तीन विद्यालयका प्रिन्सिपललाई बोलाएर शिक्षामन्त्रीले भनिन्- पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्नुस् – Nepal Press

तीन विद्यालयका प्रिन्सिपललाई बोलाएर शिक्षामन्त्रीले भनिन्- पहुँचका आधारमा विद्यार्थी भर्ना नगर्नुस्

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले भर्ना प्रक्रिया पारदर्शी र विश्वसनीय बनाउन सेन्ट जेभियर्स, सेन्ट मेरिज र बुढानीलकण्ठ स्कूलका प्रिन्सिपललाई ध्यानाकर्षण गरेकी छन् ।

नयाँ शैक्षिक सत्रका लागि ती विद्यालयले भर्ना आह्वान गरेका बेला प्रिन्सिपलहरुलाई मन्त्रालयमै बोलाएर मन्त्री श्रेष्ठले भनसुन र पहुँचका आधारमा नभई विद्यालयले निर्धारण गरेको विधि र प्रक्रियालाई थप विश्वासिलो बनाएर योग्यताका आधारमा विद्यार्थी भर्ना लिन जोड दिएकी हुन् ।

‘तपाईंहरुको विद्यालयले भर्ना आवेदन आह्वान गरेपछि धेरैले तपाईंहरुको त कोटा हुन्छ, भनिदिनु प¥यो भनेर दबाब दिइरहनुभएको छ । उहाँहरुको भनाइअनुसार मन्त्री, सचिव, महानिर्देशक, जिल्लाका प्रशासन र प्रहरी प्रमुखलगायतको कोटाका आधारमा भर्ना हुन्छ हो ?’, छलफलमा मन्त्री श्रेष्ठले भनिन्, ‘विगतमा त्यस्तो विकृति थियो भने पनि अब अन्त्य गर्नुपर्छ ।’

छलफलमा तीन वटै विद्यालयका प्रिन्सिपलले भर्ना छनोट प्रक्रियाबारे जानकारी गराउँदै विगतमा प्रधानमन्त्रीसम्मको तहबाट दबाब आएको सुनाएका थिए । मन्त्री श्रेष्ठले विगतमा जे भए पनि अबदेखि पहुँचका आधारमा भर्ना नलिन र स्थानीय सरकारसँग पनि पर्याप्त समन्वय गर्न आग्रह गरिन् ।

‘पहुँचको आधारमा दबाब र प्रभावमा परेर होइन, बरु गरिब र निम्नस्तरका विद्यार्थीलाई प्राथमिकता दिनुस्’, उनले भनिन्, ‘पहुँचका आधारमा भर्ना हुन्छ भन्ने भाष्यलाई चिर्नैपर्छ ।’

मन्त्री श्रेष्ठले आफ्नो वा मन्त्रालयको नाम दुरुपयोग गरेर कसैले भर्नाका लागि दबाब दिए जानकारी गराउनसमेत तीनवटै विद्यालयका प्रिन्सिपललाई आग्रह गरिन् ।

छलफलमा सेन्ट जेभियर्सले चार वर्षदेखि गोलाप्रथाबाट, सेन्ट मेरिजले अघिल्लो वर्ष अभिभावकसँगको अन्तरक्रियाका आधारमा र बुढानीलकण्ठले परीक्षाले निर्धारण गरेको योग्यताका आधारमा भर्ना लिने गरेको जानकारी दिएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर