सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री लामिछाने (भिडिओ) – Nepal Press

सहकारी ठगको सम्पत्ति जफत गरेर बचतकर्तालाई नतिरेसम्म राजनीतिबाट विश्राम लिन्नँ : गृहमन्त्री लामिछाने (भिडिओ)

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरुको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरुलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरे ।

इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

रविको भनाइ यस्तो थियोः

विपक्षीहरुले सहकारी गठीबारे हल्ला गर्दै हिँड्नुभयो, हामी काम गर्दैछौं । चाँडै नै नीति ल्याएर, कानूनमा आवश्यक संसोधन गरेर सहकारी ठगेर भागेकाहरुको सम्पत्ति रोक्का गरी सबै सम्पत्ति बेचेर भए पनि सानासाना वचतकर्ताको तिर्न सुरु गरिने छ । यो कुराको जानकारी प्रधानमन्त्रीलाई गराएको छु । म यत्तिकै यहाँ आएर बोलेको होइन, प्रधानमन्त्री भनेको छु कि हामी गर्छौं ।

अहिले कानूनले अप्ठेरो परोको छ । सम्पत्ति विभिन्न मान्छेका नाममा राख्ने अनि आफ्नो नाममा छैन भनेका छन् । तीनको नाममा छ कि छैन हामी खोज्छौं । भाञ्जाका नाममा, भतिजका नाममा, सालासालीका नाममा देशमा विदेशमा कसका नाममा राखेको छ, सम्पत्ति सुद्धिकरण विभागले खोज्नेछ । हिजोसम्म चप्पल पड्काउनेको टोपी खस्ने महल कसरी भयो ?

त्यो कसको भाञ्जा हो, कसको भतिज हो, कसको सालासाली हो पत्ता लगाइन्छ । तिनको सम्पत्ति जफत गरेर दुख गरेर सहकारीमा पैसा जम्मा गर्नेहरुलाई फिर्ता गर्ने क्रमको सुरुवात नलिइकन म राजनीतिबाट विश्राम लिन्न याद गर्नुहोला । यो आरोपको भारी बोकेर रवि लामिछाने यसै हराउँदैन । यसको सक्रियता र निरन्तरताको अगुवाइ पनि रास्वपाले गर्छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर