बुद्ध जयन्तीको बजेट कटौतीपछि अन्योलमा लुम्बिनी विकास कोष – Nepal Press

बुद्ध जयन्तीको बजेट कटौतीपछि अन्योलमा लुम्बिनी विकास कोष

रुपन्देही । संघीय सरकारले प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्ध जयन्ती एवम् लुम्बिनी दिवसको बजेट कटौती गरेकाे छ । विगतमा दिँदै आएकाे बजेट यस वर्ष काटिएपछि बुद्ध जयन्ती कसरी मनाउने भन्ने विषयमा लुम्बिनी विकास कोष अन्याेलमा परेकाे छ ।

यसअघि संघीय सरकारले वार्षिक रूपमा १ देखि ४ करोडसम्म बुद्ध जयन्तीका लागि बजेट छुट्याउने गरेको थियाे । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत रहेको लुम्बिनी विकास कोषले बुद्ध जयन्ती एवम् लुम्बिनी दिवस भव्य रुपमा मनाउँदै आएको छ । तर, आगामी जेठ १० गते परेको २५६८औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवसकाे तयारी बजेट अभावका कारण प्रभावकारी रूपमा अगाडि बढ्न सकेको छैन ।

संघीय सरकारले बजेट कटौती गरेपछि यस वर्ष बुद्ध जयन्तीको तयारीमा ढिलाइ भइरहेको कोषले जनाएको छ । कोभिड महामारीपछि २०७९ सालमा २५६६औं बुद्ध जयन्ती भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मनाइएको थियो । त्यतिखेर संघीय सरकारले ३ करोडभन्दा बढी बजेट विनियाेजन गरेको थियो ।

भगवान बुद्धको सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा वैशाख पूर्णिमालाई लिइन्छ । त्यसैले बुद्ध जयन्तीलाई उत्सवका रूपमा मनाउँदै आएकाे छ । यस वर्ष संघीय सरकारले बजेट कटौती गर्दा बुद्ध जयन्ती भव्य रूपमा मनाउन चुनौती देखिएको कोषकी योजना प्रमुख स्मिता भट्टले बताइन् ।

उनले कोषका तर्फबाट व्यवस्थापन गर्ने तयारी भए पनि संघीय सरकारले बजेट नदिँदा भव्य बनाउन कठिन हुने बताइन् । लुम्बिनी विकास कोषले प्रशासनिक र अन्य विकासका कामसमेत पर्यटकहरूको दान एवम् प्रवेश शुल्कको टिकटबाट प्राप्त हुने आम्दानीबाट गर्दै आएको छ ।

लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले बुद्ध जयन्तीलाई सरकारले राष्ट्रिय पर्वका रूपमा मनाउनुपर्नेमा त्यसो नभएको बताए । संघीय सरकारअन्तर्गत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुद्ध जयन्तीकाे लागि पर्याप्त बजेट छुट्याउनुपर्ने उनको सुझाव छ ।

बुद्ध जयन्ती कम्तीमा एक हप्ता मनाउनुपर्ने उनले बताए । ‘बुद्धिष्ट देशका राजदूत, कूटनीतिक नियोगका प्रमुख, विदेशी पाहुनाहरू ल्याएर मनाउनुपर्छ’, उनले भने, ‘झारा टार्ने गरी मनाउनु हुँदैन ।’

उनले साँच्चिकै नेपालमा बुद्ध जन्मेको हो भनेर छाप छोड्ने गरी बुद्ध जयन्ती मनाउनुपर्नेमा त्यसो हुन नसकेको गुनासाे गरे ।

बुद्ध जयन्तीमा स्थानीयहरूलाई जोडेर, प्रदेश र संघीय सरकारले संयुक्त रूपमा मनाउन सके त्यसले राम्रो सन्देश दिने अध्यक्ष ज्ञवालीले बताए ।

बुद्धजन्मस्थल लुम्बिनी आएका तीर्थालुहरुले समेत बुद्ध जयन्ती तथा लुम्बिनी दिवसको कुनै तयारी नदेख्दा आश्चर्य प्रकट गरेका छन् । पक्लिहवा कृषि क्याम्पस भैरहवामा अध्ययनरत दाङका नरेश उपाध्यायले तीन सातापछि हुने बुद्ध जयन्तीको कुनै पनि तयारी नदेखिँदा अचम्म लागेको बताए ।

उनले बुद्धको जन्म जयन्तीमा विश्वभरका बौद्धमार्गीहरुलाई लुम्बिनी आउने वातावरण बनाउनुपर्ने सुझाव दिए ।

‘केही वर्षअघि छिमेकी मुलुक भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसमेत आएर बुद्ध जयन्ती मनाइएको थियो । अब पनि त्यस्तै अन्तर्राष्ट्रिय उच्च ओहोदाका व्यक्ति, विदेशी कूटनीतिक निकायका प्रतिनिधि एवम् विश्वभरका बौद्धिष्टहरुलाई ल्याउन सके त्यसले लुम्बिनीलाई थप उचाइमा पुर्‍याउन सहयोग गर्थ्यो’, उनले भने ।

बुद्ध जन्मस्थल लुम्बिनी आफैंमा नेपालको सम्पत्ति भएकाले यसको विश्वव्यापी प्रचारका लागि बुद्ध जयन्तीलाई अवसरका रूपमा लिनुपर्नेमा त्यसो नभएकोमा अर्घाखाँचीकी बसन्ता विश्वकर्माले चिन्ता व्यक्त गरिन् । विश्वभर नेपाल चिनाउने बुद्ध भएकाले आउँदै गरेको बुद्ध जयन्तीलाई सरकारले औपचारिक रूपमा सार्वजनिक बिदा दिएरमात्रै मनाउन नहुने उनले बताइन् ।

बुद्ध पूर्णिमालाई नेपालसहित बौद्ध राष्ट्रहरु भूटान, थाइल्याण्ड, म्यानमार, मंगोलिया, कम्बोडिया, श्रीलङ्का, लाओसमा राजकीय सम्मानका साथ मनाइन्छ । यस्तै नेपालसहित चीन,भारत, युरोपलगायतका देशहरूमा सम्मानको साथ मनाउने गरिएको छ ।

गौतम बुद्धको जन्मभूमि नेपाल रहेकाले यहाँ बुद्ध जयन्तीलाई विशेष उत्सव र नेपालको पर्वका रूपमा मनाउनुपर्ने सरोकारवालाको माग छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान सरकारले बुद्ध जयन्तीमा स्थानीयहरूलाई समेत जोडेर राष्ट्रिय उत्सवका रूपमा मनाउनुपर्ने बताउँछन् ।

उनले बुद्ध जयन्तीलाई बुद्धका सन्देशहरू र दर्शन बुझ्ने तथा लुम्बिनीको प्रचार विश्वव्यापी बनाउने गरी मनाउनुपर्ने बताए ।

तत्कालीन राजा त्रिभुवनले वि.सं. २००६ साल जेठ ८ गतेदेखि सरकारी तवरबाट मान्यता दिएपछि नेपालमा रहेको लाखौं बौद्धमार्गी नेपालीले बुद्ध जयन्ती मनाउन थालेका हुन् । लुम्बिनीमा वि.स. २०५५ मा ऐतिहासिक प्रथम विश्व बौद्ध शिखर सम्मेलन भएपछि बुद्ध जयन्तीकै दिन सरकारले लुम्बिनी दिवस पनि मनाउन थालेको हो ।

विभिन्न बौद्ध मुलुकहरूको विशेष पहलमा सन् १९९९ देखि संयुक्त राष्ट्रसंघले समेत अन्तर्राष्ट्रिय रुपमै बुद्ध जयन्तीलाई मान्यता प्रदान गरी सो दिनमा विश्वभर रहेका आफ्ना सबै कार्यालयहरूमा बुद्ध जयन्ती मनाउन बिदा दिँदै आएको छ ।

जेठ १० गतेको बुद्ध जयन्तीका लागि लुम्बिनी विकास कोषले ५६८ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । संघीय सरकारले लुम्बिनी गुरुयोजनाको समेत बजेट कटौती गरेकाले चालू वर्षमा प्रभावकारी काम हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर