‘सरकारमा गएर आशा जगाउन सकिएन, इलामका जनताले हाम्रो घण्टी बजाइदिए’ – Nepal Press
रास्वपा महामन्त्रीको संश्लेषण

‘सरकारमा गएर आशा जगाउन सकिएन, इलामका जनताले हाम्रो घण्टी बजाइदिए’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ को उपचुनावमा लज्जास्पद हार चाखेको छ । चुनाव जित्ने दाबी गरिरहेका रास्वपा उम्मेदवार मिलन लिम्बूको जमानत नै जफत भयो ।

रास्वपाले यो परिणामको अपेक्षा गरेको थिएन । जीत आशा गरिएकोमा आफ्नो उम्मेवार चौंथो स्थानमा रहेपछि पार्टीमा अलिकति निराशा छाएकै छ । रास्वपाले चुनावी परिणामको समीक्षा भने गर्न भ्याइसकेको छैन ।

महामन्त्री डा. मुकुल ढकाल भने आफ्नो लागि चुनावी मत परिणाम अनपेक्षित नरहेको बताउँछन् । ‘व्यक्तिगत रुपमा मैले त हामी चौंथो हुन्छौं भन्ने नै आँकलन गरेको थिएँ’, उनले भने, ‘यो मत परिणामले मलाई आश्चर्य लागेको छैन ।’

रास्वपाले सरकारमा बसेर जनतालाई आशा जगाउन नसकेकाले नै चुनावमा सोचे जस्तो रिजल्ट नआएको उनको संश्लेषण छ । महामन्त्री डा. मुकुल ढकालसँग इलाम २ को उपनिर्वाचनमाथि केन्द्रित रहेर गरिएको कुराकानीः

– इलाम २ मा रास्वपाले चुनाव जित्ने दाबी गरेको थियो । तर, तेस्रो पनि हुन सकेन । यो परिणाम कत्तिको अप्रत्याशित हो तपाईंका लागि ?

व्यक्तिगत रुपमा मेरो लागि त अप्रत्याशित होइन । मैले चुनावको एक हप्ता अगाडि नै हामी त्यहाँ चौंथो शक्ति हौं भनेर आन्तरिक रुपमा भनेको थिएँ । मेरो अपेक्षा म्याच भएको छ । यद्यपि, धेरै साथीहरु चाहिँ महत्वाकांक्षी भएर पहिलो हुने भनेर हिँड्नुभयो ।

– किन तपाईं चाहिँ पहिल्यै हताश हुनुभएको ?

मुख्य कुरा के भने जनताले अघिल्लो चुनावमा हामीलाई एउटा आशाले भोट दिएका हुन् । भन्नलाई निराशाको भोट भनियो, तर वास्तवमा त्यो आशाको भोट थियो । हामीले मौका पाएको खण्डमा पर्फमेन्स देखाउन सक्छौं भन्नेमा बहुसंख्यक जनता आशावादी थिए । त्यही भएर अघिल्लो चुनावमा उम्मेदवारै नचिनिकन पनि घन्टी चुनाव चिह्नमा मान्छेले भोट हाले ।

तर, अहिले चाहिँ हामी पर्फमेन्स देखाउन सक्ने र देखाउनुपर्ने ठाउँमा छौं । अब हामीले गफले होइन कि कामले जनताको मन जित्नुपर्छ । यदि काम गरेर जनतालाई खुशी पार्न सकेका थियौं भने हामी घरदैलो नै नगरिकन पनि चुनाव जित्थ्यौं । सरकारमा गएपछि दुई महिनाको अवधिमा हामी त्यसमा कहीँकतै चुक्यौं कि जस्तो लाग्छ ।

– चुनावी रणनीतिमा पनि त्रुटि भयो कि भन्ने लाग्दैन ?

पक्कै लाग्छ । खासमा हामी क्रियात्मकभन्दा प्रतिक्रियात्मक शैलीमा उत्रियौं । हामीले आफ्नो वास्तविक धरातल बिर्सेर आफूलाई बढी आँक्यौं र त्यसअनुसार पहिलो हुने धुनमा लाग्यौं । चुनाव जित्ने लक्ष्य राख्नु नै सबैभन्दा ठूलो त्रुटि मान्छु । वास्तवमा चुनाव साध्य नभएर साधनमात्र हो । नयाँ पार्टीले चुनाव जित्ने लक्ष्य राख्नु त पर्छ, तर चुनावलाई नै सबैथोक मान्नु हुन्थेन ।

सरकारमा रहेको पार्टीले त काम गरेर जनताको मन जित्ने हो । चुनाव जसरी पनि जित्ने लक्ष्य राख्दा हामी चुक्यौं । हामी अरु दल जस्तै शक्ति प्रदर्शनको होडमा लाग्यौं । हरियो र रातो पोतिएको ठाउँमा निलो पोत्दै जान थाल्नु नै हाम्रो पराजयको प्रस्थान विन्दु थियो । कांग्रेस र एमालेको भोट नतानिकन त कहिल्यै रास्वपाले जित्न सक्दैन नि ! हामी सबैका हौं भन्ने सन्देश दिन सकेनौं । कांग्रेससँग पनि हामीले अलिकति तिक्ततापूर्ण सम्बन्ध बनायौं । बरु मुढामा हाल्ने, सूर्यमा हाल्ने तर घन्टीमा कदापि नहाल्ने जस्तो मनोदशा कांग्रेसका मतदातामा देखियो ।

तर, सबैभन्दा ठूलो फ्याक्टर भने त सरकारमा बसेर आशा जगाउन नसक्नु नै हो जस्तो लाग्छ ।

– तपाईंको मतलब रास्वपाले सरकारमा पर्फमेन्स देखाउन सकिरहेको छैन ?

हुन त यो अवधि एकदमै छोटो छ, किनकि कुनै पनि सरकारको १०० दिनलाई हनिमुन पिरियड भन्ने गरिन्छ । हनिमुन अवधिमा सरकारको काम कारबाहीबारे निष्कर्षमा पुगिहाल्नु हतारो हुन्छ । यद्यपि, बिहानीले दिनको संकेत गर्छ भन्ने गरिन्छ । हामीले एउटा राम्रो दिनको संकेत गर्न सकेनौं कि ? यो चाहिँ हाम्रो लागि समीक्षाको विषय हो ।

– चुनाव जित्नकै लागि पार्टीले आफ्नो सिद्धान्तभन्दा फरक विचार बोकिरहेका व्यक्तिलाई टिकट दिएको आरोप पनि छ नि ?

म चाहिँ यो स्वीकार्दिनँ । उहाँले लगभग लगभग पार्टीको एजेन्डालाई स्वीकार गरेरै आउनुभएको हो । अहिले कुनै बाहुनलाई उठाएको भए बाहुनवादी पार्टी भयो भन्ने आक्षेप पनि लाग्न सक्थ्यो होला । हामीले सबै जातजातिलाई समेट्ने सन्देश पनि दिन चाहेका हौं । उम्मेदवार चयनमा गल्ती गरेको निष्कर्ष निकाल्यौं भने त्यो अर्को गल्ती हुन्छ । उम्मेदवारको फ्याक्टरले केही न केही तलमाथि भयो होला, तर त्यो नै निर्णायक होइन ।

– अघिल्लो चुनावमा देखिएको रास्वपाको लहर समाप्त भएको हो त अब ? यस्तो हो भने त ८४ को चुनावमा बिजोक होला नि ?

ह्वीम भनेको त क्रियट गर्न सकिने कुरा हो, तर त्यो चाहिँ अब पर्फमेन्सबाट मात्र सम्भव छ । अब हामीले भाषण होइन, कामबाटै जनतालाई आकर्षित गर्नुपर्छ । यसमा कुनै पनि सर्टकट बाटो खोज्नु हुँदैन । जनताले हामीलाई झक्झकाएका छन् । रास्वपालाई नै जनताले घन्टी बजाएका छन् । यो हाम्रोले अझै मेहनत गर्न बाँकी छ भन्ने सन्देश हो ।

हारेपछि त सबै कुरा गलत नै देखिन्छ । जितेको भए सबै ठीक देखिन्थ्यो । मलाई चाहिँ हार्दैछौं भन्ने चुनावको धेरै दिन अगाडि थाहा भएको थियो ।

– पार्टीलाई पनि थाहा थियो ?

पार्टीले त्यसरी सोचेन । यसपालि पार्टीको सोचाइ र मेरो सोचाइ मिलेन । हामी त्यहाँ गएर उफ्रियौं, तर सबैलाई उडेका छौं भन्ने भ्रम पर्‍यो ।

– सहकारी विवादले केही असर गरेको हो ?

सहकारी विवाद खासमा विवादै हुँदैनथ्यो यदि ड्याङ कि ड्याङ पर्फमेन्स गरेर देखाएको भए । पर्फमेन्समा चुकेको बेलामा यस्ता विषयहरु ठूलो भएर आउने हुन् । हाम्रो पर्फमेन्स नै अपेक्षित भएन । पुरानो पार्टीभन्दा फरक र अब्बल देखिन सकेनौं । रास्वपाले पाउने भोट भनेको आशाको भोट न हो । त्यो नै हामीले गुमायौं ।

– सरकारमा सभापति आफैं हुनुहुन्छ । अरु तीन जना प्रभावशाली नेता मन्त्री हुनुहुन्छ । किन पफर्मेन्स दिन सकिएन त ?

अहिले निष्कर्षमा पुग्ने बेला भइसकेको छैन । कहिलेकाहीँ बिहान बादल लागे पनि दिन खुलेर राम्रो हुनसक्छ । हामीसँग अझै पनि समय छ । हामीले आफ्नो कमीकमजोरी सुधारेर पर्फमेन्समा ध्यान दियौं भने पक्कै पनि ८४ को चुनावमा त्यसअनुसार नतिजा आउनसक्छ । अहिले चाहिँ हामीले सुन्दर बिहानीको आभास गराउन नसकेकै हो । यसमा थप केही नभनौं ।

– सरकारमा गएका मन्त्रीहरुले पार्टीसँग कत्तिको समन्वय गरिरहेका छन् ?

कोअर्डिनेसनमा केही न केही कमजोरी त भएका छन् । अहिले त एउटा टीम पूरै उपचुनावमा खटिएको थियो । एउटा उपचुनावमा सिंगो पार्टी पंक्ति केन्द्रित हुन हुन्थ्यो या हुँदैनथ्यो भन्ने प्रश्न पनि छ । एक वर्ष अगाडिको चुनावमा पनि यस्तै अवस्था आएको थियो । सबै जना चुनावमा लाग्दा यता पार्टी लथालिंग भएको थियो । फर्केर आएपछि उत्साहसहित फेरि अगाडि बढेका हौं ।

अहिले पनि सबै कुराहरुलाई ठीक ठाउँमा ल्याउनु छ । विस्तारै पार्टीलाई रिफर्म गर्नेछौं । सरकार र पार्टीबीच एउटा मेकानिज्म सेट भएको छ । यो टीममा अझै साथीहरुलाई थपेर सबैलाई एकएक वटा जिम्मेवारी दिन्छौं । एकडेढ हप्ता लाग्ला !


प्रतिक्रिया

One thought on “‘सरकारमा गएर आशा जगाउन सकिएन, इलामका जनताले हाम्रो घण्टी बजाइदिए’

  1. माकुने कता हो? चुनावको नतिजा आईसक्यो, अरू पार्टीको प्रतिकृया आईसक्यो।
    आफुले आफैलाई माहान ठान्ने माकुनेको प्रतिकृया अहिले सम्म आएको छैन त। ईलाममा ४०० मत पाउनु चानचुने कुरा हैन माकुनेको पार्टीले। बधाई छ एस पार्टीलाई। ८४ को चुनावमा माकुनेको पार्टीको दुई तिहाई पक्का।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर