समय नपुग्दै काठमाडौं मलको लिज सम्झौता भंग, सटर भाडामा लिनेलाई के हुन्छ ? – Nepal Press

समय नपुग्दै काठमाडौं मलको लिज सम्झौता भंग, सटर भाडामा लिनेलाई के हुन्छ ?

काठमाडौं । कर्मचारी सञ्चय कोषले सुन्धारास्थित आफ्नो स्वामित्वको काठमाडौं मलको लिज सम्झौता भंग गरेको छ । सो सँगै अब व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई के हुन्छ भन्ने चासो उब्जिएको छ ।

सञ्चयकोषले मलमा आफ्नै कार्यालय राखेर बाँकी सटरहरू भाडामा दिने जनाएको छ । त्यसका लागि उसले नयाँ बोलपत्र खुलाउनेछ । सो बेला भाडा लिन इच्छुक व्यवसायीले पनि बोलपत्रमा भाग लिन सक्ने र बोलपत्रबाट योग्य भएका व्यवसायीलाई सटर भाडामा दिने कोषले जनाएको छ ।

काठमाडौं मलको भवन दिवा सपना जेभीले ०७६ माघ ६ मा लिजमा लिने सम्झौता सञ्चयकोषसँग गरेको थियो । ५ वर्षका लागि गरिएको सम्झौतामा मासिक भाडा १ करोड १७ लाख लिने र प्रत्येक वर्ष ५ प्रतिशतका दरले भाडा बढाउने गरी सहमति भएको थियो । तर उक्त जेभीले समयमा भाडा तिर्न आनाकानी गर्ने र कोरोना महामारीको सहुलियत दिनुपर्ने माग गरेको र अर्कोतर्फ सञ्चयकोषलाई थाहै नदिई गरेको मल मर्मत खर्च समेत माग गर्दै आएको थियो ।

यता, सञ्चयकोषले आफू सम्झौता भन्दा अलिकति पनि तलमाथि गर्न नसक्ने भन्दै पन्छिएपछि जेभीले मलको भाडा तिरेन ।

लिज सम्झौता गर्दा नै एक वर्षको भाडा बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था अनुसार जेभीले १५ करोड रुपैयाँ तत्कालीन सिभिल बैंक (हालको हिमालयन बैंक) मा राखेको थियो । सोही रकम कोषले बैंकलाई पत्राचार गरेपछि कोषको खातामा बैंकले ट्रान्सफर गरिदियो ।

जेभीले सो केशमा केही नबोली फेरी बैंकमा १७ करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्यो । फेरी पनि भाडा नतिरेपछि दोस्रो पटक पनि बैंकबाट रकम तान्न खोज्दा जेभी उच्च अदालत पाटन गयो ।

उच्च अदालत पाटनले त्यतिबेला अन्तरिम आदेश जारी गर्दै पैसा कोषले लान नपाउने गरी यथास्थितिमा राख्नुपर्ने निर्णय गर्‍यो । त्यतिबेला जेभीको तर्फबाट हरि ढकालले मुद्दा दायर गरेका थिए ।

पछि दुवै पक्षलाई वार्ता गराएपछि पहिलाको अन्तरिम आदेश खारेज गर्‍यो । सिभिल बैंकमा भएको पैसा सञ्चयकोषको खातामा आयो । त्यसपछि दिवा सपनाले कोषलाई मलको चाबी बुझाएको थियो ।

वैशाख २७ गते ९२०८१० दिवा सपना जेभी र सञ्चयकोषबीचको सम्झौता आधिकारिक रूपमा भंग भएको छ । काठमाडौं मल कर्मचारी सञ्चय कोषले व्यापारिक प्रयोजन निम्ति निर्माण गरेको भवन हो । विगत लामो समयदेखि कोषले यो भवनलाई भाडामा लगाएर आम्दानी गर्दै आइरहेको छ ।

हाल सम्म तीनजनाले सो मल लिजमा लिइसकेका छन् । अब भने सञ्चयकोषले नै आफ्ना कर्मचारी पठाएर चलाउने निर्णय भएको कोषका प्रवक्ता दामोदर प्रसाद सुवेदीले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *