कर्णालीमा मन्त्रालय भागबन्डामा जुटेन सहमति – Nepal Press

कर्णालीमा मन्त्रालय भागबन्डामा जुटेन सहमति

सुर्खेत । कर्णाली प्रदेशमा नयाँ सरकार गठनमा सकस भएको छ । सत्तारुढ दलहरू एमाले र माओवादीबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा सरकार गठनमा सकस भएको हो ।

माओवादीका राजकुमार शर्माले मुख्यमन्त्रीबाट राजीनामा दिएको चार दिन हुँदा पनि नयाँ मुख्यमन्त्रीको दाबी प्रक्रिया सुरु हुन सकेको छैन ।

नेकपा माओवादी र एमालेबीचमा मन्त्रालयको भागबन्डामा कुरा नमिल्दा सरकार गठनमा ढिलाइ भएको हो । मुख्यमन्त्री शर्माले सत्ता गठबन्धनमा केन्द्रमा भएको सहमतिअनुसार राजीनामा दिएका थिए ।

शर्माले सभामुखसहित चार मन्त्रालय माओवादीले पाउनुपर्ने माग राख्दै आएका छन् । उक्त मागका कारण सत्ता साझेदार दल एमालेसँग सहमति जुट्न सकेको छैन । तर, नेकपा एमालेले भने पहिला सरकार गठनपछि मात्रै मन्त्रालयको भागबन्डाको टुङ्गो लगाउने बताउँदै आएको छ ।

एमालेले राखेको प्रस्तावमा भने माओवादी सहमत भएको छैन । माओवादीले सभामुखमा दाबी गर्दैै आएको छ । यसमा एमाले सहमत हुन सकेको छैन ।

आफूहरुले सभामुखसहित चार मन्त्रालयमा दाबी गरेको माओवादी संसदीय दलका प्रमुख सचेतक रणसिंह परियारले बताए ।

‘एमाले भने मुख्यमन्त्रीको नियुक्ति लिने वातावरण दिनुप¥यो, त्यसपछि अरु सहमति गर्ने भन्ने कुरा छ’, सचेतक परियारले भने, ‘हामीले पहिला सबै सहमति गरौं, त्यसपछि मात्रै नियुक्ति भन्ने भनाइ राखेका छौं । अब सरकारको नेतृत्व एमालेले गर्ने हो, माग सम्बोधन गरेर अगाडि बढ्ने दायित्व पनि एमालेको हो । र्णालीको नेतृत्व पनि गर्न खोज्ने कञ्जुस्याइँ पनि गर्ने कसरी हुन्छ ? यदि सहमति गर्नुहुँदैन भने हामी सरकारको बाटो खुलाउने छौं । माओवादीले एमालेलाई समर्थन पनि गर्नेछ । तर, सरकारमा नजाने हाम्रो यही निर्णय हुनेछ ।’

यता, एमाले संसदीय दलका प्रमुख सचेतक टेकराज पछाईंले माओवादीले समर्थन नदिएका कारण सरकार गठनमा ढिलो भएको बताए ।

‘सभामुख हुँदैन, मन्त्रालय टुङ्ग्याएर जाऔं, दाबी पेस गरेर छलफल गरौं भनेको हो’, उनले भने, ‘३-४ दिन भइसक्यो, सात दिन नै लाग्ला जस्तो छ । माओवादीले दाबी पेसभन्दा पहिला नै सबै टुङ्ग्याउनुपर्ने बताउँदै आएको छ । राजीनामा दिँदा पनि त सहमति भएको थियो । सरकारको नेतृत्व आलोपालो गर्ने, शर्माले अगाडि सारेका नीति कार्यक्रमलाई निरन्तरता दिने । तर, केन्द्रको लडाइँले हामीलाई दुःख भयो ।’

चैत २१ गते शर्माले प्रदेश प्रमुख तिलक परियारसमक्ष राजीनामा बुझाएका थिए । प्रदेश प्रमुख परियारले चैत २७ गते बेलुका ५ः५० भित्र समय दिएर नयाँ सरकार गठन गर्न आह्वान गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर