दोलखामा कम्युनिस्ट उदयका श्रृंखला – Nepal Press
सन्दर्भ : नेकपा स्थापना दिवस

दोलखामा कम्युनिस्ट उदयका श्रृंखला

बजारको स्वयम्भूनजिकै एक व्यक्ति घोडाबाट ओर्लिए । उनको पछिपछि अर्को व्यक्ति घोडा डोर्‍याउँदै थिए । घोडसवार ती व्यक्तिले बजारमा पूर्वचिनजानका एक व्यक्तिलाई भेटे । भेटघाटको क्रममा ती व्यक्तिले भने, ‘मलाई कम्युनिस्ट पार्टीको सदस्यता देऊ ।’ तर, उनको कुरा सुनुवाइ भएन । सदस्यताको साटो ती व्यक्तिले यस्तो जवाफ पाए, ‘पहिला यी व्यक्ति (घोडा डोर्‍याउने) लाई घोडामा चढाउनुस् । तपाईं त्यो घोडा डोर्‍याएर यो बजार डुल्नुस् । त्यसपछि कम्युनिस्ट पार्टीको सदस्यता पाउनु हुन्छ ।’

प्राचीन बजार दोलखा स्वयम्भून‍िर त्यसो भन्ने व्यक्ति को थिए ? अनि, सदस्यता लिनखोज्ने को थिए ? स्पष्ट छैन तर नेकपा एमालेका केन्द्रीय अनुशासन आयोग अध्यक्ष अमृतकुमार बोहराले दोलखामा पार्टी काम गर्दा उक्त कुरा सुन्नु भएको हो ।

सहिद गंगालालका भाइ पुष्पलालको अगुवाइमा वि.सं. २००६ साल वैशाख १० गते नेपाल कम्युनिस्ट पार्टीको स्थापना भयो । आज स्थापनाको ७५ वर्ष पनि पुगेको छ । खुसियालीमा नेपालका कम्युनिस्टहरूले हीरक उत्सव मनाउँदै छन् ।

दोलखामा भूमिगत काम गर्नुभएका बोहराको उक्त सम्झनाले कम्युनिस्ट र दोलखाबारे केही खोजी गर्ने जाँगर चल्यो । विभिन्न लेखहरूका आधारमा दोलखाबाट सदस्यता लिन पुष्पलालसँग सम्पर्क गर्ने पहिलो व्यक्ति तीर्थबहादुर श्रेष्ठ र अर्जुनबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । दुवैजना दोलखा बजारका हुनुहुन्थ्यो । तत्काल दोलखा बजारमा पार्टी काम गर्दै गरेका तिनै दुईमध्ये एकले सामन्त पृष्ठभूमिका घोडसवारलाई कम्युनिस्टको सदस्यता बन्न श्रमिकको सम्मान गर्नुपर्ने सर्त अघि सारेको अनुमान नेता बोहराको छ ।

श्रमिक, किसान, नोकर, भरिया, हली र गरिबहरूलाई घोडा चढ्नसक्ने मालिक बनाउने क्रान्तिलाई अर्जुन र तीर्थले फैलाउन थालेको इतिहास कतैकतै उल्लेख छ ।

नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दुईवर्ष बित्न नपाउँदै २००८ साल माघ ८ गते कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध लगाइयो । जेलमा रहेका डा. केआई सिंहले सिंहदरबार कब्जा गरेको घटनामा कम्युनिस्टहरूलाई दोषी ठहर्‍याइयो । त्यही निहुँमा षड्यन्त्रपूर्वक मातृकाप्रसाद कोइराला सरकारले कम्युनिस्टमाथि प्रतिबन्ध लगायो ।

भूमिगत अवस्थामा २००९ सालतिर पुष्पलालद्वारा लिखित ‘किसानको किताब’ दोलखामा ल्याइयो । दोलखा बजारमा अर्जुन र तीर्थहरूको अगुवाइमा त्रिपुरा पुस्तकालय स्थापना गरी उक्त किताब र मार्क्सवादी रचना पढ्ने व्यवस्था मिलाइएको दोलखाका अगुवा कम्युनिस्ट एमाले पोलिटब्युरो सदस्य आनन्दप्रसाद पोखरेलद्वारा लिखित ‘गन्तव्य समाजवाद’ मा उल्लेख छ ।

माओवादी द्वन्द्वको प्रभाव वढ्दै गएको असर एमालेमा पर्‍यो । ‘एमाले नसकी माओवादी बढ्दैन’ भन्ने निष्कर्षले द्वन्द्वको निसाना एमाले हुन थाल्यो । ग्रामीण भेगमा एमालेका नेता कार्यकर्ताको हत्या गर्ने, गाउँ निकाला गर्ने, अपहरण गर्ने, यातना दिने क्रम बढ्यो । माओवादी भए ठीक, एमाले भएर गाउँ बस्न नपाइने उर्दी जारी भए ।

किसानको किताबको प्रभावले तत्कालीन किसान, मजदुर, गरिब निमुखाहरू धमाधम कम्युनिस्ट पार्टीमा आवद्ध हुन थाले । भूमिगतकालमा जाली तमसुक च्यात्ने, हलिया प्रथा उन्मुलनको आवाज उठाउने, जमिनदार र सामन्तीहरूको जमिन कब्जा गर्ने जस्ता आन्दोलन दोलखाको ग्रामीण बस्तीहरूका केहीकेही ठाउँमा भएका थिए ।

कम्युनिस्ट प्रतिवन्धकै बीचमा २०१३ सालमा महेन्द्रको राज्यभिषेक हुने भयो । यदी कम्युनिस्ट पार्टी प्रतिवन्धित नै रहने हो भने महेन्द्रको राज्यभिषेकमा विद्रोह गर्ने चेतावनी दिइयो । क्रान्तिका कार्यक्रम घोषणा गरेपछि कम्युनिस्टमाथिको प्रतवन्ध हट्यो ।

कम्युनिस्ट पार्टीको संगठन र आन्दोलनहरू सशक्त ढंगले अघि बढिरहेको दोलखामा भूमिगत कालमा भने सोचेजस्तो संगठन विस्तार हुन नसकेको देखिन्छ । भूमिगत अवस्थाका ५ वर्षबीचमा पनि नेकपा पार्टीको केन्द्रीय नेतृत्वमा पटकपटक दुर्भाग्यपूर्ण निर्णय र घटनाहरू भए । त्यसको असरले दोलखामा नेतृत्व र संगठन विस्तार हुन बाधा परेको थियो । साथै, राज्यले विनाकारण कम्युनिस्टलाई प्रतिबन्ध र दमन गरिनुको असर परेको देखिन्छ । ज्वलन्त असर २०१५ सालको चुनावमा प्रत्यक्ष रूपमा पर्‍यो । उक्त चुनावमा अर्जुन श्रेष्ठ पराजित हुनुभयो । हुन त देशभर ललितपुर, रौतहट र पाल्पामा जम्मा ४ सीट जितेर कम्युनिस्ट पार्टीले चित्त बुझाउनु परेको थियो ।

२००६ सालदेखि १५ सालसम्म आइपुग्दा कम्युनिस्टभित्र कारबाही, टुटफुटको नकारात्मक असर थियो । त्यसमा राज्यको दमन थपिएपछि पार्टी विस्तारमा बाधा परिरहेको थियो । त्यसैले देशभर निर्वाचनमा पराजित हुनु परेको अनुमान गर्न सकिन्छ ।

भूमिगत अवस्थामा २०१० साल माघ १३ देखि १७ गतेसम्म पाटनमा भएको प्रथम महाधिवेशन नै नेकपाका लागि घातक सावित भयो । हुन त २००८ सालदेखि पुष्पलालका विचारहरू पारित नहुनु, उहाँलाई पार्टी महासचिवबाट हटाइनु, अन्य संस्थापकहरू नरबहादुर कर्माचार्य, नारायणविलास जोशी, निरञ्जन गोविन्द बैद्दे, दुर्गादेवी श्रेष्ठहरू छायामा परेर पार्टी समस्यामा पर्दै थियो ।

२०१० सालको प्रथम अधिवेशनबाट तुलसीलाल र डीपी अधिकारीलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्बन गरिएपछि पार्टीमा अर्को दुर्भाग्यपूर्ण घटना थपियो ।
गुटबन्दी गरेको आरोपमा घरनजिक पाटनमा भएको महाधिवेशनबाट तुलसीलाल निलम्बित हुनुभएको थियो । तर, त्यो कारबाहीबाट तुलसीलाल निरास हुनु भएन, बरू पार्टी निर्णय सिरोपर गर्दै क्रान्तिमा लाग्नुभयो । कारबाही भए पनि अविचलित पार्टी काममा लागेका उनले २०१५ सालको चुनाव जित्नु भयो । अहिलेसम्म तुलसीलालका योगदान र विचारहरू कम्युनिस्ट इतिहासमा अब्बल ठानिन्छ ।

पञ्चायतपछि दोलखामा कम्युनिस्ट :

राजा महेन्द्रले २०१७ सालमा प्रजातान्त्रिक व्यवस्थालाई कु गर्दै निरंकूश पञ्चायती व्यवस्था लागू गरे । पार्टीहरू प्रतिबन्धित भए । नेताहरू जेल परे । तत्कालीन नेकपाको महासचिव केशरजंग रायमाझीले राजको कु को समर्थन गरेपछि कम्युनिस्ट आन्दोलनमा थप संकट देखापर्‍यो ।

दोलखामा भूमिगत कामहरू हुन थाले । निर्दलीय पञ्चायती व्यवस्था लागू भएपछि दोलखाका पुराना नेताहरू भने केही छाया पर्न थालेको देखिन्छ । तर, उपत्यकामा अध्ययन गर्न गएका दोलखाका युवा विद्यार्थीहरू कम्युनिस्ट सम्पर्कमा रहेर दोलखामा कम्युनिष्ट आन्दोलन जारी राखेका थिए । २०१९ सालतिर र्विद्यार्थीहरू चन्द्रराज ढुङ्गेल र कृष्णप्रसाद शिवाकोटी (पाखे) पञ्चायतविरूद्धको आन्दोलनमा कम्युनिस्टको झण्डा बोकेर सरिक हुनुभयो । लालसिंहको नेतृत्वमा उनीहरूसहित दोलखामा राजनीतिक काम भएको देखिन्छ ।

त्यसै सेरोफेरोमा दोलखा सदरमुकाम चरिकोटमा कम्युनिस्टहरूले पुस्तकालय खोली मार्क्सवादको अध्ययन सुरू गरेका थिए । पुस्तकालय खोल्ने दानबहादुर जोशी, चन्द्रराज कृष्णप्रसाद पाखे र कृष्णप्रसाद शिवाकोटी (तोरीखेते) पक्राउ पर्नुभयो । गन्तव्य समाजवाद पुस्तक अनुसार उनीहरूलाई पक्राउ गरेर यातना दिदै रामेछाप जेल चलान गरियो ।

उक्त दमनको घटनाबाट कम्युनिस्ट आन्दोलन रोकिएन । चरिकोटमा डा. गोपालकृष्ण श्रेष्ठ, बद्रीभक्त श्रेष्ठहरूले लेनिन जयन्ती मनाउने लगायतका काम गर्दै कम्युनिस्ट आन्दोलन अघि वढाउँदै लग्नुभयो ।

२०२२/२३ तिर भरतमोहन अधिकारी, अलिपछि नारायणमान विजुक्छे (रोहित) ले दोलखामा काम गर्नुभयो । कृष्णप्रसाद शिवाकोटी पाखेको नेतृत्वमा २०२५/२६ तिर पहिलो नेकपाको कमिटी बनेको उल्लेख छ । त्यसपछि कम्युनिस्टहरूको जिल्लाव्यापी संगठन विस्तार हुँदै गयो । पञ्चायतविरोधी आन्दोलनको क्रममा किसानका हीतमा हुने विषयहरू उठान गरिए । कम्युनिस्ट संगठन विस्तार गर्ने उपत्यकाबाट मनमोहन जोशी, मेघनाथ लम्साल, चक्रबहादुर थापा, मिलन तुलाधरहरू खटि आउनुभयो । उहाँहरू सुस्पाक्षेमावती, दोलखा बजारमा अध्यापन गर्ने निहुँमा छिर्नुभयो । भूमिगत काम भने कम्युनिस्ट विस्तार गर्न सक्रिय भए । २०३० को सेरोफेरोमा कृष्णप्रसाद शिवाकोटी पक्राउ परेपछि हाल रूसका राजदूत मिलनले सुस्पा बसेर पार्टी काम गर्नु भएको देखिन्छ । उनले स्थानीयस्तरमा थप विश्वासिलो हुन त्यहीँका चेलीसँग विहे गर्नुभयो । त्यसैताका माधवकुमार नेपाल दुईचोटी दोलखा आएर भूमिगत काम गरेको उहाँले मन्तव्यमा भन्नुभएको थियो ।

२००६ सालदेखि १५ सालसम्म आइपुग्दा कम्युनिस्टभित्र कारबाही, टुटफुटको नकारात्मक असर थियो । त्यसमा राज्यको दमन थपिएपछि पार्टी विस्तारमा बाधा परिरहेको थियो । त्यसैले देशभर निर्वाचनमा पराजित हुनु परेको अनुमान गर्न सकिन्छ ।

२०३० पछि इन्द्रबहादुर खड्काको नेतृत्वमा नेकपाको कमिटी बनेको देखिन्छ । इन्द्रबहादुर, ठोकप्रसाद शिवाकोटी, कृष्णप्रसाद दाहाल, लालकुमार केसीहरूले उपत्यका र दोलखामा कोअर्डिडेसनको काम गर्नुभयो । २०४८ मा संसद भएका इन्द्रबहादुर, २०५४ मा सभापति र नेकपा एमालेका पार्टी अध्यक्ष भएका लालकुमार अहिलेको राजनीतिबाट छाया पर्नु भएको छ । ठोकप्रसाद जागिर र कृष्ण दाहाल विदेशमा हुनुहुन्छ ।

२०३६ सालदेखि केही समय अमृत बोहराले पार्टी सम्हाल्नुभयो । उहाँको प्रमुख आतिथ्यमा ठोकप्रसाद, पशुपति चौलागाईं, आनन्दप्रसाद पोखरेल, इन्द्रबहादुर खड्कासहित ११ जना उपस्थित भेलाबाट नेकपा मालेको गठन भयो ।

२०३७ सालमा अमृत सचिव रहेको ठाकुर, इन्द्रबहादुर, जीतबीर, पशुपति लाकुमारको कमिटीले नेकपा मालेलाई अघि बढाउनुभयो ।

हालका एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल २०४१ मा दोलखामा मालेको नतृत्व गर्न आउनुभयो । उहाँ सचिव रहेको कमिटीमा जीतवीर, पशुपति, लालकुमार, शिवप्रसाद भण्डारी हुनुहुन्थ्यो । २०४२ मा ईश्वर चरिकोट जेल पर्नु भएपछि सुरेश कार्कीले सचिव भएर काम गर्नुभयो । सोही वर्ष माधव पौडेल सचिव रहेको इन्द्र, जीतवीर, लाल, आनन्द, शिव र मीरा थामी जिल्ला कमिटी बन्यो । पशुपति अध्ययन गर्न जिल्ला कमिटीबाट बिदा भएर उपत्यका छिर्नुभयो ।

२०४३ को आम चुनावमा जीतवीर लामा जनपक्षीय उम्मेदवारको रूपमा उठ्नुभयो । कम्युनिस्टको राम्रो प्रभावका कारण पञ्चायतको धाधलीका बाबजुद दोस्रो मत ल्याई पराजित हुनुभयो । त्यो चुनावमा पञ्चायती व्यवस्थाका हिमायतीको रूपमा नम्दुका उप्रेती र लादुकका खड्काको टक्कर थियो । तर, दुवै मिलेर कम्युनिस्ट र काग्रेसलाई ठेगान लगाउन प्रहरी र प्रशासनको दुरुपयोग गरिरहन्थे । कम्युनिस्ट नेताहरू यातना, जेलनेल र झूठो मुद्दामा फसिरहन्थे ।

२०४५ पुस ७ र ८ गते हाल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा घ्याङसुकाठोरस्थितमा ८ जनाको उपस्थितिमा प्रथम जिल्ला अधिवेशन गर्‍यो । त्यो अधिवेशनले माधव पौडेल सचिव रहेको पशुपति, आनन्द, लाल, शीव, आरपी ओली र सम्मरबमदुर तामाङ सदस्य रहेको जिल्ला कमिटी बन्यो ।

त्यो अधिवेशनको क्रममा ठूलो दुर्घटनाबाट जोगिएको शिव भण्डारीले बेलाबेला सुनाउनु हुन्छ । उहाँको घरमा आगलागी सुरू भैसकेको कुरा माधव पौडेल ब्यूँतिएर थाहा पाउनु भयो । प्रमुख अतिथि केपी ओलीसहित सबै मिलेर आगो निभाउनुभयो । संयोगबस मात्र आगोको खतराबाट सबै नेताहरू जोगिएको उक्त घटना दोलखाको कम्युनिस्ट जमघटमा चर्चा हुने गर्छ ।

२०४६ को जनअन्दोलनपछि

संयुक्त जनआन्दोलन ०४६ मा कम्युनिस्ट र कांग्रेस मिलेर सम्पन्न भयो । दोलखामा नेकपा मालेले जनतामा राम्रो प्रभाव पार्दै गयो । कम्युनिस्ट पार्टीको माले, मार्क्सवादी, जनमोर्चाका कार्यालयहरू स्थापना भए । ०४७, पौष २७ मा माले र मार्क्सवादी एकीकरण भएर नेकपा एमाले बन्यो । पशुपति चौलागाईंको नेतृत्वमा माक्र्सवादीका माधव उप्रेतीसहितको कमिटी सक्रिय भएपछि एमाले पार्टी झन शक्तिशाली बन्यो । त्यो कमिटीमा वसन्तराज कार्की, डबल पाण्डेहरू केही नयाँ अनुहार थपिए । २०४८ मा भएको दोस्रो जिल्ला अधिवेशनले लालकुमार केसीको नेतृत्वमा जिल्ला कमिटी बन्यो ।

सोही वर्ष भएको संसदीय निर्वाचनमा दोलखा-१ बाट इन्द्रबहादुर र २ बाट जीतवीर लामाले एमालेको सूर्य चिन्हबाट जित हासिल गर्नुभयो । केन्द्रमा बहुमत ल्याइ कांग्रेसले सरकार बनायो । त्यसको दुष्प्रभाव र संसदीय अभ्यासमा कम्युनिस्टहरू अनुभवी नभएका कारण एमालेका माननीयहरू आलोचित हुने क्रम पनि सुरू भयो । लगत्तै २०४९ मा भएको दोलखाको निर्वाचनमा कांग्रेसले बहुमत गाउँ विकास समिति जितेर जिल्ला विकास समिति बनायो । स्थानीय निकायमा एमाले प्रतिपक्षमा बस्नु पर्‍यो ।

संसदीय अभ्यासबाट दिक्क भएर इन्द्रबहादुर खड्काले तीन वर्षमै पदबाट राजीनामा गर्ने इच्छा गरे तर स्वीकृत भएन । त्यहीबाट खड्का राजनीतिबाट अलग भै अध्ययन र अध्यापनतिर लाग्नु भयो । तत्कालका बाघ कम्युनिस्टफे चिनिने जीतवीर पनि हाल चर्चाबाहिर हुनुहुन्छ ।

मध्यावधि र मनमोहन सरकारको प्रभाव

२०५१ मा भएको मध्यावधि निर्वाचनपछि मनमोहन अधिकारी प्रधानमन्त्री हनुभयो । सरकारले उल्लेख्य र लोकप्रिय काम गरेको अनुभूति जनतामा पर्दै गयो । तर, दोलखामा भने क्षेत्र- २ मा मात्र एमालेको वाड्छे शेर्पाको जीत भयो । क्षेत्र १ मा कांग्रेसबाट भीमबहादुर तामाङले जित्नुभयो ।

२०५२ सालमा एमाले दोलखाको तेस्रो जिल्ला अधिवेशन भयो । अधिवेशनबाट लालकुमार केसी पुनस् सचिव हुनुभयो ।मनमोहन सरकारको लोकप्रियताका कारण २०५४ को स्थानीय निर्वाचनमा जिल्लाको ५१ गाउँ विकास समितिमध्ये ४९ वटामा अध्यक्षसहित बहुमत सीट एमालेले जित्यो । एकलौटी जिल्ला विकास समिति बनायो ।

माओवादी द्वन्द्वको असर

माओवादी द्वन्द्वको प्रभाव वढ्दै गएको असर एमालेमा पर्‍यो । ‘एमाले नसकी माओवादी बढ्दैन’ भन्ने निष्कर्षले द्वन्द्वको निसाना एमाले हुन थाल्यो । ग्रामीण भेगमा एमालेका नेता कार्यकर्ताको हत्या गर्ने, गाउँ निकाला गर्ने, अपहरण गर्ने, यातना दिने क्रम बढ्यो । माओवादी भए ठीक, एमाले भएर गाउँ बस्न नपाइने उर्दी जारी भए । गैरराजनीतिक कृयाकलाप बढिरहेको बेला २०५४ माघमा एमालेको छैठौं केन्द्रीय महाधिवेशन भयो । त्यही वर्षको फागुनमा एमाले विभाजन भै नेकपा माले पार्टी बन्यो । दोलखामा पनि त्यसको केही असर पर्‍यो । वसन्तराज कार्की सचिव रहेको माले जिल्ला कमिटी बन्यो । एमालेको कमिटी आनन्दप्रसाद पोखरेलको नेतृत्वमा पुनर्गठन भयो । २०५५ मा एमालेले चौथो जिल्ला अधिवेशन गर्‍यो । उक्त अधिवेशनले आनन्द पोखरेललाई सचिव छान्यो । २०५६ मा भएको संसदीय निर्वाचनमा पार्टी फुट र माओवादी द्वन्द्वको बाबजुद पनि दोलखा-१ मा पशुपति चौलागाईं र दोलखा- २ मा आनन्दप्रसाद पोखरेल विजयी हुनुभयो ।

फुटेको माले २०५८ चैतमा पुन एकीकरण भएपछि दोलखामा २०५९ चैतमा भएको पाचौं जिल्ला अधिवेशनले शिव भण्डारीको नेतृत्वमा जिल्ला कमिटी बनायो । २०६३ मा भएको छैठौं जिल्ला अधिवेशनले पुनः शिवलाई नै सचिव छान्यो ।

लोकतन्त्रपछिको अवस्था

संयुक्त जनआन्दोलन सफल भयो । त्यसपछि लोकतन्त्र स्थपित गर्न गरिएको संविधानसभा निर्वाचन भने दोलखा एमालेको निम्ति दुस्खद रह्यो । २०६४ मा भएको निर्वाचनमा दुवै सीट एमालेले गुमायो । दोलखा- १ बाट नेकपा माओवादीका देवी खड्का र दोलखा(२ बाट हेमबहादुर श्रेष्ठ विजय हुनुभयो । चुनावमा हार वेहोरेपछि पार्टीको अवस्था नाजुक भयो । द्वन्द्वका बेला कार्यकर्ताहरूमा भएको मनोवैज्ञानिक असर हट्न सकेन । निराशा र त्रासका बीच २०६६ मा सातौं जिल्ला अधिवेशन भयो । उक्त अधिवेशनमा भएको निर्वाचनले पार्वत गुरूङको नेतृत्वको जिल्ला कमिटी बनायो । उक्त कमिटीले कार्यकर्तामा दमन र ऊर्जा भरिने गरी पार्टीको काम अघि वढ्यो । त्यसको प्रभावले २०७० मा भएको निर्वाचनमा दुवै सीट पार्वत र आनन्दले जित्नुभयो ।

२०७० मा पार्टीको आठौं जिल्ला अधिवेशनले ईश्वरचन्द्र पोखरेललाई अध्यक्ष चुन्यो । संविधान जारी भएपछि २०७४ मा भएको निर्वाचनमा दोलखाबाट संघमा एमालेबाट पार्वत गुरूङ, प्रदेश क मा एमालेबाट पशुपति चौलागाईं र ख मा माओवादीबाट विशाल खड्का विजय हुनुभयो । उक्त चुनावमा वाम एकता भएको थियो ।

२०७८ मा एमालेको नवौं जिल्ला अधिवेशनमा निर्वाचनबाट नरबहादुर श्रेष्ठको नेतृत्वमा कमिटी बन्यो । २०७९ मा स्थानीय, संघ र प्रदेशको निर्वाचन भयो । उक्त चुनावहरू एमालेका निम्ति घातक सिद्ध भए । स्थानीय तहमा नौमध्ये दुई सीटमात्र एमालेले जित्यो । सात सीट गठबन्धनले जित्यो । प्रदेशको ख मा एमालेका भरत केसीले जित्नुभयो । प्रदेश क मा गठबन्धनका कुन्दनराज काफ्लेले जित्नु भयो । संघमा गठबन्धनका गंगा कार्कीले जित्नुभयो । एमालेका बालकृष्ण शिवाकोटीले थोरै मतान्तरले हार्नुभयो । उक्त हारमा पार्टीभित्रबाट अन्तरघात भएको चर्चा चल्यो । एमाले जिल्ला कमिटीले चुनावमा घात गरेको आरोपमा तत्कालीन सचिव हीरा थोकरलगायतलाई कार्वाही चलायो । हीरा अहिले कारबाहीमुक्ता भैसक्नु भयो ।

२०८० सालमा पार्टीको १० ओैं जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नरबहादुरलाई निर्वचित गरेको छ ।

यसरी विभिन्न काखण्ड घटना गुजार्दै दोलखाको कम्युनिस्ट इतिहासले ७५ वर्ष गुजारेको छ । हीरक दिनसम्म आइपुग्दा एमाले दोलखाका नेता आनन्द र पार्वत पोलिटब्युरो सदस्य तथा क्याविनेट मन्त्री भइसक्नु भयो । सरस्वती बस्नेत र रचना खड्का प्रदेश मन्त्री हुनुभयो । दोलखा एमालेका ९ जना केन्द्रीय सांसद हुनुभयो । कोभिड- १९ को महामारीले एमाले पोलिटब्युरो सदस्य रहेकै बेला पशुपति चौलागाईंको निधन भयो । उहाँको निधनले दोलखा र कम्युनिस्टले मात्र हैन देशले नै क्षति बेहोर्नु पर्‍यो ।

यस आलेखमा दोलखाका इतिहासमा देखिएका र लेखिएका अति थोरै घटना र पात्रहरू मात्र समेटिएका छन् । तथापि इतिहासलाई सम्झाउने कोसिस भने गर्ने नै छ । अन्त्यमा, भव्य हीरक वर्षमा नेपाली माटोमा कम्युनिस्टको बीउ रोप्ने, हुर्काउने र जोगाउने र माया गर्ने सबैलाई शुभकामना र अभिवादन व्यक्त गर्दछु ।

(लेखक नेकपा एमाले, दोलखाका उपाध्यक्ष हुन् )


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *