माओवादी घटकबीच एकता गर्दै ८४ को निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेकपाको निर्णय – Nepal Press

माओवादी घटकबीच एकता गर्दै ८४ को निर्वाचनमा भाग लिने विप्लव नेतृत्वको नेकपाको निर्णय

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले माओवादी घटकबीच पार्टी एकता गर्ने र आगामी २०८४ सालको निर्वाचनमा भाग लिने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय कपिलवस्तुको शिवगढीमा वैशाखको पहिलो साता सम्पन्न केन्द्रीय समिति बैठकले गरेका निर्णय सार्वजनिक गर्न मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जानकारी गराएका हुन् ।

चुनावी मोर्चाको उपयोगबारे प्रष्ट पार्दै विप्लवले भने, ‘संसद् र सरकार बनाउन मात्र पार्टीले चुनावको उपयोग गर्न लागेको होइन । समग्र समाजवादी अभियानका रूपमा यसलाई प्रयोग गर्न सकिने सम्बन्धमा बैठकले महत्त्वपूर्ण निर्णय गरेको छ ।’

देशको अवस्था गम्भीर अवस्थामा पुगेको विश्लेषण गर्दै उनले वामपन्थीबिच फराकिलो मोर्चा निर्माण गर्न विचार मिल्नेसँग एकता गर्दै जाने गरी बैठकले निर्णय गरेको बताए ।

बैठकको निर्णयबारे पत्रकार सम्मेलनमा जानकारी दिँदै उनले भने, ‘विचार मिल्नेसँग एकता गर्दै जान्छौ । त्यसका लागि पहिले माओवादी धारसँग एकताबद्ध हुनेगरी पार्टीले पहल गर्छ । त्यसपछि सबै कम्युनिस्ट पार्टीसँग पनि एउटै कम्युनिस्ट आन्दोलन निर्माण गर्न सकिन्छ कि भन्नेमा बहस गर्छौ । त्यति अहिले गर्न नसके स्वाधीनताका रक्षाका लागि एउटा वृहत् कम्युनिस्ट मोर्चा वा वाम मोर्चा वा समाजवादी मोर्चा बनाउन मेहनत गर्ने बैठकले निर्णय गरेको छ ।’

साथै वृहत् समाजवादी आन्दोलनलाई सफल बनाउन नेकपाले नेतृत्व गर्ने पनि महासचिव विप्लवले दाबी गरे ।

उनले देशलाई समाजवादी हुँदै साम्यवादी व्यवस्थामा लैजान तीन वटा विकल्प पनि अघि सार्दै भने, ‘एउटा संविधान परिवर्तन गरेर समाजवादी संविधान बनाउने । अर्को बुर्जुवा गणतन्त्र कि साम्यवादी गणतन्त्र भन्नेमा जनमत सङ्ग्रह गर्ने अनि अर्को जनवादी आन्दोलन गरी समाजवादी शक्ति निर्माण गर्ने । त्यसका लागि समाजवादी शक्तिको नेतृत्वमा सरकार, सदन र सडकबाट सङ्घर्ष गर्ने ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर