बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ – Nepal Press

बिमस्टेक सार्कको प्रतिस्थापन हुन सक्दैन: परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिमस्टेक बडापत्रलाई अनुमोदन गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले सार्कलाई निष्क्रिय बनाउने र बिमस्टेक चलाउने विषयमा नेपाल सहमत नभएको र बिमस्टेक सार्कको प्रतिस्थापन हुन नसक्ने बताएका हुन् ।

दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)लाई सक्रिय बनाउन नसकिएको अवस्थामा सार्कलाई प्रभावकारी बनाउन थप पहलकदमी लिइने उनले बताए । उनले आफ्नो मुलुकको हित देख्ने मञ्चमा सहभागिता जनाउने र भूमिका खेल्ने नीति सरकारको रहेको धारणा राखे ।

परराष्ट्रमन्त्री श्रेष्ठले सन् २०२२ मा श्रीलङ्कामा भएको पाँचौं शिखर सम्मेलनमा नेपालसहित सबै सदस्य राष्ट्रले बडापत्रमा हस्ताक्षर गरे पनि संसदबाट अनुमोदन भएपछि मात्रै बिकस्टेक कार्यान्वयनमा जाने स्पष्ट व्यवस्था रहेको बताए ।

बैठकमा सांसदहरुले बिमस्टेकबाट लाभ लिन सरकारले थप पहलकदमी लिनुपर्ने धारणा राखेका थिए । छलफलपछि बैठकले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) बडापत्र सर्वसम्मत रुपमा अनुमोदन गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर