तेस्रो लगानी सम्मेलनः के भन्छन् लगानीकर्ता ? (भिडियो) – Nepal Press

तेस्रो लगानी सम्मेलनः के भन्छन् लगानीकर्ता ? (भिडियो)

काठमाडौं । तेस्रो लगानी सम्मेलन सोमबार सकिएको छ । सम्मेलनबारे स्वदेशी लगानीकर्ताहरुले भिन्नाभिन्नै प्रतिक्रिया दिएका छन् ।

उद्योगी किरण साखले नेपालमा लगानी गर्न पाउँदा विदेशी लगानीकर्ताहरुको खुसी भएको बताए । आज साख समूहले हङकङको बोर होटलसँग एमओयू गरेको छ ।

उनले भने, ‘हामीले होटलका लागि लगानी गर्न रुचाएका छौं । त्यसमा पनि तारे होटलभन्दा पनि बुटिक होटल हो । त्यो पनि एक स्ट्याडर्ड अर्थात महँगो । एउटै रुममा करिब ३ देखि ५ हजार आरएमबी एक रातको पर्ने होटल हो । भियतनाम, कम्बोडिया, लाओस, जापान र चीनमा खोलेको होटलको यो नेपालमा छैटौ होटल हो । यो होटल कपिलवस्तुमा बनाउनुको कारण भनेको बुद्धसँगको कनेक्सन हो । उहाँहरु पनि बृद्धिस्ट भएकाले कपिलवस्तुलाई रोजेका हौं ।’

उनका अनुसार होटेलको नाम ‘बो’ राखिएको छ । ‘बुद्धत्व प्राप्त भएकोलाई चिनियाँ भाषामा ‘बो’ भन्दा रहेछन् । यो होटलमा धर्मसँग जोडिएको मनको शान्तिका लागि हुनेछ । उहाँले प्रधानमन्त्रीसँगै भेटेर होटेलको बारेमा कुरा गर्न खोज्नुभएको थियो । तर, त्यो सम्भव भएन’, उद्योगी साखले भने ।

उनले सम्मेलनले लगानीकर्ताहरुलाई एकखालको उत्साहित बनाएको बताए ।

डेरी एसोसियसनका अध्यक्ष प्रह्लाद दाहालले तेस्रो लगानी सम्मेलनसम्म आइपुग्दा खासै उपलब्धिमूलक नरहेको प्रतिक्रिया दिए । पहिलो र दोस्रो लगानी सम्मेलन पनि धेरै उपलब्धिमूलक नभएको उनको बुझाइ छ ।

उनले भने, ‘हामीले खोजेका र अपेक्षा गरेका कुराहरु सम्भव होला जस्तो लागेन । लगानी सम्मलेन हुनु नै ठूलो कुरा हो र ? लगानी सम्मेलनलाई हेर्दा हाम्रो तयारी नपुगेको देखिन्छ । हामी कहाँ केन्द्रित छौं भन्ने कुराले पनि देखाउँछ । हाम्रो देशलाई के चाहिएको हो, हामीले केमा लगानी ल्याउन चाहेको हो भन्ने कुरा स्पष्ट हुनुपर्छ ।’

सरकारले विनातयारी लगानीकर्ताहरुलाई बोलाएको जस्तो देखिएको उनको भनाइ छ । ‘यसले गर्दा लगनीकर्ताहरुले नेपाललाई पत्याएनन् जस्तो लाग्छ’, उनले भने, ‘किनभने हाम्रो तयारी नै पुगेन ।’

नेपाल बैंकर संघका अध्यक्ष सुनिल केसीले समग्रमा हेर्दा लगानीकर्ताहरुको उल्लेखनीय सहभागिता रहेको बताए ।

उनले भने, ‘नेपालमा कसरी लगानी भित्र्याउन सकिन्छ भन्ने कुरा महत्वपूर्ण हुन्छ । नेपालको अर्थतन्त्र पछिल्लो समय अलिक सुस्त गतिमा गइरहेको बेला यस्तो खालको सम्मेलन आवश्यक नै थियो । लगानी सम्मेलनका लागि सरकारले ऐनहरु संशोधन गरेको छ, जसले गर्दा लगानीकर्ताहरुमा सकारात्मक प्रभाव पार्छ ।’

राजनीतिज्ञहरुको सहभागिताले एक खालको सकारात्मक सन्देश दिए उनको बुझाइ छ ।

‘लगानीका अवसरहरुबाट हुने नेपालको बैंकिङ क्षेत्र पनि अगाडि जान तयार छ । हामीले अन्य डीएफआईज बैंकहरुसँग छलफल गर्‍यौं । नेपालमा आउने लगानीका लागि बैंकहरुले कसरी सहयोग गर्नसक्छ भन्ने कुरामा छलफल गर्‍यौं’, उनले भने ।

इप्पानका अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनका सहभागीहरुलाई देख्दा त्यसले एक खालको उत्साह सृजना गरेको बताए ।

हाइड्रो सेक्टरको रौनकमा निजी क्षेत्रलाई पनि अगाडि लगेर जानुपर्छ भन्ने जस्तो देखिएको उनको बुझाइ छ ।

उनले भने, ‘लगानी सम्मेलनको माहोलले अबको लगानी गर्ने ठाउँ नेपाल हो भन्ने खालको सन्देश दिन्छ । हाइड्रोका साथै थुप्रै प्राइभेट सेक्टरमा पनि लगानी आउला जस्तो देखिएको छ । सम्मेलनको अन्तिम चरणमा भए पनि नेपाल सरकारले अध्यादेशमार्फत ऐनहरु संशोधन गरेर सहयोग गरेको छ । पहिलेका सम्मेलनभन्दा अलिक फरक र आकर्षित सम्मेलन भए जस्तो महसुस भएको छ ।’

अध्यक्ष कार्कीले लगानीमा नेपालीहरुका साथै थुप्रै विदेशीहरुले कुनै न कुनै सेक्टरमा लगानी गर्न चासो देखाएको बताए । जसमा जलविद्युतमा बढी रुचि देखाएको उनको भनाइ छ ।

‘सरकारले प्रतिबद्धता गरे जस्तै वातावरण मिलाइदियो भने लगानी भित्र्याउन त्यति गाह्रो हुँदैन’, अध्यक्ष कार्कीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर