अफगानिस्तान : सडक दुर्घटनामा २१ जनाको मृत्यु, ३८ घाइते – Nepal Press

अफगानिस्तान : सडक दुर्घटनामा २१ जनाको मृत्यु, ३८ घाइते

काबुल । अफगानिस्तानको दक्षिणी हेल्मान्ड प्रान्तमा आइतबार एउटा बस र तेल ट्याङ्कर एक आपसमा ठोक्किँदा २१ जनाको मृत्यु हुनाका साथै ३८ जना घाइते भएका प्रान्तीय अधिकारीले बताएका छन् ।

हेरात शहरबाट राजधानी काबुलतर्फ जाँदै गरेको यात्रुवाहक बस दुई जना सवार मोटरसाइकलसँग ठोक्किँदा दुवै जनाको मृत्यु भएको हेलमान्डस्थित ट्राफिक प्रहरी स्रोतले जानकारी दिएको छ ।

त्यसैगरी, दक्षिणी शहर कान्दाहारबाट हेराततर्फ जाँदै गरेको तेल ट्याङ्करसँग बस ठोक्किँदा दुवै सवारी साधनको गति अनियन्त्रित भई दुर्घटना हुन पुगेको हो ।

अफगानिस्तानमा खराब सडक, चालकको लापरबाही र सडक कानुनको नियमनको कमीका कारण वर्षेनी हजारौँ मानिसले ज्यान गुमाउने गरेका छन् ।

प्रान्तीय सूचना विभागले सामाजिक सञ्जाल ‘एक्स’ मा पोष्ट गरेको विज्ञप्तिमा भनिएको छ, ‘आइतबार बिहान एउटा ट्याङ्कर, मोटरसाइकल र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ भने ३८ जना घाइते भएका छन् ।”

हेल्मान्ड प्रान्तको ग्रिस्क जिल्लामा हेरात–कान्दाहार राजमार्गमा उक्त दुर्घटना भएको हो ।

हेलमान्डको गभर्नर कार्यालयका प्रवक्ता मोहम्मद कासिम रियाजले एएफपीलाई बताएअनुसार उक्त दुर्घटनाका कारण ती सवारी साधनहरू जलेका थिए ।

सूचना विभागले सामाजिक सञ्जालमा साझा गरेको तस्बिरमा राजमार्गमा छरिएर रहेका मृतक र जलेका गाडीका अवशेष देख्न सकिन्छ ।

अधिकारीका अनुसार अहिले उद्धार तथा सफाइकर्मीहरूलाई भग्नावशेष हटाउने काममा लगाइएको छ ।

घाइतेमध्ये ११ जना गम्भीर घाइते भएका छन् भने २७ जना सामान्य घाइते भएका छन् ।

सन् २०२२ डिसेम्बरमा अफगानिस्तानको उच्च पहाडी क्षेत्र ‘सलाङ पास’ मा तेल ट्याङ्कर पल्टिएर आगलागी हुँदा ३१ जनाको मृत्यु हुनाका साथै दर्जनौँ घाइते भएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर