‘इलाममा मुढालाई कांग्रेसको मत धेरै गएको देखियो, समीक्षा हुन्छ’ – Nepal Press

‘इलाममा मुढालाई कांग्रेसको मत धेरै गएको देखियो, समीक्षा हुन्छ’

कांग्रेस प्रवक्ता डा. महत भन्छ- अहिल्यै पार्टीभित्रकै असहयोग भनिहाल्न मिल्दैन, बझाङमा प्राविधिक रूपले पछि पर्‍यौँ

काठमाडौं । वैशाख १५ गते भएको उपनिर्वाचनको दुई क्षेत्रमध्ये प्रदेशसभा अन्तर्गत बझाङको मतपरिणाम आइसकेको छ भने इलाम २ मा गणना जारी छ । यो उपनिर्वाचनलाई दलहरूले प्रतिष्ठाको रूपमा लिएका थिए । यद्यपि, इलाममा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई माओवादी केन्द्रले सहयोग गरेको थियो ।

इलाममा एमालेका सुहाङ नेम्वाङले सुरुआती चरणदेखि नै फराकिलो अग्रता कायम राखेका छन् । यो एमालेको विरासत भएको क्षेत्र पनि हो । त्यहाँ कांग्रेसका उम्मेदवार डम्बर खड्का दोस्रो स्थानमा छन् । अझ उनलाई पहिचानवादी उम्मेदवार डकिन्द्र थेगेमले चुनौती दिइरहेका छन् । कोशीबाट प्रतिनिधित्वका लागि पूरै बल लगाएको रास्वपाले भने अपेक्षित मत पाउन सकिरहेको छैन ।

बझाङमा एक्लाएक्लै भिड्दा कांग्रेसका अभिषेक सिंहलाई एमालेका दमन भण्डारीले हराए । यो क्षेत्रमा गएको निर्वाचनका कांग्रेसले जितेको थियो । त्यसबेला कांग्रेसलाई माओवादी, नेकपा एकीकृत समाजवादीको पनि साथ थियो ।

यहाँ तेस्रो स्थानमा रहेका माओवादी केन्द्रका जनकबहादुर बुढाले ३ हजार ८३१ मत ल्याए । बझाङमा नेकपा एसका उम्मेदवार दिलबहादुरले २ हजार ५१४ मतसहित चौथोमा सीमित रहे । उपनिर्वाचनको गणना हेर्दा मुख्य प्रतिस्पर्धी एमाले र कांग्रेस नै रहेको देखिएको छ । यसै मेसोमा केन्द्रित रहेर नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतसँगको संक्षिप्त कुराकानी नेपाल टकमा-

– यो चुनावी नतिजालाई कांग्रेसले कसरी लिएको छ ?

बझाङमा त हाम्रो एक्लै लड्दा पनि प्रतिस्पर्धात्मक मत आएको छ । प्राविधिकरूपमा थोरै भोट तलमाथि हो । इलामको हकमा पहिला गठबन्धन थियो । अहिले नयाँ शक्तिहरु पनि, पहिचानवादीहरू पनि उपस्थित भए । यी समग्रमा त्यहाँ अहिलेसम्म मत गणना हेर्दा अपेक्षा गरेअनुसार नभएको पाएका छौं ।

नयाँ पार्टी र पहिचानवादीको उपस्थितिले समग्र परिवेशमा कसको भोट कहाँ काटिए भन्ने कुरा छन् त्यसको विश्लेषण भोलिको दिनमा होला । कुन पालिकामा कस्तो परिणाम आयो ? भन्ने विषयमा । के कारण रह्यो ? र, भोट कहाँ गयो भन्ने समीक्षाको विषय बन्छ ।

– बझाङ त कांग्रेसले जितेको क्षेत्र थियो तर अहिले एमालेले जित्यो ?

अघिल्लो निर्वाचनमा हामी गठबन्धनमा थियौं, माओवादीको पनि समर्थन थियो । त्यहाँ केन्द्रतर्फ हामीले नेकपा एसलाई समर्थन गरेको थियौं । अहिले भानुभक्तजी मन्त्री पनि हुनुहुन्छ । त्यहाँ कांग्रेस, माओवादी र समाजवादीको मत लिएर जितेको थियौं ।

तर, अहिले हामी एक्लै लड्यौं त्यही पनि झिनो मतको फरक देखिएको छ । यद्यपि, हामीले जित्छौं भन्ने आशा राखेका थियौं । एमालेको पनि बलियो नै क्षेत्र हो त्यो ।

– भनेपछि एक्लै लड्दा नजित्ने अंकगणित रहेछ नि कांग्रेसको ?

त्यसो होइन, एक्लै लड्दा नजित्ने भन्ने त प्राविधिकरूपमा हामीले थोरै मतले तलमाथि भएको छ । त्यसकारण जित्नै नसक्ने भन्ने त देखिएन नि ? यद्यपि, थोरै मत तलमाथि भयो । तर, एमालेसँग जित्नै नसक्ने भन्ने त नतिजाले देखाएन नि ?

– तर, इलाममा ठूला दलहरूलाई पहिचानवादीहरूले ठूला दललाई दिइरहेको चुनौतीलाई कसरी लिनुहुन्छ ?

कोशी प्रदेशको नामकरणको विषयसँगै पहिचानवादीहरूको कुरा आएको थियो । त्यसले केही माहोल सिर्जना गरेको थियो । त्यो विषयमा हामीले सबैको भावनालाई मध्यनजर गरेर मत राख्नुपर्छ भन्दै आइरहेका थियौं । त्यसका बाबजूद पहिचानवादीहरूले महत्वपूर्ण मत प्राप्त गरेको अवस्था छ । त्यसमा हाम्रो मत पनि धेरै गएको हुनसक्छ ।

अब एकातिर एमालेको जनजाति पृष्ठभूमिको उम्मेदवार भएकाले हाम्रो मत चाहिँ ज्यादा त्यता गयो कि भन्ने देखिन्छ । यद्यपि, त्यसमा पछि नतिजा आएपछि यकिन गर्न सकिन्छ ।

– उम्मेदवार चयन प्रक्रियामै पार्टीभित्र चर्को रस्साकस्सी थियो । त्यसको कारण त होइन ?

उम्मेदवार चयनमा कुनै समस्या होइन । यो टिकटको कारणले यो परिणाम आएको हो भन्ने लाग्दैन । त्यो हुँदै होइन । हामीले जुन उम्मेदवार अगाडि सारेका थियौं हिजोको समयमा पनि राम्रो प्रतिस्पर्धा गरेको, जिल्ला सभापति पनि हुनुहुन्छ त्यसकारण उम्मेदवारको कारण हामीपछि परेको भन्न सकिँदैन ।

जहाँसम्म पार्टीको मत एकीकृत भए कि भएनन् भन्ने विषयमा समग्र मत आइसकेपछि सबै पालिकाको मत आइसकेपछि त्यसको विश्लेषण र समीक्षा हुन्छ । पार्टीभित्रको कमीकमजोरी केही रहेछन् भने पनि आउँछन् । त्यो भन्दा बाहेक अरु केही कारण रहेछन् भनेपनि आइहाल्छ ।

– भनेपछि यो नतिजा आउनुमा पार्टीभित्र उम्मेदवार चयनको विषय होइन ?

त्यही कारणले यस्तोखालको नतिजा आउँछ भन्ने लाग्दैन । त्यसमा केही तलमाथि भएको छ, पार्टीभित्रकै सहयोग असहयोगको कारणले हो भन्ने कुरा चाहिँ समग्र नतिजा नआइकन त्यो निष्कर्षमा पुग्न मिल्दैन ।

जहाँसम्म हामीलाई लागेको छ, सबै साथीहरू एकीकृत भएरै लाग्नुभयो । अन्तिमसम्म के भयो ? भएन भने पछि समीक्षाको विषय हो । अहिले त्यो विषयको कारणले भयो भन्ने मिल्दैन ।


प्रतिक्रिया

3 thoughts on “‘इलाममा मुढालाई कांग्रेसको मत धेरै गएको देखियो, समीक्षा हुन्छ’

  1. एमािेको उम्मेद्वार जनजातिबाट । काँग्रेसको क्षेत्री । पहिचानवादीले भो काटेका भए त एमालेको काट्यो होलानि । गैर पहिचानवादीको मत त काँगरेसलाई नै गयो होला नि महतज्यू । काँग्रेस अब सकिदै जान्छ् र जानुपर्छ । सधै जनता ठग्न सकिन्न्। अब काँग्रेस प्रजापरिषद बनेमा मात्र देशमा केही हुनसक्छ । एमालेको विजयलाई अब कसैले रोक्न सक्दैन । माओवादी र समाजवादीले त आफ्नो हैसियत देखे होलान नि । अब पनि माकुनेले बोल्नु ? माकुनेले त अब राजनीति छोडे हुन्छ । ओलिका कुरा गर्न बन्द गर ।

  2. यसले के को चुनावी समीक्षा गर्ला, आफनै क्षेत्र मा वडा सदस्य मा जित्न सक्दैन।

  3. प्रदेशसभामा कोशी नाममा सहमति जनाउने अनि एमालेलाई भौतिक आक्रमण गर्न पहिचानवादी सग मिल्ने नक्चरो कांग्रेस कसले चिन्दैन र एमालेसँग एक्लाएक्लै भिड न अनि जनताको समर्थन कसलाई रहेछ थाहा हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर