सबै अडिसनबाट छानिएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *