२०८० सालमा कवि-लेखकले के-के पढे ? कुन-कुन किताब मनमा गढे ? – Nepal Press

२०८० सालमा कवि-लेखकले के-के पढे ? कुन-कुन किताब मनमा गढे ?

काठमाडौं । वर्ष २०८० मा सयौं किताबहरू निस्किए । कतिपय किताबहरूलाई पाठकले रुचाए । समीक्षकले समेत रुचाए । कतिपय किताबहरूलाई भने पाठकले सीधै खारेज गरिदिए । कतिपय किताबहरू राम्रो भए पनि प्रचारप्रसारको कमीका कारण पाठकसम्म पुग्न सकेन ।

पछिल्लो पाँच वर्षमा किताबहरूको बजार खस्कँदै गएको प्रकाशकहरू बताउँछन् । विदेशी किताब आयातमा सरकारले लगाएको कर (भलै यसविरुद्ध कवि लेखकहरूले आन्दोलन गरेर सरकारलाई झुक्न बाध्य बनाएको थियो), यसपछि कोभिड, अनि आर्थिक मन्दीका कारण किताबको बजार साँघुरिँदै गएकोमा प्रकाशकहरूको साथै वितरक र खुद्रा व्यापारीसम्म सहमत छन् ।

यी यावत् समस्याका बाबजुत पातलै भए पनि राम्रा किताबहरू बजारमा आइरहेका छन् । सानो संख्यामै किन नहोस्, कवि लेखकहरूले क्वालिटीको लेखनलाई निरन्तरता दिइरहेकै छन् । यही सिलसिलामा यस वर्ष प्रकाशित किताबहरू कवि लेखकलाई कस्ता लागे त ? नेपाली किताबसँगै उनीहरूले पढेका विदेशी भाषाका किताबहरू पनि कस्ता लागे त ? हामीले यसबारे कवि लेखकहरूसँग बुझ्ने कोसिस गरेका छौं ।

कवि श्रवण मुकारुङले यसपटक केही नेपाली किताब र केही विदेशी किताबहरू पढे । जसमध्ये उनलाई मन परेको चाहिँ प्रज्वल पराजुलीको ‘चित्रलेखाको चौरासी’ हो । सँगै यस वर्ष श्रवण मुकारुङ गत वर्षको मदन पुरस्कार प्राप्त कृति विवेक ओझाको ‘ऐठन’ पनि पढे ।

‘ऐठन’ चाहिँ मुकारुङलाई राम्रै लाग्यो । तर, आलोचनात्मक भएर हेर्दा जनयुद्धमाथि एक पक्षीय रहेको बताउँछन् । भन्छन्, ‘जनयुद्ध भयानक अमानवीय थियो भन्ने कुरा किताबमा छ । त्यो चाहिँ अलि बढी हो कि भन्ने छ ।’

सँगै यस वर्ष युवाकवि गगन योक्पाङदेनको ‘केवाफुङको गीत’ मुकारुङलाई मन परेको कविता संग्रहमध्ये एक हो । यस्तै युवल नोहा हरारीको ‘२१ लेसन्स फर २१ सेन्चुरी’ पनि पढिभ्याए । जेबी दर्लामीको ‘मारीखोलाको ढुंगो’ मा माओवादीभित्र आएको वैचारिक स्खलनलाई जसरी लेखिएको छ, त्यो असाध्यै मन परेको बताउँछन् ।

‘ऐठन’ उपन्यासबाट मदन पुरस्कार जितेका विवेक ओझा यस वर्ष पढेका मध्ये ‘मुकाम रणमैदान’ विशेष पठनीय लागेको बताउँछन् । मोहन मैनालीद्धारा लिखित यस पुस्तकलाई ओझा नेपाल–अंग्रेज युद्धमाथि लेखिएको गैरआख्यान भन्दा पनि इतिहास भन्न रुचाउँछन् ।

यावत् समस्याका बाबजुत पातलै भए पनि राम्रा किताबहरू बजारमा आइरहेका छन् । सानो संख्यामै किन नहोस्, कवि लेखकहरूले क्वालिटीको लेखनलाई निरन्तरता दिइरहेकै छन् ।

ओझा भन्छन्, ‘किताबमा घटनाक्रम र प्रस्तुतिकरणको सिलसिला आख्यानमा जसरी चित्र बनेर सलल बग्छन् । जसले पाठकलाई बलियो गरि डोर्‍याइरहन्छ । यो पुस्तकको सन्दर्भ सामग्रीले दुबै पक्ष (अंग्रेज-नेपाली) का पत्रहरूलाई लिएका कारण पनि मलाई बढी मनपर्‍यो । ती स्रोतको सिलसिला र बुनाई गज्जबको लाग्यो । नेपाल-अंग्रजको युद्धबारे जान्न चाहने पाठकलाई यस किताबले सरल भाषामा वस्तुपरक रूपले प्रष्टसँग छर्लङ्ग पार्छ ।’

ओझालाई अर्को मन परेको पुस्तक हो, ‘सी अफ पोपिज’ । भारतीय लेखक अमिताभ घोषको ‘आइबीस–त्रिलोजी’ अन्तर्गतको भारतमा बेलायती उपनिवेशको समयलाई पृष्ठभूमि बनाइएको यस किताबले उपनिवेश र साम्राज्यवादले सामाजिक मूल्य-मान्यता, धर्म-सस्कृति लगायतलाई कसरी असर गर्छ भन्ने कुरालाई दर्साइएको ओझा बताउँछन् । साथै यस किताबले व्यक्ति र समाजको परिचय र स्वतन्त्रताको वकालत गर्दै विश्वव्यापीकरण र व्यापार लगायतका कुराहरू समेत समेटेको छ ।

ओझालाई अर्को मन परेको किताब हो, ‘द भेजिटेरियन’ । किताबबारे ओझा भन्छन्, ‘सन् २०१६ को ‘द म्यान बुकर इन्टरनेस्नल’ प्राप्त हान काङको ‘द भेजिटेरियन’ मैले अंग्रेजी अनुवाद पढेको हुँ । यो किताबले कसरी कुनै व्यक्ति र उसको स्वतन्त्रता सामाजिक मूल्य-मान्यता, रिति-रिवाज र दबाबले निर्धारण गरिरहेको हुन्छ भन्ने दर्शाउन खोजेको छ । लेखन शैली र कथाको मोडका कारण मलाई यो पुस्तक पठनीय र रोचक लाग्यो ।’

त्यस्तै यस वर्ष ‘बागी स्त्रीको आत्मकथा’ कविता संग्रह ल्याएर चर्चामा रहेकी कवि सुमिनालाई २०८० मा मन परेका नेपाली किताबहरूमा राजु स्याङतानको कविता संग्रह ‘ओ पेङदोर्जे’ पनि हो । कवितालाई विलासी वस्तु ठान्ने साहित्यिक जमातमा यस कविता संग्रहले नौलो प्रयोग गरेको बताउँछन् । भन्छिन्, ‘यसमा उठाइएका सिमान्त मुद्दाहरूले कविता कृतिलाई अब्बल कृतिमा दर्ज गरेको छ ।’
सुमिनालाई कवि अभय श्रेष्ठको ‘लहना र तीर’ पनि यस वर्ष मन परेको किताबभित्रै पर्छ । यस कविता संग्रहमा जसरी दार्शनिक चेतनाको उन्नत प्रयोग गरिएको छ, त्यसले समाजलाई हेर्ने, बुझ्ने र बदल्ने एउटा दार्शनिकी प्रदान गर्ने सुमिनाको पाठकीय अनुभव छ ।

सुमिनालाई मन परेको अर्को किताब हो, प्रकाश थाम्सुहाङको निबन्धसंग्रह ‘शब्दथुम’ । किताबबारे भन्छिन्, ‘नजिकको तीर्थ हेँला, अथवा बत्तीमुनि अँध्यारो भएजस्तै विश्वका विभिन्न सर्जकका नाम गर्वका साथ उच्चारण गर्ने परिपाटी छ । स्वदेशी लेखकलाई सहजै नजरअन्दाज गरिदिने प्रवृत्ति छ । यही बीचमा कवि, निबन्धकार प्रकाश थाम्सुहाङको कलम भने स्वदेशी समकालीन अग्रज स्रष्टाहरूको विचार प्रकाश पार्नमा चलेको देखिन्छ । यो पुस्तकको भाषिक सटिकता र स्पष्टता हरेक लेखकले सिक्न लायक छ ।’

अमृता लम्सालकृत ‘मिडिया, महिला र म’लाई पनि सुमिनले यसवर्षको पठनीय किताबको सूचीमा समावेश गरेकी छन् । लामो समय पत्रकारितामा सक्रिय रहेकी अमृताको यस किताबमा पितृसत्तात्मक समाजमा एउटी महिला दृढतापूर्वक सामाजिक कार्यमा संलग्न हुँदाका जटिल भोगाइहरू समावेश छन् भने संघर्षका थुप्रै आयामहरू पनि जोडिएको सुमिना बताउँछिन् ।

त्यस्तै रोहेज खतिवडाद्वारा अनुवाद गरिएको निबन्ध संग्रह ‘२१ औं शताब्दमिा निगरानी र स्वतन्त्रता’ पनि सुमिनालाई मन परेको किताब हो । यस किताबले प्रदान गर्ने वेश्विक दृष्टिकोण, विकसित विज्ञान प्रविधिको युगमा एकातर्फ विश्वले स्वतन्त्रताको भरपुर प्रयोग गर्दैगर्दा अर्कोतर्फ कतै इन्टरनेट र प्रविधिकै माध्यमबाट ’बिग डेटा’ निगरानीमा जगडिदै गइरहेको त छैन भन्ने आशंका र त्यसले निम्त्याउन सक्ने खतरनाक अवस्थासँग विश्व र मानव सभ्यतालाई सचेत गराएको बताउँछिन् ।

चर्चित कविताकृति ‘बाडुली र सुदूर सम्झना’का कवि स्वप्नील स्मृतिलाई यस वर्ष कविताका किताबहरू नै बढी मनपर्‍यो । अभय श्रेष्ठको ‘लहना र तीर’ले संरचनात्मक विभेदलाई पोषण दिने सत्ता र शक्ति, भूमण्डलीकरण र नवउदारवादी बजारको हैकमलाई तिक्खर भाषामा आलोचना गरेको स्वप्नीलको ठहर छ ।

उनी भन्छन्, ‘कवितामा आकर्षक शैलीमा आलोचनात्मक विचार प्रक्षेपण गर्न अहिलेका माक्र्सवादी स्कुलमा चिनिएका धेरै युवा कविले अभय श्रेष्ठबाट ‘उत्तरदान’ लिएका हुन् भन्दा फरक पर्दैन । घटना, विषयवस्तु र विचारलाई समेत सक्दो न्यायका दृष्टिले कवितामा वकालत गर्नु उनको मूल विशेषता हो । सत्यको पनि सत्यको पक्षपाति लाग्ने कवि अभय हूलभन्दा पर एक्लै हिँडिरहेका, हूलमा सामेल हुँदा पनि पनि कसैको घचेटाइले सडक किनारामा उछिट्टिएका कवि झैँ लाग्छन् ।’

साथै सरल र सटिक अनि पाठकको मर्ममै छुने भाषा शैलीमा लेखिएका कविताहरूको संग्रह ‘ओ पेङदोर्जे’ (राजु स्याङतान) पठकप्रिय किताब भएको स्वप्नीलको विश्लेषण छ । इतिहासमा शासकहरूबाट ‘मासिन्या’ जातिमा व्यवहार गरिएका तामाङ जाति सम्बन्धित मिथक, इतिहास, बिम्ब र मूल्यहरूलाई कवितामा शक्तिशाली प्रतिरोधका रूपमा प्रयोग गरेर पुनर्जीवन दिनु राजुको प्रमुख काव्यशक्ति देखिने स्वप्नील बताउँछन् ।

सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’ पनि स्वप्नीललाई राम्रो लागेको किताब हो । यस किताबका कविताहरूले स्वतन्त्रताको वकालत गर्ने, त्यसमा पनि मुख्य रूपमा महिला स्वतन्त्रताको गर्ने गरेको स्वप्नीलको भनाइ छ ।

भन्छन्, ‘कम्तीमा साढे तीन हजार वर्षदेखि यता पुरुष बाहुबलीमा कठपुतली बनाइएका महिला वर्गको समग्र मुक्तिको आवाजमा यस सङ्ग्रहले थप आवाज थपेको छ । पितृसत्ताले आफ्नो अनुकूल परिवार, समाज, संस्कृति, धर्म, सत्ता, बजार, सौन्दर्य जे-जति भाष्य निर्माण गरेर आखिर महिलालाई भोग्यावस्तु नै बनाइरहेको छ, ती तमाम भाष्यलाई कवि सुमिनाले कवितामार्फत् चुनौती दिएकी छिन् ।’

यसै वर्ष आएको कवि भूपीनको ‘भूपीनका कविता’ पनि मन छोएको स्वप्नील बताउँछन् । भन्छन्, ‘प्राय भूपिनका कवितामा अतीतमोह, प्रकृति र मानिस, मानिस र ईश्वर, गाउँ र सहर, आमा, प्रेमदेखि दैनिक जीवन र समाजका सामान्य विषय र पात्रहरूप्रति गहिरो चिन्तन गरिएको पाइन्छ । ‘रेडिमेड’ सिद्धान्त या दर्शनको ऐँचोपैँचोले होइन, आफ्नै वैयक्तिक अनुभव र अध्ययनको भावचक्षुका कारण उनका कविताले उचाइ निर्माण गरेका छन् ।’

यी कविताका अलवा स्वप्नीललाई कवित्व तङ्खव, मौलिकता उन्मुख शैली र रैथाने भाषा–विम्बको प्रयोगकलाले भरिएको गगन योक्पाङदेनको ‘केवाफुङको गीत’, शान्त तर, गहन र सरल तर, दार्शनिक दृष्टियुक्त निर्भिकजंग रायमाझीको कवितासंग्रह ‘त्यसरी त कहिल्यै सोचिएन’, कोइँच (सुनुवार) समुदायको मिथक, विम्ब र सांस्कृतिक प्रतीकहरू प्रयोग गरिएको मिथोचको ‘आगोको पिदार’ मन परेको बताउँछन् । चरम उपभोक्तावादी समाजमा एक्लिएका व्यक्तिदेखि केन्द्रवादले किनारामा परेका कर्णाली र मधेसका आवाज टिपिएका देवव्रत लिखित कवितासंग्रह ‘अश्वत्थामाको निधारबाट बागमति बग्छ’, भाषा, शैली र अभिव्यक्ति कलाले सघन सूत्रमय बनाएको प्रकाश रम्घालीको कवितासंग्रह ‘साँझको संगत’ पनि स्वप्नीललाई मन परेको कविता-किताब हो ।

त्यस्तै चर्चित उपन्यास ‘डुमेरो’ की लेखिका सरला गौतमले यस वष केही नेपाली क्लासिकल किताब पढिन् भने केही विदेशी किताबहरू पढिन् । ध.च. गोतामेको ‘घामका पाइलाहरू’ २०८० मा पढेकामध्ये असाध्यै मन परेको किताबको सूचिमा राखेकी छन् ।

उनी भन्छिन्, ‘नेपाली साहित्यमा कि काठमाडौं उभिन्छ, कि गाँउहरूले विद्रोह गर्छन् । नआउने भनेको साना सहरको कथा हो । आफ्नै पारामा आधुनिकताको साना साना थोपा संगालिरहेको वीरगन्ज सहर, अनि रेलको कथा । एउटा पात्र पवनको बहानामा यस्ले आधुनिक नेपालको एक हिस्साको कहानी भन्छ । पुस्तक सकिएपछि न्यास्रो लागिरहन्छ । नजरअन्दाज गरिएको साना सहरको कथा भन्ने यो पुस्तक दिलको करिब छ । तारिफ ए काविल छ ।’

त्यस्तै उनले अलि ग्रिपरद्वारा लिखित सन्दुक रुइतमाथिको किताब पनि असाध्यै मन परेको सूचिमा राखेकी छन् । उनी भन्छिन्, ‘प्राय सबै नेपालीका आँखाका नानी सरहका, आँखाकै डाक्टर सन्दुक रुइतको जीवन गाथा हो यो । यस्ले उनको जीवन यात्रा मात्र भन्दैन । एक नागरिकले विश्व मानचित्रमा देशको परिभाषा कसरी बदल्न सक्छ भन्ने कूराको हेक्का दिएर जान्छ । आँखा उपचारको दुनियाँमा उनले नेपाललाई कसरी वल्र्ड क्लास बनाए, ती सबै बृतान्तले मुटु ठप्प पारिदिन्छ । हैसियत भएको नागरिकले देशको हैसियत नै फेरिदिन सक्छ । यो पुस्तकले मेहनत र इमानको जीवनदृष्टि दिएर जान्छ ।’

कतिपय किताबहरूलाई पाठकले रुचाए । समीक्षकले समेत रुचाए । कतिपय किताबहरूलाई भने पाठकले सीधै खारेज गरिदिए । कतिपय किताबहरू राम्रो भए पनि प्रचारप्रसारको कमीका कारण पठकसम्म पुग्न सकेन ।

भैरव अर्यालको जीवनीमा आधरित प्रोल्लस सिन्धुलीयद्धारा लिखित ‘भग्न भैरव’ ले समयको रिल फर्काएर भैरव बाँचेको समयमा पुर्‍याउने सरला बताउँछिन् । यस किताबले समयमा मात्र होइन, उनका उतारचढावले भरिएको दिनदिनैको जीवनभित्रै हुलिदिने र हराइसकेका नेपाली भाषाका शब्दहरू, लय, सुगन्ध र झर्रोपन, मोहनीले तानेजस्तो गरि तानिरहने बताउँछिन् । भन्छिन्, ‘अथाह दु:खभित्र सुखका मोती खोजेर बाँचेका भैरवप्रति असिम प्रेम र आदर जगाइदिन्छ यो पुस्तकले ।’

त्यस्तै उनलाई जरेड डायमन्डसद्वारा लिखित ‘गन्स, जम्स एण्ड स्टिल’ पनि औधी मन परेको कितब हो । प्रकृतिले पछारेका देशहरू प्रविधिको सहारामा उभिए र बिश्व नेता हुँदै गए । हाम्रो जस्तो प्रकृतिले वरदान खन्याएको देश कपाल कन्याएरै बसे । आज हामीकँहा चलिरहेको ‘देश बनेको कि बनेन’ भन्ने प्रश्नको सटिक उत्तर यो पुस्तकले दिने सरला बताउँछिन् ।

उनको मन छोएको अर्को पुस्तक हो, शशी थरुर लिखित ‘ह्वाइ आई एम अ हिन्दु ?’ हिन्दु बाहेक बाँकी आस्थालाई सहनु मात्र होइन, स्किकार्नु र अपनाउनु हिन्दुत्वको चरित्र हो । सनातन शभ्यता एक बृहत दृष्टिकोण हो, विश्व दृष्टि हो । यो दृष्टिको छातामा सबै अटाँउछ विना पुर्वआग्रह र हस्तक्षेप । हिन्दूत्व शभ्यताको विराट स्वरूप हो । यो राजनीति खेलको निकृष्ट रूप होइन । यो पुस्तकले दिएको दृष्टिले हिन्दूत्वबारे नेपालमा फैलिरहेको भ्रमलाई पनि स्पष्ट पार्ने काम गने सरलाको जिकीर छ ।

त्यस्तै ‘मरुभूमिमा हिमपात’ कविता संग्रहका कवि तथा भाषाविद् सोझो गाउँलेलाई यस वर्ष शंकर तिवारीद्वारा सम्पादित ‘बीपीको जेल डायरी’, कुमार भट्टराईकृत उपन्यास ‘२०२८ साल’ मन परेको किताब हो ।

त्यस्तै कवि खेम बतास लिखित कथा संग्रह ‘बुढीपोल्ली पनि उनलाई मन परेको किताब हो । ‘बुढीपोल्लीबारे सोझो गाउँले भन्छन्, ‘यस किताबका कथाहरूले सुदूरपश्चिमेली आञ्चलिकतामा बोकेका छन् । सुदूरपश्चिमको भूगोल, समाज, संस्कृति, संस्कार र जनजीवन बुझ्न मात्र हैन, समसामयिक नेपाली कथामा फरक स्वादको आस्वादन ‘बुढीपोल्ली’ ले दिन्छ ।’

प्रकाश रम्घालीको ‘साँझको संगत’ पनि सोझो गाउँलेलाई मन परेको किताब हो । त्यस्तै कवि कृष्ण बोहरा यात्रीलाई यस वर्ष मन परेका किताबहरूमा अमृत क्षेत्रीको संस्मरणात्मक कृति ‘यादको कोलाज’, ‘केवाफुङको गीत’, ‘बुढीपोल्ली’ हुन् ।

कवि अभय श्रेष्ठलाई मुकाम ‘रणमैदान’, रेशम विरहीको कविता संग्रह ‘प्रतिरोधको लय’, राजकुमार दिक्पालको ‘पृथ्वीनारायण शाह आलोचनात्मक इतिहास’, कृष्ण कुसुमको कथासंग्रह ‘पाश्र्व धुन’ र ‘बागी स्त्रीको आत्मकथा’ रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर