शिल्पी समुदाय कसरी अछूत भए ? – Nepal Press
सन्दर्भ: जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस

शिल्पी समुदाय कसरी अछूत भए ?

आज २१ मार्च । जातीय विभेद तथा रङ्गभेद उन्मूलन दिवस ! हाम्रो समाजमा जातीय विभेद भन्नासाथ सबैको मनमस्तिष्कमा प्रकट हुने चित्र हो- छुवाछूत । वास्तवमा छुवाछूत अमानवीय अपराध हो । यस्तो व्यवहारले उदात्त उत्कृष्ट सनातन संस्कृतिलाई कलङ्कित पारेको छ । अहिले हाम्रो समाजमा छुवाछूतको विभेदमा रहेको समुदाय ‘दलित’ हो ।

विभेदकारी शासकहरूले मनुस्मृतिमा उल्लेख भएका ‘शूद्र’ नै दलित भएको अर्थ्याएर मनु र सनातन व्यवस्थालाई नै बदनाम गरेका छन् । मनुस्मृतिमा उल्लेख गरिएका शूद्र र समाजका शिल्पी र सेवक समुदायको वर्णन कहींकतै मेल खाँदैन । सनातनको व्यवस्था जातीय नभई वर्ण व्यवस्था हो, जो कामका आधारमा निर्धारित गरिएको छ । वर्ण व्यवस्था कार्य विभाजनको विज्ञानसम्मत व्यवस्था हो । जाति र जन्मका आधारमा गरिएको विभेदकारी व्यवस्था फरक हो । दुवैलाई मिसमास पारेर अन्यायपूर्ण बनाइएको व्यवस्थालाई सनातनसँग जोड्नु संस्कृतिप्रति नै अन्याय हो ।

यस सन्दर्भमा सानो चर्चा गरौं:

दलित शब्दको अर्थ दलनमा पारिएको वा दलनमा परेको भन्ने हुन्छ । शब्दको अर्थमात्र हेर्दा यसले कुनै जाति वा समुदाय विशेषलाई नभई वर्ग विशेषलाई भने जस्तो लाग्छ । किनभने दलन विभिन्न किसिमका हुन्छन्, शोषण विभिन्न ढङ्गका हुन्छन् । शब्द जता र जति बटारेर, घुमाएर प्रयोग गरे पनि दलनको माध्यम शक्ति हो र शक्तिशालीले अशक्तलाई दलन गरेको हुन्छ, पहिले यही भएको हो र अहिले पनि यही भइरहेको छ ।

तर, चलनचल्तीमा दलित शब्दको प्रयोग जातीय दलनमा परेका समुदायका लागि मात्र हुने गरेको छ । हाम्रो समाजमा यो अवस्था सबैभन्दा दर्दनाक रहेको छ । पशुपंक्षीहरूको पूजा वा सम्मान गरिने संस्कृति भएको समाजमा मानिस अछूत हुने प्रथा कलङ्कपूर्ण छ, लज्जास्पद छ र सर्वथा त्याज्य छ ।

दलित शब्दको अर्थ दलनमा पारिएको वा दलनमा परेको भन्ने हुन्छ । शब्दको अर्थमात्र हेर्दा यसले कुनै जाति वा समुदाय विशेषलाई नभई वर्ग विशेषलाई भने जस्तो लाग्छ । किनभने दलन विभिन्न किसिमका हुन्छन्, शोषण विभिन्न ढङ्गका हुन्छन् ।

यसका लागि दोषी को ? समाज ? समाजमा त हामी सबै छौं । आर्थिक अवस्था ? आर्थिक अवस्थाले त छूत-अछूत भएको देखिँदैन । शैक्षिक अवस्था ? यस्तो प्रथा अशिक्षितहरुका बीचमा मात्र सीमित छैन त । यसको जवाफ नै नभएको होइन । तर, मानिसहरू भएको कुरामात्र गरिरहेका छैनन् । मानिस रहस्य खोज्न रूचाउने प्राणी रहेछ । त्यसैले ऊ रहस्यमय कुरामा अलमलिइरहेको छ ।

केही मानिसहरू त वेद, पुराणलगायतका धर्मग्रन्थहरूलाई यो छुवाछूतको दोष लगाइरहेका छन् । कोही कोही त हुँदा हुँदा ‘ब्राह्मण’ भनिने मानिसहरूलाई दोष लगाएर थाक्दैनन् । उनीहरू के बुझ्नतिर लाग्दैनन् भने जसरी उनीहरू कसको कोखमा जन्मने भन्ने कुरा उनीहरूको नियन्त्रणभन्दा बाहिरको विषय हो भने ‘ब्राह्मण’हरू पनि कोख रोजेर जन्मेका त होइनन् ।

वेदमा-
‘यस्यामन्नं व्रीहियवौ यस्या इमाः पञ्चकृष्टयः ।
भूम्यै पर्जन्यपत्न्यै नमोऽस्तुवर्षमेदसे ।।

अर्थात, जसमा धान, गहुँ, जौ आदि अन्न प्रशस्त हुन्छ, जहाँ पाँच किसिमका मानिस -विद्वान, वीर, व्यापारी, शिल्पी र सेवक- आनन्दले रहन्छन् । जुन भूमिमा निश्चित समयमा झरी परेर अन्न फल्छ, जसलाई झरीले पोसेको छ, त्यस मातृभूमिलाई हाम्रो नमस्कार छ । (अथर्ववेद १२।१।४२)

चलनचल्तीमा दलित शब्दको प्रयोग जातीय दलनमा परेका समुदायका लागि मात्र हुने गरेको छ । हाम्रो समाजमा यो अवस्था सबैभन्दा दर्दनाक रहेको छ । पशुपङ्क्षीहरूको पूजा वा सम्मान गरिने संस्कृति भएको समाजमा मानिस अछूत हुने प्रथा कलङ्कपूर्ण छ, लज्जास्पद छ र सर्वथा त्याज्य छ ।

यस हिसाबले काम बाँडिएको त देखिन्छ । तर, छुवाछूतको विषय देखिँदैन । यजुर्वेदमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्रलाई शरीरका भिन्न भिन्न अङ्गसँग जोडेर त भनिएको छ, त्यहाँ पनि छूत-अछूत भनिएन । ‘गोडा’सँग जोडेको छ, तर अस्पृश्यता होइन, बरू गोडामा ढोग्ने संस्कारले त्यसको प्रायश्चित्त नै गरेको छ ।

शिक्षा, ज्ञान (बोलीसँग सम्बन्धित), राज्य सञ्चालन (शक्ति र युक्तिसँग सम्बन्धित), व्यापार (सङ्कलन, उत्पादन र वितरणसँग सम्बन्धित), सेवा (ढुवानी/भारवहन आदिसँग सम्बन्धित) गरी मूलतः चार प्रकारको कार्यविभाजन भएको पाइन्छ । ती समयमा कार्यगत विविधता र भिन्नता देखिन्छ । तर, तिनका स्थायी आधार जातजाति नै थिए भन्न सकिँदैन ।

गीतामा-

‘चातुर्वण्यं मया सृष्टं गुणकर्मविभागशः’

अर्थात, गुण र कर्मको विभाजनका आधारमा चार वर्ण सृष्टि गरिएको छ । (गीता ४।१३)

जन्मका आधारमा कोही पनि ब्राह्मण, क्षत्री, वैश्य, शूद्र वा म्लेच्छ हुँदैन । मानिसका गुण र कर्मद्वारा जाति विभाजन गरिएको छ । सबै प्राणी ब्रह्माबाटै उत्पन्न भएका हुन् भन्दैमा सबैलाई ब्राह्मण भन्न सकिन्छ र ? शान्त, संयमी र दयालु स्वभाव भएपछि नै यी गुणले ब्राह्मण हुन्छ । संसारको रक्षा गर्नमा सिपालु, शूर, संयमी, पराक्रमी दुष्टलाई नाश गर्न सक्ने भएपछि ऊ नै क्षत्रिय भएको हो भनिन्छ । किनबेचमा कुशल, जो सधैं व्यापारमा लागिरहेको पशुको रक्षा गर्ने, खेतीको काम गर्ने जति हुन्छन्, ती सबै संसारमा वैश्य भनेर चिनिन्छन् । द्विजातिको सेवामा लागेका, शूरवीर, शान्त, संयमी, कृषि कार्य र भारी बोक्नेहरू शूद्र नामले चिनिन्छन् । आफ्नो अनुशासन त्यागेका, लाजघिन नभएका, अर्कालाई दुःख दिने, क्रोधी, हिंस्रक स्वभाव भएका र अविवेकीहरूलाई सधैं म्लेच्छ भन्ने गरिएको छ । (शुक्र नीति, अध्याय १ श्लोक संख्या ३०-३७)

यी कुरा त त्यसबेलाका लागि त्यतिबेलाको व्यवस्था र अवस्थाले सिर्जना गरेका हुन् । कल्पना हुन् या वास्तविकता, यी विगतका विषय हुन् । अहिलेको अवस्थामा जस्ताको तस्तै गरी हामीलाई चित्त नबुझ्न सक्छ । तर, हाम्रो समाजमा कार्यविभाजनको प्रणाली पहिलेदेखि नै रहेको थियो र यो संस्कृति थियो ।

ती संस्कृतिका धरोहर हुन सक्छन्, शासनका कानून हुन सक्दैनन् । संस्कृतिका हिसाबले अहिले दलित भनिएकाहरूमध्येका ‘विश्वकर्मा’ भगवानका रूपमा पूजित व्यक्तित्व हुन् । अहिले पनि विश्वकर्माको पूजा गर्ने चलन छ । गाउने-बजाउनेहरू (गन्धर्व) देवगणमा पर्दथे । शब्दकोषहरूमा गन्धर्वलाई गायन-वाद्य आदिबाट आनन्द लिने समुदाय, देवयोनि विशेष, देवता विशेष आदि भनेर अर्थ्याएको छ । के देवता पनि अछुत हुन्थे र ?

यजुर्वेदमा ब्राह्मण, क्षत्री, वैश्य र शूद्रलाई शरीरका भिन्न भिन्न अङ्गसँग जोडेर त भनिएको छ, त्यहाँ पनि छूत-अछूत भनिएन । ‘गोडा’सँग जोडेको छ, तर अस्पृश्यता होइन, बरू गोडामा ढोग्ने संस्कारले त्यसको प्रायश्चित्त नै गरेको छ ।

वेदमा उल्लेख गरिएका शिल्पी समुदाय कसरी अछूत भए ? सेवक भनिएकाहरू कसरी अछुत भए ? वाद्यवादनको, वाद्य सामग्रीको त्यतिबेला ठूलो महत्व थियो भन्ने कुरा विष्णुको शङ्ख, शिवको डमरू, सरस्वतीको वीणा, नारदको सितार, कृष्णको मुरली आदिबाट पनि थाहा पाउन सकिन्छ ।

त्यतिबेलाका सबै कुरा सही थिए या सबै कुरा गलत थिए भन्ने बहसले अहिलेको अवस्थामा परिवर्तन ल्याउने होइन । वेदमा लेखिएका कुरा अब फेरिँदैन । शास्त्रमा लेखिएका विषय पनि मेटिँदैन । इतिहासलाई सरापेर वर्तमान सुध्रिँदैन । इतिहास र संस्कृतिका पुस्तक हेरेर न समाज चलेको छ न त राज्य नै । अहिले कसलाई कुन ठाउँमा राख्ने भन्ने कुरा राज्यको कानूनले निर्धारण गर्ने विषय हो । राज्यको कानून कसले बनाउँछ ? राजनीतिक नेतृत्वले यो काम गर्छ । नीतिहरू कार्यान्वयन गराउन राज्यको लगानीमा यत्रो प्रशासनिक संयन्त्र (Bureaucracy) छ ।

यस्तो देख्दादेख्दै, जान्दाजान्दै पनि हामी रहस्यका पछि दगुर्छौं भने गैरजिम्मेवार जिम्मेवारहरूलाई हाइसञ्चो हुने नै भयो । दलित समुदायलाई जातीय दलनबाट मुक्त पार्ने जिम्मेवारीबाट पन्छिन कसैले संस्कृति, परम्परा र इतिहासलाई दोष लगाउँछ भने त्यसका पछि लाग्नु बुद्धिमानी ठहर्दैन । समाजमा अनेकौं प्रकारका विविधता छन्, विविधता त समाजका विशेषता हुन् । यी विविधता नै दलनको माध्यम बन्नुहुँदैन । हामी सबैका पुर्खाले निर्माण गरेको संस्कृति कुनै जातविशेषको दलनको औजार हुन सक्दैन, हुन हुँदैन । सनातन संस्कृतिको मूल ग्रन्थ वेद हो । वेदमा कुनै जाति विशेषलाई दलित बनाइएको छैन ।

खैर, दलित भनिएका समुदायमाथि समाजमा जेजति विभेदहरू छन्, ती विभेदहरूको उन्मूलन र उनीहरूको सम्मानजनक जीवनको सुनिश्चितता राज्यको जिम्मेवारी हो, न कि कुनै इतिहास, जाति, संस्कृति र धर्मविशेषको । ‘देव’गण भनिएका वाद्य-वादनका कलाकर्मी, भगवान भनेर पूजित विश्वकर्माका शिल्पी र पौरखी सन्तान, जो आज दलित भनिएका छन्, संस्कृतिबाट सम्मानित गौरव पुनः प्राप्त गर्न ‘दलित’हरूमा सांस्कृतिक पुनर्जागरण आवश्यक छ ।


प्रतिक्रिया

One thought on “शिल्पी समुदाय कसरी अछूत भए ?

  1. सँस्कृति पनि वर्गीय हुने, बलशालीबाट कम्जाेरहरूनै दलिने कुरालाई हेक्का राख्दै हेर्न उपयुक्त हाेला । सबै विज्ञ विद्वान हुन्छन भन्ने छैन । मनचिन्ते भरम विज्ञबाट समाजलाई युगाैदेखि ठूला ग्रन्थ निकालेर दिग्भ्रमित पारेका कुरालाई साँस्कृतिक धारणा भनेर आत्मसात गर्न त सकिदैन !

Leave a Reply

Your email address will not be published. Required fields are marked *