माघ मसान्तसम्म बैंकहरुले दिए ३ खर्ब ५ अर्बभन्दा बढी आवासीय घर कर्जा – Nepal Press

माघ मसान्तसम्म बैंकहरुले दिए ३ खर्ब ५ अर्बभन्दा बढी आवासीय घर कर्जा

काठमाडौं । वाणिज्य बैंकहरुले चालू आर्थिक वर्षको माघ मसान्तसम्म ३ खर्ब रुपैयाँभन्दा बढी आवासीय घर कर्जा प्रवाह गरेका छन् । आवासीय घर कर्जा प्रवाहको रेसियो वर्सेनि बढेको छ ।

चालू आर्थिक वर्षको मौद्रिक नीतिले २ करोडसम्म आवासीय घरकर्जा पाउने व्यवस्था गरेको छ । यसअघिको सीमा १ करोड ५० लाख रुपैयाँमात्रै थियो । ५० लाख रुपैयाँ बढाएर आवासीय घरकर्जा २ करोडसम्म बनाइएको हो ।

आवासीय घरकर्जा प्रवाहमा एनआईसी एसिया बैंक आक्रामक देखिएको छ । चालू आर्थिक वर्षको सात महिनासम्ममा एनआईसीले ६१ अर्ब ५२ करोड रुपैयाँ प्रवाह गरेको छ ।

यस्तै ग्लोबल आईएमई बैंकले ५७ अर्ब ३५ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । सरकारको स्वामित्व भएको राष्ट्रिय वाणिज्य बैंकले २२ अर्ब कर्जा प्रवाह गरेको छ ।
यता क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले ३ खर्ब ८० अर्ब ९५ करोड रुपैयाँ आवासीय घर कर्जा प्रवाह गरेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

यता बैंकहरुले फागुनसम्म २ खर्ब १३ अर्ब ३६ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् । तर, वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले गरी कुल २ खर्ब ४८ अर्ब ७४ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेका छन् ।

कुन बैंकको कति आवासिय घर कर्जा ?

दुई सरकारी बैंक सुनचाँदी धितो राखी कर्जा प्रवाह गर्नेमा अगाडि

वाणिज्य बैंकले सुनचाँदी धितो राखेर माघसम्म ४८ अर्ब ५२ करोड ३० लाख ऋण प्रवाह गरेका छन् । यस्तो धितोमा कर्जा प्रवाह गर्नेमा दुई सरकारी बैंक अगाडि छन् । नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकले सुनचाँदी धितोको कर्जा सबैभन्दा बढी प्रवाह गरेका छन् ।

ग्लोबल आईएमई, एभरेष्ट, नेपाल एसबीआई, हिमालयन, स्ट्याण्डर्ड चार्टड बैंकले भने सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका छैनन् । बाँकी १५ वटा बैंकले सुनचाँँदी धितोमा कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल बैंकले १९ अर्ब ३९ करोड, राष्ट्रिय वाणिज्य बैंकले १८ अर्ब ९९ करोड र प्राइमले ६ अर्ब ४४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । एनएमबी बैंकले भने यस्तो धितोको कर्जा सबैभन्दा कम प्रवाह ६ लाख ९० हजार रुपैयाँमात्रै प्रवाह गरेको छ ।

क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुले हालसम्म विभिन्न शीर्षकमा ५० खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा २० वटा वाणिज्य बैंकले मात्र ४५ खर्ब १ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यद्यपि पछिल्लो समय कर्जा प्रवाह केही सुस्त देखिएको छ । निक्षेप बैंकहरुमा थुप्रिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर