केदार कार्कीलाई अदालतको आश, खाली गरेनन् मुख्यमन्त्री निवास – Nepal Press

केदार कार्कीलाई अदालतको आश, खाली गरेनन् मुख्यमन्त्री निवास

विराटनगर । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सरकारी निवास छाड्न आनाकानी गरेका छन् । वैशाख २७ गते एमाले संसदीय दलका नेता हिक्मत कार्की मुख्यमन्त्री बनिसकेका छन् ।

एमाले-माओवादीका ५२ जना सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले वैशाख ३१ मा विश्वासको मत पाइसकेका छन् ।

नयाँ मुख्यमन्त्रीको रूपमा हिक्मत कार्की आएको एक साता हुँदा पनि केदार कार्कीले मुख्यमन्त्रीको निवास खाली नगरेका हुन् । मुख्यमन्त्रीका लागि विराटनगरस्थित कोशी प्रोजेक्टमा निवासको व्यवस्था गरिएको छ । निवर्तमान मुख्यमन्त्रीले निवास खाली नगर्दा मुख्यमन्त्री हिक्मत कार्की भने पहिलेदेखि बस्दै आएको निजी निवासमा बस्दै आएका छन् ।

मन्त्री तथा मुख्यमन्त्रीबाट हटेपछि निवास खाली गर्ने परम्परा छ । तर, निर्वतमान मुख्यमन्त्री केदार कार्कीले भने सरकार गठनको प्रक्रियाप्रति आपत्ति जनाउँदै अदालत गुहारेका थिए । उनले हिक्मतको नियुक्ति खारेजीको माग राखेर आफूलाई मुख्यमन्त्री पुन:स्थापनाको लागि सर्वोच्चसमक्ष माग राखेका छन् ।

निवर्तमान मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आव्हान गरेको प्रक्रियामा आपत्ति जनाउँदै सर्वोच्चमा २७ गते नै रिट दर्ता गरेका छन् । जेठ ९ गतेलाई सुनुवाइ तोकिएको छ । सर्वोच्चको फैसला नआएको भन्दै उनले मुख्यमन्त्रीको निवास खाली नगरेका हुन् ।

कोशी प्रदेशमा निर्वतमान मुख्यमन्त्री कार्की अल्पमतमा परेको सन्देश संकल्प प्रस्ताव मार्फत प्रदेश प्रमुखसमक्ष प्रदेश सभा सचिवालयले पठाएको थियो । सदनले विश्वासको मत लिन या मार्ग प्रशस्त गर्न निर्देश गरेकोमा केदारले नछाड्ने अडान लिएपछि प्रदेश प्रमुख खापुङ्गले मुख्य महान्यायाधिवक्ताको रायबमोजिम नयाँ सरकार गठनको आव्हान गरेका थिए ।

निर्वतमान मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लब घिमिरेले कार्की विराटनगरभन्दा बाहिर रहेकाले निवास खाली नभएको बताए ।

उनले भने, ‘उहाँ बाहिर हुनुहुन्छ । बाहिर रहेकाले निवास खाली गर्न ढिलाइ भएको हो ।’

निवर्तमान मुख्यमन्त्री कार्कीको सचिवालयमा रहेकाहरूले प्रयोग गरेका सवारीसाधन पनि फिर्ता नगरेको मुख्यमन्त्री कार्यालयले जनाएको छ । मुख्यमन्त्री कार्यालयका अनुसार उनका स्वकीय सचिव दिवस राजवंशीले ००४६ नम्बरको स्कुटर फिर्ता गरेका छैनन् । यस्तै ६२७ नम्बरको कारसमेत फिर्ता भएको छैन । यस्तै तत्कालीन कृषिमन्त्री राम खत्रीले प्रयोग गर्दै आएको ०३२ नम्बरको स्करपियो फर्काइएको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर