बुटवलमा रहेको मन्जुश्री सहकारीमा बचतकर्ताको घेराउ, रकम नदिएको गुनासो – Nepal Press

बुटवलमा रहेको मन्जुश्री सहकारीमा बचतकर्ताको घेराउ, रकम नदिएको गुनासो

रुपन्देही । बचत फिर्ता नदिएको भन्दै बुटवलमा रहेको मन्जुश्री सहकारीको कार्यालय बचतकर्ताले घेराउ गरेका छन् । भैरहवामा केन्द्रीय कार्यालय रहेको मन्जुश्री वहुउद्देश्यीय सहकारीले बुटवलमा शाखा कार्यालय राखेर सेवा संचालन गरेको थियो ।

बुटवल वडा नं ११ कालिकानगरमा रहेको शाखा कार्यालयमा करिब २ दुई सय जना वचतकर्ताले घेराउ गरेका हुन् । आइतबार सहकारीले तरलता अभावका कारण संस्थाको बुटवल शाखा काउन्टर सेवा बन्द गरेको सूचना जारी गरेपछि सोमबार उनीहरु कार्यालय घेराउ गर्न पुगेका थिए ।

शाखाका दुईजना कर्मचारीहरु भने यसअघि नै वचतकर्ताको सम्पर्कमा नरहेपछि उनीहरु सशंकित थिए । सहकारीका अध्यक्ष खिमराज भण्डारी शाखा कार्यालयमा आउने सूचना पाएपछि वचतकर्ताहरु घेराउ गर्न पुगेका हुन् । सहकारीको शाखा कार्यालयहरु बुटवलसहित कपिलवस्तुको जितपुर चार नम्बर र चन्द्रौटासमेत रहेका छन् ।

यसअघि नै वचतकर्ताहरुले आफ्नो वचत रकम फिर्ता मागेको तर सहकारीले विभिन्न बहाना बनाएर फर्काउने, बुटवल शाखाले दिएको चेक प्रधान कार्यालय भैरहवामा लगेर जाँदासमेत पैसा दिन नमिल्ने भनेर फर्काएको बचतकर्ता पुनम जिसीको भनाइ छ ।

सहकारीका अध्यक्ष खिमराज भण्डारीले बचतकर्तालाई फिर्ता गर्नुपर्ने रकम २ करोड रहेको र साढे ३ करोड कर्जा लगानी गरिएको भन्दै कर्जा असली प्रकृयामा रहेकाले तरलता अभावका कारण केही समय बुटवल शाखा बन्द गर्नुपरेको जनाएका छन् ।

संस्थाले कोरोना महमारीपछि आर्थिक क्षेत्रमा परेको असरका कारण लगानी गरिएको कर्जा समयमा असुली नहुँदा तरलता अभाव बढ्दै गएको र कतिपय सदस्यले बचत गरेको रकम अवधि नपुग्दै माग गरेकाले फिर्ता दिँदा तरलता अभाव झनै बढेर समस्या भएको उनको दावी छ ।

वचतकर्ताले शाखा कार्यालय र अध्यक्ष भण्डारीलाई घेराउ गरेपछि दुबै पक्षलाई राखेर छलफल गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले जानकारी दिए । सहकारीबारे विस्तृत विवरण संकलन र अनुसन्धानपछि कसरी अगाडि जान सकिन्छ भन्ने विषयमा अगाडि बढिले उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *