लगानी सम्मेलनमा देखियो भू-राजनीतिक असर, दमक औद्योगिक पार्कसहित ३ वटा आयोजनाको पीडीए स्थगित – Nepal Press

लगानी सम्मेलनमा देखियो भू-राजनीतिक असर, दमक औद्योगिक पार्कसहित ३ वटा आयोजनाको पीडीए स्थगित

काठमाडौं । तेस्रो लगानी सम्मेलनमा ४ वटा परियोजना विकास सम्झौता (पीडीए) हुने भनिएको थियो । तर, अन्तिममा आएर ती ४ परियोजनाको पीडीए रोकिएको छ ।

लगानी बोर्डले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित सम्झौता सम्मेलनमा गर्ने भनेको थियो । तर, अहिले तयारी पूरा नभएकोले सम्झौता रोकिएको बोर्डले स्पष्टीकरण दिएको छ ।

बोर्डले सुरुमै ती आयोजनाको पीडीए हुने बताएको थियो । यी ४ वटा आयोजनाको पीडीए गरेर लगानी सम्मेलन सफल भएको प्रचार गर्ने बोर्डको तयारी नै थियो । तर, उक्त सम्झौता नभए सम्मेलनमा भू-राजनीतिक असर परेको आशंका गरिएको छ ।

बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले अध्ययन नपुगेकाले दमक औद्योगिक पार्क, अप्पर मर्स्याङ्दी २, सोलार परियोजना र डाबर नेपालको लगानी विस्तारसँग सम्बन्धित सम्झौता स्थगित गरिएको बताए ।

उनले भने, ‘हामीले लगानी सम्मेलनमै सम्झौता गर्ने भनेर ४ वटा परियोजना अगाडि सारेका थियौं । तर, सम्मेलन सुरु भएपछि अध्ययन र अनुसन्धान नपुगेको देखिएकाले स्थगित गरेका हौं ।’

लगानी सम्मेलनमा पीडीए हुने आयोजनाहरुमध्ये सबैभन्दा अगाडि चीन-नेपाल फ्रेण्डशिप इन्डष्ट्रियल पार्क अग्रस्थानमा थियो । यो भनेको दमक औद्योगिक पार्क हो ।

‘पूर्वी नेपालको भारतीय सीमावर्ती जिल्ला झापाको प्रमुख शहर दमकमा औद्योगिक पार्क चीनले निर्माण गर्दा भू-राजनीतिक असर पर्ने भएकाले सो आयोजना रोकिएको हो । दमकमा औद्योगिक पार्क छोडेर अरु ३ वटा परियोजनामा सम्झौता गर्दा केही समस्या पर्ने भएर नै रोकिएको हो’, स्रोतले भन्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर