पोखरालाई पर्यटकीय राजधानी घोषणादेखि ३ वटा सरकारसम्म – Nepal Press
गण्डकी : वर्ष समीक्षा २०८०

पोखरालाई पर्यटकीय राजधानी घोषणादेखि ३ वटा सरकारसम्म

पोखरा । गण्डकी प्रदेशका लागि २०८० साल ऐतिहासिक रह्यो । वर्षौंदेखिको प्रयासपछि पोखरालाई नेपालकै पर्यटकीय राजधानी घोषणा गर्न सफलता मिल्यो । यसै  वर्ष नेपालकै सबैभन्दा कम पानी ठाउँ मुस्ताङमा वर्षासँगै आएको बाढीले धेरै घर, पुल तथा संरचनामा क्षति पुर्‍यायो । यस सामग्रीमा गण्डकी प्रदेशका महत्वपूर्ण १० चर्चाको विषय सामेटिएको छ ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा

पोखरालाई यस वर्ष नेपालकै पर्यटकीय राजधानी घोषणा गरिएको छ । चैत ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानीको रूपमा घोषणा गरेका हुन् ।

पोखरा प्राकृतिक, सांस्कृतिक साहसिक क्षेत्रको अद्वितीय सङ्गम रहेको भन्दै प्रधानमन्त्रीले नेपालको पर्यटन राजधानी घोषणा गरेका थिए ।

गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त पहल र आयोजनामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो ।

एक वर्षमा ३ सरकार

गण्डकी प्रदेशमा सरकार परिवर्तन खेलो यस वर्ष पनि चलिरह्यो । अघिल्लो वर्षको पुस २५ गते नियुक्त भएका खगराज अधिकारी एक सय दिन बित्दै अल्पमतमा परे । यस वर्षको वैशाख १४ गते खगराज अधिकारी नेतृत्वको सरकार ढलेर कांग्रेस नेतृत्व सरकार बन्न पुग्यो ।

त्यसपछि पुनः फागुन २३ गते कांग्रेस नेतृत्वको सरकार पनि अल्पमतमा पर्‍यो । उनले चैत २१ गते राजीनामा दिए र चैत २६ गते खगराज पुनः मुख्यमन्त्री बने । खगराजको मुख्यमन्त्री नियुक्त सर्वोच्च अदालतसम्म पुगेको छ । सर्वोच्चले दीर्घकालीन असर गर्ने निर्णय नगर्न आदेश दिएको छ । खगराज नेतृत्वको सरकार पनि कहिले ढल्ने हो निश्चित छैन ।

मुस्ताङमा बाढी

मुस्ताङको बारागुङ मुक्ति क्षेत्र गाउँपालिका-४ कागबेनीमा गत साउन २८ गतेमा बाढी गएको थियो । नेपालकै पानी कम गर्ने ठाउँमा लगातार पानी परेपछि बाढी आएको हो । बाढीले १० घर तथा होटेल, प्रहरी चौक, जोमसोम–कोरला सडकको निर्माणाधीन मोटरेबल पुल, मान्छे हिँड्ने पुल, दुई गाडी र विद्युत्का तीन पोल बगाएको थियो ।

तनहुँ उपनिर्वाचन

तनहुँ–१ बाट निर्वाचन रामचन्द्र पौडेल राष्ट्रपति भएपछि २०८० वैशाख १० गते उक्त ठाउँमा उपनिर्वाचन भएको थियो । उक्त उपनिर्वाचनमा नेपाली काँग्रेस परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका डाक्टर स्वर्णिम वाग्ले निर्वाचित भएका थिए । उनले नेपाली काँग्रेसका गोविन्द भट्टराईलाई पराजित गरेको थिए । उक्त उपनिर्वाचनमा एमालेका सर्वेचन्द्र खनाल तेस्रो भएका थिए ।

फेवा ताल अतिक्रमणविरुद्ध फैसला

सर्वोच्च अदालतले फेवाताल किनारदेखि ६५ मिटरसम्मका सबै संरचना ६ महिनाभित्र अनिवार्य हटाउन गत असार ९ मा परमादेश दिएको छ ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मी र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले तालको मापदण्ड घटाउने महानगरको निर्णयसमेत बदर गरिदिएको थियो ।

सर्वोच्चले आदेश प्राप्त भएको ६ महिनाभित्र ६५ मिटरसम्मको क्षेत्रलाई मध्यवर्ती हरियाली क्षेत्र घोषणा गरेर र सबै संरचना हटाउन आदेश दिएको थियो । जसको पूर्ण पाठ असोज १० गते नै सार्वजनिक भए पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । महानगरले नाप जाँचको काम भइरहेको भन्दै पन्छिरहेको छ ।

सहकारी काण्ड

यो वर्षभरि नै गण्डकी प्रदेशमा सहकारी हिनामिनाको विषय चर्चामा रहिराख्यो । जीवी राईदेखि बागलुङ नगरपालिकाका मेयर देवकुमार नेपालीसम्मलाई सहकारी हिनामिनामा संलग्न रहेको आरोपमा अदालतबाट पक्राउ पूर्जी जारी भइसकेको छ ।

जीवी, मेयर नेपालीसहित धेरै जना अहिलेसम्म फरार छन् । गण्डकीका ९ भन्दा बढी सहकारीले १८ बढी बचतकर्ताको सवा ५ अर्बभन्दा बढी हिनामिना गरेको प्रहरीको तथ्याङ्कले देखाएको छ ।

खुल्यो रत्नमन्दिर

पूर्वराजाहरुले प्रयोग गरेको पोखराको रत्न मन्दिर यसै वर्षदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । यस वर्षको गणतन्त्र दिवसको अवसरमा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले फेवाताल किनारमा रहेको रत्न मन्दिर खुला गरेका हुन् ।

रत्न मन्दिर पूर्व राजपरिवारका सदस्य पोखरा आउँदा बसोबास गर्ने ठाउँ हो । तत्कालीन राजा महेन्द्रले यहाँ आउँदा बस्न मिल्ने गरी रानी रत्नको नामबाट दरबार निर्माण गरेका थिए । विसं २०१३ मा निर्माण सुरु गरिएको यो दरबारको दरबार राजा वीरेन्द्रको नाममा आएको थियो ।

भएन अन्तर्राष्ट्रिय उडान

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको साढे एक वर्ष भयो । अघिल्लो वर्षको पुसमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विमानस्थलको उद्घाटन गरेका थिए । उडान सुरु भएको साढे वर्ष बितिसक्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन ।

गत असारमा पहिलो पटक अन्तर्राष्ट्रिय उडान भएको थियो । विमानस्थल सञ्चालन भएको करिब ६ महिना गत असार पहिलो अन्तर्राष्ट्रिय उडान भएको थियो । सिचुवान एयरलाइन्सको न्यारोबडी जहाज चीनको छेङ्दुबाट आएको थियो । उक्त विमानस्थलबाट एक वर्षमा ७ अन्तर्राष्ट्रिय उडान हुँदा नियमित उडानको अझै टुङ्गो छैन ।

कोरला नाका खुला

यसै वर्ष चीनले मुस्ताङका दुई पालिकाका नागरिकलाई लक्ष्य गरी कोरला नाका बाह्रै महिना खुला गरेको छ । चीन सरकारले कोरोना महामारीका कारण २०७६ सालदेखि नाका पूर्ण रूपमा बन्द गरेको थियो । जुन गत कात्तिक २७ गते सञ्चालनमा आएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका समयमा नाका सञ्चालन गर्ने सहमति भएको थियो । सोही सहमति अनुसार चीन सरकारले कोरला नाका खुला गरेको हो । माथिल्लो मुस्ताङका स्थानीयलाई मात्र लक्षित गरेर सञ्चालनमा आएको नाकाबाट भेडा-च्याङ्ग्रा आयात र कृषि उपज सामग्री, जडीबुटी र पस्मिना निर्यात हुने गरेको छ ।

अस्ताए पुतली बाजे

‘पुतली बाजे’ का रूपमा चिनिने कोलिन स्मिथको ८७ वर्षको उमेरमा कात्तिक १८ गते निधन हुन पुग्यो । नेपालमा रहेर पुतलीको अध्ययन र संरक्षणमा योगदान दिएका उनी ८७ वर्षको उमेरमा पोखरामा हरियो खर्क अस्पतालमा उपचारका क्रममा अस्ताउन पुगे ।

नेपालमा पाइने पुतलीहरूको अभिलेखीकरण गर्नेमा उनको नाम पहिलो नम्बरमा आउँछ । उनले पुतलीको खोजीमा ५० वर्ष बिताए । उनी विसं २०२२ मा बेलायतबाट नेपालमा आएका थिए । युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी सकेर त्यहीँको विश्वविद्यालय अध्यापन गराउने क्रममा उनी युनाइटेड मिसन टू नेपालमार्फत पढाउनका लागि भनेर आएका थिए । गोरखाको अमर ज्योतिमा पढाएका थिए । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई उनका विद्यार्थी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर