बजारीकरणले सांस्कृतिक निष्ठामा आँच ! – Nepal Press

बजारीकरणले सांस्कृतिक निष्ठामा आँच !

बालबालिकाको न्वारन । त्यसपछि अन्नप्रासन, बर्तुन, गुन्युचोली, बेलविवाह । उमेर पुगेपछि कन्या र कुमारको विवाह । विवाहमा कुमारतर्फ जन्ती र विवाह भोज । कन्यातर्फ विवाहपूर्व अचेल थपिएको मेहेन्दी उत्सव र हल्दी । त्यसपछि मूल विवाहोत्सव । पार्टी प्यालेसमा विवाह । विवाहमा साजसज्जा र प्लेट सिस्टमको भोज । स्तरअनुसारको गोडधुवा । वार्षिक एनिभर्सरी । रजत एनिभर्सरी । स्वर्ण तथा हीरक एनिभर्सरी । वर्षैपिच्छेका बर्थ डे । अन्त्यतिर चौरासी पूजा, अन्त्यमा मृत्यु । त्यसपछि मृत्यु संस्कार । यी हुन् इहलोकका कर्मकाण्ड । परलोकको खर्चपर्चको व्यवस्था पनि यी यस्तै कर्मकाण्डमार्फत दान दातव्य गरेर जोहो गर्नुपर्ने हुन्छ । नाममा केही फरक पर्ला, पद्धतिमा केही फरक होला, नेपालका सम्पूर्ण जातजातिको संस्कारका लागि गर्ने कर्मकाण्ड यिनै हुन् ।

संस्कार र संस्कृतिका द्योतक चाडपर्वहरुका लागि नेपाल धनी छ । दशैँतिहार, वडादशैँ र सानो दशैँ चैते दशैँ । तिहारमा लक्ष्मीपूजा । म्हः पूजा । भाइटीका । ल्होसार १, २, ३ । क्रिसमस डे । माघी । महाशिवरात्री । होली । इद । बकरिद । कुमारी पूजा । छोरीलाई गुफा राख्ने । बुद्ध पूर्णिमा । भगवान विष्णु सुत्ने एकादशी र उठ्ने एकादशी । साउने संक्रान्ति । नाग पञ्चमी । कुशे औंसी । बुवाको मुख हेर्ने र आमाको मुख हेर्ने । गुरु पूर्णिमा । रक्षा बन्धन, जनै पूर्णिमा । कृष्ण जन्माष्टमी । हरितालिका तीज । महिलाहरुको सप्तऋषि पूजा पञ्चमी इत्यादि । वर्षाबास । यिनमा दशैँ र तिहारको आयतन सम्पूर्ण नेपालको आयतन हो ।

त्यस्तै नेपालको सुदूरपश्चिम क्षेत्रमा देउडा पर्व प्रसिद्ध छ । मधेश प्रदेशमा छठ पर्व त्यत्तिकै महत्वका साथ मनाइन्छ । यी दुवै पर्वले बसाइसराइ तथा सञ्चारमाध्यमका कारण राष्ट्रिय रुप धारण गरिसकेका छन् । त्यस्तै कुलायन पूजा सम्पूर्ण जातजातिले आ–आफ्नो किसिमले मनाउँछन् । यिनले पनि आफ्नो दायरामा चाडपर्वको रुप धारण गरिसकेको छ । केन्द्र र क्षेत्रभन्दा तल स्थानीयस्तरमा ससानो समुदायमा मनाइने पर्व थुप्रै छन्, तिनको यकिन गर्न गाह्रो छ । यहाँ यी चाडपर्वको नाम उल्लेख गर्नुको प्रयोजन हो- नेपाल पर्व र यसमा अन्तर्निहित संस्कार र संस्कृतिको हिसाबमा निकै धनी छ । यो धन नेपालको अमूल्य वैभव हो ।

यो लेखमा उल्लिखित पर्वहरुको सांस्कृतिक वैभवको बिशद चर्चा गर्न खोजिएको छैन । एउटा सानो लेखमा यो सम्भव पनि छैन । बरु यसमा हाम्रा पर्वमा अन्तर्निहित सांस्कृतिक निष्ठाको झल्को दिन खोजिएको छ ।

सम्पूर्ण मानव जातिको अनि त्यसैभित्र हाम्रो संस्कृतिको आदर्श हो-

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामयाः
सर्वे भद्राणि बश्यन्तु मा कश्चित् दुःखभाग् जनः ।

त्यस्तै हाम्रो आदर्श हो-

तमसोमा ज्योतिर्गमय !

तर, यसको ठीक उल्टो भैरहेको छ । बर्थ डे/जन्मोत्सव मनाउँदा बत्ती बालेर मनाउनुपर्नेमा बत्ती निभाएर मनाइन्छ । यो कुरा सानो कुरा होइन । हाम्रो आदर्शमा निर्मम बञ्चरो प्रहार हो ।

सम्पूर्ण धर्महरुको साझा अभीष्ट सेवा नै हो, कल्याण हो र शान्ति हो । एउटै शब्दमा परोपकार हो । मात्र सहिष्णुताको खाँचो छ । यो हामीकहाँ विद्यमान छ । मात्र यसलाई बरकरार राख्न जरुरी छ ।

दशैँ भन्छ- असत्यमाथि सत्यको जय । तिहार भन्छ- दीपावली । तिहारमा भाइटीका लगाएपछि दिदीबहिनी हाम्रा दाइभाइका शत्रु नाश होऊन् भन्ने कामनासहित घजम्म ओखर फोर्छन् । धर्मात्मा र पापात्माको दण्ड पुरस्कारको व्यवस्था गर्ने जिम्मेवारी पाएका यमराज पनि अनिष्ट निरोधक, भगिनीबात्सल्य लिन बहिनी यमुनासँग टीका थाप्न जान्छन् ।

चण्डी पूर्णिमा अथवा बुद्ध जयन्तीमा बुद्धको दिव्य सन्देश हो- अहिंसा, दया, करुणा र शान्ति । सारमा भवतु सब्व मंगलम् । ल्होसारहरु १, २, ३ । म्हः पूजा तथा शरीर पूजा । सबैको आदर्श हो- भवतु सब्व मंगलम् । बौद्ध संस्कृतिमा वर्षावासको विशेष महत्व छ । वर्षावासमा वर्षा ऋतुको तीन महिना एकान्त ठाउँमा प्रकृतिसित वास बस्ने हो । त्यस अवसरमा बौद्ध भिक्षुहरु छिमेकमा हुने गृहस्थसँग भिक्षाटन गरी संक्षिप्त रुपमा सात्विक भोजन गर्छन् ।

मुसलमानहरुको मोहर्रममा एक महिना कडा उपवासको नियम छ । यसमा सूर्योदय हुनुभन्दा पहिल्यै अन्नपानी जे खानुपर्छ खाइ सूर्यास्त नहुँदासम्म पानी पनि नखाएर उपवास बस्नुपर्छ । सूर्यास्तपछि मात्र सामान्य भोजन हुनसक्छ । आफ्ना आराध्यदेवको नाममा मुसलमानहरुले गर्ने यो उपासना सबभन्दा कठोर मानिन्छ । हिन्दू धर्ममा उपासनाको त्यत्तिकै महत्व छ । मुस्लिम धर्ममा पनि उपासनालाई महत्व दिएको देखियो । बौद्ध धर्ममा उपासना नै तपस्याको मूल आधार हो । हिन्दू, इस्लाम र बौद्ध धर्मावलम्बीहरु सांस्कृतिक रुपमा यस प्रसंगमा एकदमै नजिक रहेर अगाडि बढेको पाइन्छ । हिन्दू धर्मशास्त्रीहरुले त बुद्धलाई आफ्ना परमेश्वरको नवौं अवतार नै मानेका छन् ।

जस्तैः

मत्स्य, कुर्म, बराहश्च नारसिंहश्च बामनः ।
रामो रामश्च कृष्णश्च बुद्धकल्की तथैवच ।

यहाँ एउटा स्थानीय प्रसंगको चर्चा गरौं- यो प्रसँग एउटा तथ्यगत प्रसंग हो । यस पंक्तिकारको जन्म ठाउँ चिदिका ठूलाखर्क हो । यो ठाउँ अर्घाखाँची जिल्लामा पर्छ । चिदिका पहिला गाउँ पञ्चायत थियो । पछि गाउँ विकास समिति बन्यो । त्यसपछि छत्रदेव गाउँपालिकाको १ नम्बर वडा बन्यो । त्यहाँ म्यालटुप्पा भन्ने गाउँ छ । अलि माथि पहिल्यै बल्कोट गाविसमा पर्ने अर्बुन गाउँ छ । ती दुवै मुसलमान बस्ती भएका सुन्दर गाउँ हुन् । ती गाउँमा मुसलमान अर्को शब्दमा मियाँहरु र छरछिमेकका हिन्दूहरु आपसमा भाइभाइ बनेर बसेका छन् ।

ती दुई मुस्लिम गाउँ र छिमेकका अरु हिन्दू गाउँहरु वास्तवमा अद्वितीय नमुना नै बनेर रहेका छन् । त्यहाँका मियाँहरु त्यहाँका बाहुन, क्षेत्री, दमै, कुमाल आदि हिन्दूहरु जस्तैः खेतीपाती त गर्छन्, अलिकति व्यापारमा पनि रमाउँछन् । त्यहाँ आपसमा ऋण, धन, सरसापट, ऐंचोपैंचो, जन्ती-मलामी, सबै सुमधुर सम्बन्धका साथ चल्छ । मियाँहरु दशैँको फूलपातीमा सामेल हुन्छन् । सरायँ हेर्छन् । यहाँसम्म कि मियाँहरुले हिन्दूहरुले नजोत्ने भनेर औंसी पूर्णिमा हलो जोतेनन् । दशैँमा हिन्दूहरुको कोटमा परेवा उडाए । तीजमा दर खाए । डाँडामा गएर गीत गाउँदै तीजको नाच नाचे । मान्नुपर्छ यो समझदारीलाई ।

विदेशबाट रेमिट्यान्ससित बत्ती निभाएर बर्थ डे मनाउने प्रचलन आयो । बत्ती बालेर उज्यालोतिर जाने संस्कारलाई विस्थापित गर्दै अँध्यारो गन्तव्यलाई रोजिएको छ । मृत्यु संस्कारको किरिया कर्मवाला कर्मकाण्ड अत्यन्तै कठोर र महँगो बनाइएको छ ।

त्यस्तै मियाँहरुको मोहर्रममा हाइदोस हेर्न हिन्दूहरु म्यालटुप्पाको मस्जिदमा जान्छन् । कुनै अनिष्ट भैरहेको जस्तो लागेमा हिन्दूहरु मस्जिदमा ताजिया चढाउने र चिनी चढाउने गर्छन् । बकरिदमा मियाँहरुले बोकाको कुर्बानी दिने चलन छ । कुर्बानीको प्रसाद हिन्दू मित्रहरुलाई पनि बाँड्छन् । एउटी रेउली भन्ने मियाँ आमै मेरी आमाकी साथी थिइन् । तिनी आफैं हरेक वर्ष बकर इदको प्रसाद लिएर हामीकहाँ आउँथिन् । यस्तै दशैँतिहारको रोटी, प्रसाद मियाँहरुको घरमा हिन्दूहरु सप्रेम पठाउँछन् । सेल, फिनी, अर्सा आदि रोटीहरु शिष्टाचारको रुपमा बाँडीचुँडी खाइन्छ । अहिले बसाइसराइको कारणले यो काम अलि पातलो अवश्य भएको छ ।

यहाँ उल्लिखित धेरैजसो चाडपर्व ज्ञानबर्द्धकभन्दा फलको बढी अपेक्षा गर्ने खालका छन् । ज्ञानबर्द्धक चाडपर्व पनि कति छन् कति ! हिन्दू धर्मशास्त्रमा भागवत महापुराणलगायतका अठार पुराण कथा यज्ञ, श्रीमदभागवत गीता, स्वस्थानी ब्रतकथा, सत्यनारायण पूजा, लाखबत्ती प्रज्ज्वलन, रुद्राभिषेक, रामलीला, महाभारत कथालगायतका थुप्रै ज्ञान पर्वहरु हामीकहाँ प्रशस्त छन् । यी सबै ज्ञानको मूल आधार चार वेद हुन् ।

बुद्ध धर्मको अभीष्ट नैतिक शिक्षा हो । यसका लागि त्रिपिटक तथा महात्रिपिटक पाठ, धर्मदेशना (जातक कथाहरु) जस्ता नीति ग्रन्थहरुबाट निर्देश प्राप्त गरिन्छ । यहाँ रागात्मक अभीष्टलाई ठाउँ छैन ।

बाइबल क्रिश्चियन धर्मावलम्बीहरुको धर्मग्रन्थ हो । यसलाई परमेश्वर येशुक्रिष्टको वाणी भनिन्छ । क्रिश्चियन धर्मावलम्बीहरु मानव सेवालाई नै धर्म मान्छन् । उनीहरु भन्छन्- ‘जुन मानिसले शत्रुलाई माया गर्न सक्दैन, त्यसले मानव सेवा गर्न सक्दैन ।’

इस्लाम धर्मका अनुयायी हुन् मुसलमान । यिनको धर्मग्रन्थ कुरान हो । यसमा जोसुकैलाई ठग्नु, चोर्नु, सताउनु, पिट्नु, मार्नु, दुःख दिनु जस्ता परपीडालाई पाप भनिएको छ र जोसुकैको उपकार गर्नुलाई धर्म मानिएको छ ।

भनेपछि सम्पूर्ण धर्महरुको साझा अभीष्ट सेवा नै हो, कल्याण हो र शान्ति हो । एउटै शब्दमा परोपकार हो । मात्र सहिष्णुताको खाँचो छ । यो हामीकहाँ विद्यमान छ । मात्र यसलाई बरकरार राख्न जरुरी छ ।

विभिन्न जातजाति, भिन्न संस्कार र संस्कृतिका फूलहरु फुल्ने फूलबारी हो नेपाल । विविधतामा एकता र समन्वयको नेपाली धरातलमा फक्रेका विभिन्न चाडपर्वहरुको अन्तर्निहित निर्देशन छ- नेपालीहरु, तिमीहरुकहाँ सांस्कृतिक एवं धार्मिक सहिष्णुताको अनमोल निधि छ, यसलाई सुदृढ गर्दै जोगाइराख । यसैमा तिम्रो सुन्दर भविष्य निहित छ ।

नेपालमा चाडपर्व मनाउने सन्दर्भमा वर्तमानमा जुन स्वरुप बनेको छ, यसमा अलिकति टिप्पणी गर्नुपर्ने भएको छ । चाडपर्व मनाउँदा त्यसमा सर्वप्रथम सत्व गुणको अपेक्षा रहन्छ । त्यसपछि अपेक्षित सद्भावका लागि निष्ठाको प्रयोजन हुन्छ । यो पक्ष अहिले गौण हुँदै गएको छ र आडम्बरले मुख्य रुप लिएको छ । चाडपर्व फेशन बनेका छन् । सत्व र सात्विकता समाप्तप्रायः भइ रजोगुण र तमोगुणको दबदबा चलेको छ । यसको कारण ज्ञानपर्वहरु गौण हुँदै जानु हो । धर्म, दर्शन, नीति तथा अध्यात्म ज्ञानको प्रसारण गर्ने कथा प्रवचनपरक पर्वहरुको कञ्जुस्याइँले चाडपर्वहरुको सैद्धान्तिक धरातल कमजोर भएको छ र चाडपर्वमा अपेक्षित सत्वगुण निरीह भएको छ ।

अहिले धर्मकर्मको सम्पूर्ण कर्मकाण्डलाई बजारीकरण गरिएको छ । सामान्य जन्म र मृत्युका संस्कार कर्मदेखि ठूल्ठूला महायज्ञसम्म ठूलो जमघट जुटाएर ‘इज्जत’ बनाउने काम प्रतिस्पर्धात्मक भैरहेको छ । ‘इज्जत शो’ मा नेता, कार्यकर्ता, सरकारी हाकिम, शिक्षक, प्रशिक्षक, उद्योगी व्यापारी, मान्नेगुन्ने, भद्र भलाद्मी सम्पूर्णको उपस्थिति वाञ्छनीय हुन्छ । निम्तालुहरुलाई भ्याइनभ्याइ छ ।

यसैको कारण हो- ग्रहपूजा/ग्रह काट्ने पूजा खुब गरिन्छ । यो काम ग्रहले गर्ने अनिष्टको भयले गरिन्छ । ग्रह पूजामा कालो कपडा, मास, फलाम जस्ता दानको बढी प्रयोजन देखाइएको छ । अहिले कुलायन पूजा एकदमै तामझामका साथ गरिन थालेको छ । यसमा शास्त्र निर्देशित भनेर पशुबलिको प्रचलन धेरैमा छ । यद्यपि यो कुरा प्रतीकात्मक हुनुपर्ने होला । तर, अहिले यसलाई पशुबलिकै रुपमा व्यापक बनाइएको छ । मांसाहारको प्रयोजनमा यसको दबदबा बढेको हो । दान यज्ञहरु शान यज्ञमा परिणत भएका छन् । विवाह- चारपाँच वटा छन् । एक- जनै सुपारी । दुई- मेहेन्दी । तीन- हल्दी । चार- कन्यादान तथा सिन्दूरवाला मूल विवाह । ग्रान्डभोज । दहेजमा शान ।

न्वारनदेखि भातख्वाइसम्मको कर्मकाण्डमा पूजा कर्मभन्दा भोजलाई बढी महत्व दिन थालिएको छ । विदेशबाट रेमिट्यान्ससित बत्ती निभाएर बर्थ डे मनाउने प्रचलन आयो । बत्ती बालेर उज्यालोतिर जाने संस्कारलाई विस्थापित गर्दै अँध्यारो गन्तव्यलाई रोजिएको छ । मृत्यु संस्कारको किरिया कर्मवाला कर्मकाण्ड अत्यन्तै कठोर र महँगो बनाइएको छ ।

अहिलेको अवस्था भनेको एउटा कालखण्डमा परम्परागत आजा पूजा, पितृ कार्य, देव कार्य, कथा प्रवचन जस्ता धर्मकर्मलाई अन्धविश्वास भनी बहिष्कार गर्नेहरुले पनि मसक्कै स्वीकार गरी अवलम्बन गरेको अवस्था हो । बहिष्कार गर्नेहरुले सहसा अवलम्बन मात्र गरेका छैनन्, धेरैजसो त एकदमै कर्मकाण्डी पो बनेका छन् । तिनको छाँटकाँट हेर्दा तिनको निष्ठा कतै अन्धनिष्ठा त छैन जस्तो पनि लाग्छ । कतै प्रायःश्चित्त त गरेका छैनन् जस्तो पनि लाग्छ ।

अहिले बजारीकरणको टड्कारो अवस्था छ । अहिले धर्मकर्मको सम्पूर्ण कर्मकाण्डलाई बजारीकरण गरिएको छ । सामान्य जन्म र मृत्युका संस्कार कर्मदेखि ठूल्ठूला महायज्ञसम्म ठूलो जमघट जुटाएर ‘इज्जत’ बनाउने काम प्रतिस्पर्धात्मक भैरहेको छ । ‘इज्जत शो’ मा नेता, कार्यकर्ता, सरकारी हाकिम, शिक्षक, प्रशिक्षक, उद्योगी व्यापारी, मान्नेगुन्ने, भद्र भलाद्मी सम्पूर्णको उपस्थिति वाञ्छनीय हुन्छ । निम्तालुहरुलाई भ्याइनभ्याइ छ । नेतालाई देशको बारेमा गम्भीर भएर सोच्ने फुर्सद छैन । भोट चाहिने नेतालाई भने निम्ता मान्दामान्दै थुप्रै जनासित एउटै घरदैलो हुने अवसर बनेको छ । हाकिमहरुलाई अड्डामा बसेर जनसाधारणको काम गर्ने समय पुग्दैन । शिक्षक, प्रशिक्षक स्कुल–कलेजमा उपस्थित हुन भ्याउन्नन् । उद्योगी र व्यापारीलाई पनि कारोबारमा अलिकति दख्खल पर्छ । मान्यजन, भद्रभलाद्मीलाई फरक नपर्ला । यहाँ भन्न खोजिएको कुरा के हो भने उल्लिखित जनशक्ति आफ्नो क्षेत्रमा यसरी अनुत्पादक हुन गएको छ । श्रम गर्ने बलियो जनशक्ति यहाँ छैन । अरबतिर गएको छ । भनेपछि के भैरहेको छ, आफैं कल्पना गरौं ।

उत्पादन र उत्पादकत्व जे छ, त्यो चाहिं वस्तुतः कर्मकाण्ड हो । यो नभै कुनै पनि धर्मकार्य, यज्ञयाज्ञादि सम्भव छैन । यस अर्थमा कृषि, शिक्षा, उद्योग, व्यवसाय तथा व्यापारको उत्पादकत्व नै धर्म, संस्कार, संस्कृति र राजनीतिसमेतको मूल आधार हो । तर, बौद्धिक र शारीरिक दुवै श्रम शक्तिलाई यसरी निरस्त्र बनाएर विस्थापित गर्दा अधोगतिबाहेक केही हात लाग्नेछैन । दुःखका साथ भन्नुपर्छ- उत्पादन र उत्पादकत्वको यस्तो प्रतिकूल अवस्थामा धर्म र संस्कृतिमा अन्तर्निहित पारस्परिक सद्भाव, सबैको सुख, सबैको कल्याण, सबै सबैका लागि भन्ने हाम्रो धर्मनिष्ठा स्वतः क्षीण हुँदै जाने हुन्छ । एउटा यज्ञ लगाउने, यसबाट यति अर्थ संकलन गर्ने भनेर बजेट बनाउने, उपनयन होस् वा विवाह होस्, प्रशस्त जिन्सी, नगदी उपहार संकलन गर्दै इज्जत पनि संकलन गर्ने जस्ता घाटानाफाका व्यापारले हाम्रो उच्च संस्कृतिको उच्च आदर्शमा आँच आउँछ आउँछ । आफ्नो संस्कृतिको आँतमै आँच आउने कुरा सामान्य हुन सक्दैन । यसमा सबै सम्बद्ध पक्ष अत्यन्तै गम्भीर हुन जरुरी छ ।


प्रतिक्रिया

One thought on “बजारीकरणले सांस्कृतिक निष्ठामा आँच !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर