बचत फिर्तामा सहयोग गर्न डेढ वर्षदेखि धाउँदै सुप्रिम सहकारीका पीडित – Nepal Press

बचत फिर्तामा सहयोग गर्न डेढ वर्षदेखि धाउँदै सुप्रिम सहकारीका पीडित

रुपन्देही । सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता रकम फिर्तामा सहयोगको माग लिएर रुपन्देही व्यापार संघ र बुटवल उद्योग बाणिज्य संघ पुगेका छन् ।

डेढ वर्षदेखि उनीहरू स्थानीय, प्रदेश र केन्द्र सरकारको ढोका चाहारिरहेका छन् । बुटवलका अधिकांश व्यवसायीको रकम रहेको सुप्रिमबाट बचत फिर्ताका लागि पहल गरिदिन उनीहरूले दबाब दिएका हुन् ।

व्यवसायी अशोक श्रेष्ठले रकम फिर्ताका लागि संघसंस्थाहरूले दबा दिनुपर्ने र सरकारले सहकारी ठगीमा सबैलाई कारबाही गर्नुपर्ने बताए । त्यस्तै बुटवलकै रोहित थापा सहकारीमा आफ्नो साढे चार लाख रूपैयाँ बचत फसेको बताउँछन् । अर्का बचतकर्ता गुलाव आलमले पक्राउ पर्न बाँकी रहेकाहरूलाई समेत पक्राउ गरेर आफूहरूको रकम फिर्ता हुनुपर्ने बताए ।

इप्रका बुटवलका डीएसपी विजयराज पण्डितले सहकारी पीडितको उजुरीका आधारमा पक्राउ परेका सबैमाथि अनुसन्धान भइरहेको बताए । प्रहरीमा २ हजारजति बचतकर्ताले उजुरी दिएका छन् ।

२०७६ कात्तिक १६ गते भएको सहकारीको साधारणसभाबाट दीपेश पुन सचिव रहेकै बेला सहकारीको ७८ करोड बढी रकम अपचलन भएको अनुसन्धानबाट देखिएपछि प्रहरीले पुनलाई पक्राउ गरी अनुसन्धान गरिरहेको पण्डितले बताए ।

रुपन्देही क्षेत्रका करिब १० हजार ३९१ बचतकर्ताको १ अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रूपैयाँ सुप्रिम सहकारीमा फसेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर