ऊर्जा उत्पादन सँगसँगै प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ: इप्पान अध्यक्ष कार्की – Nepal Press

ऊर्जा उत्पादन सँगसँगै प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर छ: इप्पान अध्यक्ष कार्की

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपालको ऊर्जा क्षेत्रमा उत्पादनमा मात्र नभएर प्रसारण र वितरण पूर्वाधारमा पनि लगानीको राम्रो अवसर रहेको बताएका छन् ।

काठमाडौंमा जारी तेस्रो लगानी सम्मेलन २०२४ अन्तर्गत ‘नेपालमा नवीकरणीय ऊर्जाको सम्भावना र यात्रा’ विषयक सेसनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले निजी क्षेत्रले प्रसारण लाइन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

निजी क्षेत्रले आन्तरिक र अन्तरदेशीय प्रसारण लाइन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।

‘दक्षिण एसियामा ऊर्जाको माग भएका देशहरुमा क्रस बोर्डर लाइन र ऊर्जा परियोजनाको ठूलो सम्भावना छ । निजी क्षेत्रको सहभागिताले क्रसबोर्डर लाइन निर्माण, विद्युत निर्यात र प्रविधि हस्तान्तरणलगायतका कुरालाई मूर्त रुप दिन सकिन्छ’, अध्यक्ष कार्कीले भने । प्रसारण लाइन निर्माणमा वन तथा वातावरण, जग्गा प्राप्ति र प्रक्रियागत झन्झट आउनसक्नेतर्फ भने उनले सचेत गराए ।

निजी क्षेत्रले विद्युत व्यापारका लागि इक्विटी, ऋण, प्रविधि, सञ्चालनलगायतका पार्टनरशिप मोडलमा काम गरिरहेको कार्कीले बताए ।

अध्यक्ष कार्कीले नीतिमा स्थायीत्व र स्पष्ट हुनुपर्ने, सरल प्रक्रिया अवलम्बन गर्नुपर्ने, लगानीको सुरक्षा र ग्यारेन्टी, पूर्वाधार निर्माणमा सहयोग, जोखिम न्यूनीकरणका संयन्त्र, सहज स्वदेश फिर्तीको व्यवस्थालगायतका कुरामा ध्यान दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर