पक्राउपछि विमानस्थलबाट महराको प्रधानमन्त्रीलाई फोन, विप्लवसँग जम्काभेट – Nepal Press

पक्राउपछि विमानस्थलबाट महराको प्रधानमन्त्रीलाई फोन, विप्लवसँग जम्काभेट

रुपन्देही । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महरा सोमबार पक्राउ परे । उनलाई बर्दघाटबाट पिछा गरेको प्रहरीले कपिलवस्तुको पकडी पुगेर पक्राउ गरेको हो ।

महरालाई रुपन्देही छिरेर गाडी फेरेर जान निकटस्थले दिएको सल्लाह नमानीकन महरा रातो गाडीमा गन्तव्यमा हिँडेका थिए । प्रहरीले रुपन्देहीमै उनलाई पक्राउ गर्न खोजे पनि ब्यारियरमा नरोकी गाडी हुइँक्याइएको थियो । तर पछि ब्यारियर नै रोकेर समातिएको हो ।

पक्राउपछि रुपन्देही प्रहरीको गाडीमा राखेर एयरपोर्ट ल्याइएको प्रहरी स्रोतले बताएको छ । ९ बजे उड्ने यति एयरलाइन्समा उनलाई काठमाडौं फर्काउन खोजिएको थियो । तर, जहाज डिले भयो ।

भैरहवा विमानस्थल पुगेपछि पूर्वमाओवादी नेता नेत्रविक्रम चन्द विप्लवसँग उनको जम्काभेट भयो । सोही समयमा महराले प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि मोबाइलमा कुरा गरेका थिए । प्रचण्डले ‘आउनुहोस्, प्रहरीले समातेपछि यही बसेर कुरा गरौला, अब रोक्ने कुरा भएन’ भनेको स्रोतले जनाएको छ ।

सुन तस्करी सम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरु गरेका थिए । गृहमन्त्री रवि लामिछानेले जाँचबुझ आयोगको प्रतिवेदन पढेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । त्यसको भोलिपल्ट प्रधानमन्त्री दाहाललाई प्रतिवेदन बुझाएका थिए ।

प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री लामिछानेले माओवादी उपाध्यक्ष महराका विषयमा पनि कुराकानी गरेको स्रोतले जनाएको छ ।

त्यसपछि महरा भाग्न खोजेका थिए । उनले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो । त्यसपछि प्रहरीले कडाइ गरेको थियो ।

स्रोतका अनुसार महरा भारततर्फ जानको लागि तयारी गरेका थिए । यो सूचना पाएको प्रहरीले नाकामा कडाइ गरिरहेको चाल पाएपछि महरा अर्को बाटोबाट लागेका हुनसक्ने अनुमान गरिएको छ । राजमार्ग छाडेर हुलाकी मार्ग प्रयोग गरेकाले यो सम्भावना बलियो रहेको प्रहरी अधिकृत बताउँछन् ।

विद्युतीय चुरोट (भेप) मा सुन तस्करी गरेर ल्याएको आरोपमा महराका छोरा राहुल विरुद्ध मुद्दा चलिरहेको छ । राहुलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा समातिएको सुन छुटाउन दबाब दिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले जिल्ला अदालत, काठमाडौंमा दर्ता गरेको अभियोग पत्रमा उल्लेख छ ।

सुन तस्करीमा संलग्न व्यक्तिसँग माओवादी नेता महराको बारम्बार टेलिफोन संवाद भएको अनुसन्धानमा देखिएको थियो । त्यसका आधारमा सीआईबीले अनुसन्धान अगाडि बढाएको थियो । तर राहुलमाथि मुद्दा दर्ता गरिएको भए पनि महरालाई उन्मुक्ति दिइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर