सेयर भाउ उच्च यी ४ कम्पनी- कुनको अवस्था कस्तो ? – Nepal Press

सेयर भाउ उच्च यी ४ कम्पनी- कुनको अवस्था कस्तो ?

काठमाडौ । लामो सयमदेखि उच्च सेयर मूल्यमा रेकर्ड दर्ज गर्दै आएका चार कम्पनी अहिले पनि सबैभन्दा बढी सेयर मूल्य भएका कम्पनीमा गनिन्छन् । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत कम्पनीहरू मध्ये युनिलिभर नेपाल, राष्ट्रिय बीमा कम्पनीको सर्वसाधारणको सेयर र संस्थापक सेयर, बोटलर्स नेपाल बालाजु र बोटलर्स नेपाल तराईको सेयर मूल्य सबैभन्दा बढी छ । यी कम्पनीहरू सेयर मूल्यमात्र होइन ‘फण्डामेन्टली’ पनि उत्तिकै बलिया छन् । यद्यपि यी कम्पनीको सेयर सप्लाइ भने निकै कम छ ।

कुन कम्पनीको अवस्था कस्तो ?

युनिलिभर नेपाल

नेप्सेमा ‘यूएनएल’ संकेतले कारोबार हुने युनिलिभर नेपाल सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी हो । यसको पछिल्लो कारोबार (बिहिबार चैत १५) मा सेयर मूल्य ३९ हजार ८ सय रूपैयाँ प्रतिकित्ता छ । यसको पछिल्लो कारोबारमा प्रतिकित्ता ३०० रूपैयाँले बढेको थियो । चालू आर्थिक वर्ष (२०८०/८१) को दोस्रो त्रैमाससम्म यसको प्रतिसेयर आम्दानी २ हजार ११३ रूपैयाँ ७९ पैसा रहेको छ । ३६ अर्ब ६४ करोड रूपैयाँ बजार पुँजीकरण छ । यसको ९ लाख २० हजार ७ हजार कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ । सेयरको माग मात्रै छ तर सप्लाइ ज्यादै न्यून छ ।

युनिलिभर नेपालले चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा ४२ करोड १० लाख रूपैयाँ खुद नाफा कमाएको छ । यद्यपि, गत वर्षको यसै अवधिको तुलनामा भने केही ह्रास आएको देखिन्छ । युनिलिभर नेपाल लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई करसहित १५८० प्रतिशत नगद लाभांश दिएको थियो । युनिलिभरकै लाभांश इतिहासमा हालसम्मकै उच्च लाभांश हो । यसले नगद लाभांशमात्रै दिँदै आएको छ । यो भन्दा पहिला १२५० प्रतिशत नगद लाभांश दिएको थियो ।

राष्ट्रिय बीमा कम्पनी

नेपाल स्टक एक्सचेन्जमा ‘आरबिसिएल’ संकेतमा सेयर कारोबार हुने राष्ट्रिय बिमा कम्पनीको सेयर मूल्य पनि उच्च छ । बिहिबारबार देखि कारोबारमा यसको सेयर मूल्य केही घटेर बन्द भएको छ । १४२ रूपैयाँ ९० पैसाले घटेर १३ हजार ५ सय रूपैयाँ १० पैसा कायम भएको छ । २६ लाख ६६ हजार ३ सय ६५ कित्ता सेयर दोस्रो बजारमा सूचीकृत छ ।

चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक प्रतिवेदन अनुसार यसको प्रतिसेयर आम्दानी ३२० रूपैयाँ ४८ पैसा छ । पछिल्लो एक सातामा यसको सेयर मूल्य १३ हजार ९ सय रूपैयाँसम्म पुगेको देखिन्छ ।
तर, सरकारी स्वामित्वको यस कम्पनीले विगत ६ वर्षदेखि लेखा परीक्षण गरेको छैन । समयमै अडिट नहुँदा यसका लगानकिर्ताहरु अन्यौल जस्तो अवस्थामा देखिन्छन् । यो कम्पनीको पुँजी २६ करोड रूपैयाँ छ जबकी नियामकीय प्रावधान अनुसार यसले २ अर्ब चुक्ता पुँजी पुर्याउँनुपर्ने हुन्छ ।

राष्ट्रिय बीमा कम्पनीको संस्थापक सेयर मूल्य पनि १० हजार ७ सय रूपैयाँ प्रति कित्ता छ । १७ लाख ७६ हजार २ सय ९६ कित्ता संस्थापक सेयर छ ।

बोटलर्स नेपाल बालाजु

‘वीएनएल’ संकेतमा कारोबार हुने बोटलर्स नेपाल बालाजुको सेयर मूल्य यूनिलिभर पछिको बढी हो । अहिले यसको मूल्य प्रतिकित्ता १८ हजार ३ सय रूपैयाँ छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण अनुसार यसको प्रतिसेयर आम्दानी १५५ रूपैयाँले ऋणात्मक छ । गत वर्ष यसले २० प्रतिशत नगद लाभांश लगानी कर्तालाई दिएको थियो । बोटलर्स नेपाल बालजुले ६ महिनामा १५ करोड १५ लाख रूपैयाँ नोक्सानी व्यहोरेको छ । चुक्ता पुँजी १९ करोड ४८ लाख ८९ हजार रूपैयाँ रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ५२ करोड ८४ लाख रूपैयाँ जम्मा छ । नेटवर्थ भने ३ हजार १२० रूपैयाँ रहेको छ । मार्च ४ मा यसको सेयर मूल्य २३ हजार २ सय ९० रूपैयाँसम्म पुगेको थियो ।

बोटलर्स नेपाल तराई

‘बीएनटी’ संकेतमा सेयर कारोबार हुने बोटलर्स नेपालको सेयर मूल्य १३ हजार १ सय रूपैयाँ छ । गत वर्ष यसले आफ्ना लगानीकर्तालाई ६० प्रतिशत नगद लाभांश दिएको थियो । नेप्सेमा १२ लाख १० हजार कित्रा सेयर सुचिकृत छ ।

दोस्रो त्रैमासमा बोटलर्स नेपाल (तराई) ले ७ करोड ४१ लाख रूपैयाँ घाटा व्यहोरेको छ । यसको जगेडा कोषमा ३ अर्ब ६८ करोड रूपैयाँ रहेको छ भने यसको चुक्ता पुँजी १२ करोड १० लाख रूपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी १२३ नोक्सानीमा छ भने प्रतिसेयर नेटवर्थ ३ हजार १७३ रूपैयाँ रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *