१९ देशका गैरआवासीय राजदूत लुम्बिनीमा, स्थगित लौरियर्ट सम्मेलनको क्षतिपूर्ति हुने अपेक्षा – Nepal Press

१९ देशका गैरआवासीय राजदूत लुम्बिनीमा, स्थगित लौरियर्ट सम्मेलनको क्षतिपूर्ति हुने अपेक्षा

पर्यटन र लगानीका सम्भावनाबारे छलफल हुने

रुपन्देही । लुम्बिनीमा विभिन्न १९ देशका राजदूतहरुको सहभागितामा ‘समृद्धिका लागि विश्व शान्ति’ विषयमा अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । २ दिने सम्मेलनमा भाग लिन विभिन्न देशका गैरआवासीय राजदूत, नेपालका लागि अवैतनिक वाणिज्यदूतहरू, उच्च सरकारी अधिकारी, पर्यटन क्षेत्रका विज्ञ लुम्बिनी आइसकेका छन् ।

फागुन २८ र २९ गते विवादका कारण आयोजना गरेर स्थगित भएको लौरियर्ट एण्ड लिडर्स सम्मेलनका कारण निराश यहाँका व्यवसायीलाई यो सम्मेलनले ऊर्जा थपेको छ । उनीहरु परिवारसहित आएको विभिन्न तहका कर्मचारी, सुरक्षा निकायका उच्च पदस्थ कर्मचारीहरु सहभागी रहेका छन् । सम्मेलन शुक्रबारसम्म चल्नेछ ।

अहिलेको सम्मेलनमा भाग लिन १९ वटा मुलुकका गैरआवासीय राजदूतहरु एकैपटक लुम्बिनीमा भेला भएपछि यहाँको माहोल फेरिएको हो । सम्मेलनमा भाग लिन अस्ट्रिया, बुल्गेरिया, इस्टोनिया, चेक रिपब्लिक, मरिसस, मंगोलिया, इन्डोनेसिया, सेय्चेल्लेस, तान्जानिया, सर्बिया, स्लोभेनिया, साइप्रस, आयरल्यान्ड, स्पेन, लातिभिया, कोस्टारिका, पोल्यान्ड र डोमिनिकन रिपब्लिक रोमानियाका गैरआवासीय राजदूतहरू बिहीबार दिउँसो रुपन्देही आएका हुन् ।

आयोजकले लुम्बिनीको प्रचारप्रसार र पर्यटन प्रवर्द्धन तथा विश्व शान्ति सन्देशका लागि सम्मेलन गरिएको जनाएका छन् । यो सम्मेलन परराष्ट्र मन्त्रालय र अन्तर कन्सुलर कर्पस नेपालको संयुक्त आयोजनामा भएको हो ।

शुक्रबार उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा नेपालमा लगानीका अवसर, पर्यटन प्रवर्द्धन, लुम्बिनीको अन्तर्राष्ट्रिय महत्वलगायतका विषयमा छलफल र प्रस्तुती गरिँदैछ ।

नेपालमा लगानीको अवसर बढाउन पनि कार्यक्रमले योगदान गर्ने आयोजकको भनाइ छ । नेपाल पर्यटन बोर्ड तथा लगानी बोर्डको कार्यालयलको पनि सम्मेलनमा सहयोग छ ।

राजदूतहरु आजै रुपन्देहीको बुटवल र पाल्पाको बसन्तपुर जोड्ने लुम्बिनी केबलकारको अवलोकनका लागि पुगेका थिए । तिलोत्तमामा रहेको टाइगर प्यालेस होटलमा हुने सम्मेलन आयोजना गरिएपनि शुक्रबार राजदूतहरुले बुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन गर्नेछन् ।

लुम्बिनीमा नेपालको पर्यटन र लगानीको सम्भावनाबारे छलफल हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतबहादुर राइले जानकारी दिए । परराष्ट्र र नागरिक उड्डयन मन्त्रालयले विभिन्न विषयका विज्ञहरुलाई यो कार्यक्रममा सहभागितासहितका कार्यपत्रमा छलफल गराउने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर