मोरङमा ८ महिनामा ५८ जनाले त्यागे नेपाली नागरिकता (भिडिओ) – Nepal Press

मोरङमा ८ महिनामा ५८ जनाले त्यागे नेपाली नागरिकता (भिडिओ)

विराटनगर । स्थायी रूपमा बसोबास गर्ने उद्देश्यका साथ विदेश जानेहरू बढेसँगै नेपाली नागरिकता परित्याग गर्नेको संख्यामा पनि वृद्धि भएको छ ।

परिवारसहित विदेशमा व्यवस्थित बसोवास गर्नका लागि नागरिकता त्याग्नेको संख्या वर्षेनी बढ्दै गएको हो । मोरङमा चालू आर्थिक वर्षको ८ महिनामा नेपाली नागरिकता परित्याग गर्नेको संख्या ५८ पुगेको छ । जबकि अघिल्लो आर्थिक वर्षमा १८ जनाले नागरिकता परित्याग गरेका थिए । मोरङ प्रशासनले २०६६ सालदेखि नागरिकता परित्याग गर्नेको विवरण राख्न थालेकोमा त्यसयता १८४ जनाले नागरिकता त्यागेको देखिएको छ ।

मोरङ प्रशासन नागरिकता फाँटका कर्मचारी सुमन निरौला गत वर्षसम्म भारतमा विवाह गरी जाने र उतै बस्ने भएकाले नागरिकता परित्याग गर्नेमात्रै हुने गरेपनि यस वर्षबाट भने गैरआवासीय नेपाली नागरिकले नागरिकता लिन पाउने भएपछि एनआरएन नागरिक लिन नेपाली नागरिकता परित्याग गर्नेहरू बढेको बताए । एनआरएनको नागरिकता लिनेहरुमा महिला र पुरुषको संख्या बराबर रहेको उनको भनाइ छ

वैवाहिक सम्बन्ध, पठनपाठन र रोजगारीलगायतका कारणले जिल्ला प्रशासन कार्यालयमा नागरिकता परित्यागको माग गर्दै निवेदन दिनेको संख्या बढ्दो छ । विषेशगरी अमेरिका, अस्ट्रेलिया र युरोपियन मुलुक जाने र त्यहाँको नागरिकता लिएपछि नेपालको नागरिकता त्याग्ने गरेको पाइएको कार्यालयले जनाएको छ ।

मोरङका सहायक सीडीओ प्रदीप साहले विदेशको नागरिकता लिने प्रक्रियामा गएपछि नेपाली नागरिकता त्याग गरेपछि मात्रै अन्य देशको नागरिकता पाइने भएकाले पनि त्याग गर्नेहरूको संख्या बढेको देखिएको बताए । लामो समयदेखि वैदेशिक रोजगार साथै डीभी-पीआर लिएर विदेश बसेका र विदेशी नागरिकसँग वैवाहिक सम्बन्ध स्थापना गरी बसेकाहरूले नागरिकता त्याग गरेको पाइएको प्रशासनले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर