सामुदायिक वनलाई निजी जग्गा भन्दै वन फडानी : वन अधिकृतसहित २४ जनामाथि मुद्दा दायर – Nepal Press

सामुदायिक वनलाई निजी जग्गा भन्दै वन फडानी : वन अधिकृतसहित २४ जनामाथि मुद्दा दायर

जनकपुरधाम । डिभिजन वन कार्यालय जलेश्वर, महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत हेमन्त प्रसाद साहसहित २४ जनामाथि अख्तियार दुरुपयोग आयोगले आरोप पत्र दायर गरेको छ ।

आयोगले आज तत्कालीन डिभिजन वन अधिकृत साहसहित २४ जनामाथि जनही ११ लाख ९६ हजार ६९५ रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो ।

बर्दिबास नगरपालिका १ का केहि व्यक्तिको समूहले दर्तावाला जग्गाका रुखहरु भनी रम्तेलडाँडा सामुदायिक वनका सखुवा, सिसौ, भिक्स र टिक जातका ठूला रुख बिरुवा जथाभाबी कटान गरी जग्गा कब्जा गरेको आरोपको ठहर छ ।

उक्त वनको रुख कटान गर्न वडा कार्यालयले सिफारिस दिएको तथा वन कार्यालयले वन फडानी गर्न आदेश दिएको आयोगले गरेको अनुसन्धानबाट खुलेको छ ।

स्थानीय लीलामनी आचार्य र कृष्णप्रसाद गौतमको संयुक्त नाममा दर्ता कायम रहेको साविक २५ नं. बहादुरगञ्ज ३ (क)को कित्ता नम्बर २ को १ बिघा २ कट्ठा ११ धुर जग्गा निजी रहेको भनी मिलेमतोमा गलत सिफारिस तथा प्रतिवेदनको आधारमा व्यक्तिलाई लाख हुने गरी सामुदायिक रम्तेलडाँडा वनको ४०६ रुख कटान गरेको आयोगले जनाएको छ ।

आयोगले तत्कालीन सहायक वन अधिकृत वेचन ठाकुर, वन अधिकृत लक्ष्मण प्रसाद यादव, फरेष्टर सन्तोष कुमार साह, वन रक्षकहरू राज किशोर झा, अजय कुमार यादव, राकेश कुमार यादव, नारायण ढुंगेल र दिलीप महतोमाथि पनि आरोप पत्र दायर भएको छ ।

यस्तै नापी कार्यालय बर्दिबासका तत्कालीन अमिन राम दरश राउत, तत्कालीन नासु ओम प्रकाश खड्का, वडा नम्बर १ का तत्कालीन वडाध्यक्ष चूडामणि पोखरेल, वडा सदस्य शान्ता देवी श्रेष्ठ, सामुदायिक वन उपभोक्ता समितिका तत्कालीन अध्यक्ष शेर बहादुर राउत, उपाध्यक्ष उमादेवी बुढाथोकी, कोषाध्यक्ष प्रेमबहादुर थापा, सचिव धन कुमारी मगर र सदस्यहरूमाथि पनि आरोप पत्र दायर गरिएको छ ।

नक्कली जग्गाधनी बनेका लीलामणि आचार्य र कृष्ण प्रसाद गौतम तथा मतियारको भूमिका खेलेका सिन्धुलीको सुनकोशी गाउँपालिका ४का रुख कटान गर्ने ठेकेदार सन्दीप नेपालीमाथि पनि आरोप पत्र दायर गरिएको आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर