डरलाग्दो दुर्घटनामा बाँचेका रिसभ पन्त १६ महिनापछि भारतको राष्ट्रिय टोलीमा, विश्वकप खेल्ने – Nepal Press

डरलाग्दो दुर्घटनामा बाँचेका रिसभ पन्त १६ महिनापछि भारतको राष्ट्रिय टोलीमा, विश्वकप खेल्ने

काठमाडौं । विकेटकिपर ब्याट्सम्यान रिसभ पन्तले १६ महिनापछि भारतको राष्ट्रिय क्रिकेट टोलीमा कमब्याक गरेका छन् । आउँदो महिना हुने टि–२० विश्वकपको स्क्वाडमा उनलाई समावेश गरिएको छ ।

धेरैको सम्झनामा छ, सन् २०२२ को डिसेम्बरमा रिसभ डरलाग्दो सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका थिए । त्यसबेला उनी फेरि दुरुस्त भएर यति चाँडो मैदानमा फर्किएलान् भन्ने आशा नै गरिएको थिएन । उनी सद्दे हुन्छन् भन्नेमा नै मानिसहरुलाई शंशय थियो ।

उत्तराखण्डमा रहेको आफ्नो घर जाँदै गर्दा उनी आफैंले चलाएको कारले रोड डिभाइडरलाई ठक्कर दिएर आगो लागेको थियो । बिहान साढे ५ बजे भएको दुर्घटनामा कार पूर्णरुपमा क्षतिग्रस्त भएको थियो ।

गाडीमा आगो लागेपछि रिसभ आफैं अगाडि फुटेको सिसाबाट बाहिर निस्किएका थिए । उनलाई रोड डिभाइडरहरु बीचको घाँसे जमिनमा लडिरहेको अवस्थामा केही स्थानीय र एक बस ड्राइभरले भेट्टाए । उनीहरुले एम्बुलेन्स बोलाएर तत्काल अस्पताल पुर्याएका थिए ।

रिसभको टाउको घुँडा चिउँडो र मेरुदण्डमा चोट लागेको थियो । अवस्था नाजुक देखिन्थ्यो । केही दिन देहरादूनको अस्पतालमा उपचारपछि उनलाई एयरलिफ्ट गरेर मुम्बइ लगियो ।

मुम्बइको कोकिलाबेन अस्पतालमा उनको उपचार भयो । स्वास्थ्यमा सुधार आएपछि एक महिनापछि उनी डिस्चार्ज भएका थिए । घरमा आराम गर्दै लामो समय औषधोपचारपछि उनी मैदान फर्किन सफल भए ।

रिसभले गत वर्षको आइपीएल गुमाएका थिए । गत सिजनमा उनको अनुपस्थितिमा दिल्ली क्यापिटल्सको कप्तानी डेभिड वार्नरले गरे । यो सिजनमा उनले खेल्न सक्ने भएपनि फेरि कप्तानी दिइएको छ । उनले उत्कृष्ट प्रदर्शन पनि गरिरहेका छन् ।

पहिलो खेलमै ३२ बलमा ५१ रनको पारी खेलेपछि दर्शकले उनलाई स्ट्यान्डिङ अभोसन दिएका थिए । पन्तले यो आइपीएलमा ११ खेल खेल्दै ३९८ रन बनाइसकेका छन् । सर्वाधिक रन बनाउनेको सूचीमा उनी चौंथो नम्बरमा छन् ।

दुर्घटनाअघि पन्तले भारतका लागि सबै फर्म्याटमा गरी ११९ वटा म्याच खेलेका थिए । उनी आक्रामक ब्याटिङका लागि चिनिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *