के हो कैलाश सिरोहियाको नागरिकता विवाद ? कसरी मिल्यो शिवशंकर साहुको नम्बर ? – Nepal Press

के हो कैलाश सिरोहियाको नागरिकता विवाद ? कसरी मिल्यो शिवशंकर साहुको नम्बर ?

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको भन्दै जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको छ । उता सिरोहियाले सो उजुरीबारे समाचार आएलगत्तै खण्डन गरेर आवश्यक परे अनुसन्धान गर्न वक्तव्यमार्फत नै चुनौती दिइसकेका छन् ।

नेपाली सञ्चार उद्योगका प्रतिष्ठित व्यक्ति सिरोहियाको नागरिकता नै कीर्ते भएको आरोप कसरी लाग्यो ? यतिका वर्षसम्म उनले खडा गरेको व्यवसायिक प्रतिष्ठानहरुमा सरकारी कामका सिलसिलामा प्रयोग भएको नागरिकता नक्कली हो त ? यो प्रश्नसमेत उठेको छ ।

यसबारे राज्यको आधिकारिक निकायले छानबिन थालेको छैन । उजुरी परेको भने जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ । सर्लाहीका इन्द्रजीत प्रसाद महतोले दर्ता गराएको उजुरी अनुसन्धानको प्रक्रियामा जाने धनुषा प्रहरी प्रमुखले बताएका छन् ।

जुन नागरिकता प्रकरणमा सिरोहियाले वक्तव्यमार्फत स्पष्टीकरण दिएका छन्, त्यसमा मुख्य २ वटा नम्बरको विवाद छ । सिरोहियाले हिमालय रि-इन्स्योरेन्स कम्पनीको शेयर लगत लिन उद्योग विभागमा दर्ता गरेको कागजमा उनको नागरिकता नम्बर २८३९८८८६ उल्लेख छ ।

यो नम्बरमा नेपाल राज्यभित्र कुनै पनि व्यक्तिको नागरिकता प्रमाणपत्र जारी नभएको गृह मन्त्रालयका एक उच्च अधिकारीले बताए । यद्यपि त्यहाँ उल्लेखित नम्बर टाइप गर्नेले गल्ती गरेको तर ढड्डामा सक्कल नागरिकता नै पेश भएको सिरोहियाले बताएका छन् ।

नागरिकता नम्बर टाइप गर्ने बेला गल्ती भएको मान्ने हो भने अर्को नम्बरको प्रश्न उठाइएको छ । कैलाश सिरोहियाले २०३३/३४ मा धनुषा जिल्ला प्रशासन कार्यालयबाट लिएको नागरिकताको नम्बर ३९६९८८८६ रहेको देखिन्छ । उनले उक्त नागरिकताको पहिलो प्रतिलिपि २०५७ मा बनाएका थिए ।

जुन नागरिकता नम्बर सिरोहियाको छ, त्यही नम्बरको नागरिकता धनुषा जिल्ला प्रशासन कार्यालयबाटै शिवजी साहु तेलीका नाममा जारी भएको देखिन्छ । दुवै जनाको मतदाता नामावलीमा उल्लेखित नागरिकता नम्बर पनि एउटै रहेको देखिन्छ ।

एउटै नम्बरमा दुई जनाको नागरिकता प्रमाणपत्र कसरी जारी भयो ? यसबारेमा धनुषा जिल्ला प्रशासनले केही बोलेको छैन । गृह मन्त्रालयले यसबारेमा सम्बन्धित कार्यालयबाटै छानबिन हुने भन्दै औपचारिक प्रतिक्रिया दिएको छैन ।

सिरोहियाले आफूले २०३४ सालमा नागरिकता लिएपछि २०३६ मा अरु कसैका नाममा त्यही नम्बर लेखिएको भए त्यो आफ्नो जिम्मेवारीको विषय नहुने प्रस्ट पारेका छन् । जिल्ला प्रशासनको ढड्डामा उक्त नम्बरको नागरिकता शिवशंकर साहु तेलीको नाममा रहेको अवस्थामा कसरी यो प्रकरण टुंगो लाग्छ ? अहिलेको प्रश्न यो हो ।

तर, सिरोहियाले अहिले ल्याइएको नागरिकता प्रकरणको उजुरीलाई कोही कसैको स्टन्टबाजी भन्दै कान्तिपुरका समाचारबाट अत्तालिएकाहरुले यस्तो हत्कण्डा गरेको आरोपसमेत लगाएका छन् ।

यसैबीच धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले सिरोहियाको नागरिकता नम्बरका बारेमा आफूले पनि समाचारहरुबाट थाहा पाएको भन्दै विधिसम्मत उजुरी हेरेपछि मात्र त्यसको बारेमा छानबिन गरेर सत्यतथ्य के हो निर्क्योल गर्न सकिने बताए ।

यो पनि पढ्नुहोस्- कान्तिपुरका अध्यक्ष कैलाश सिरोहियाको स्पष्टीकरण- नागरिकताबारे शंका लागे अनुसन्धान गरे हुन्छ

देशको प्रतिष्ठित सञ्चार उद्यमीको नागरिकताको बारेमा उजुरी परेर प्रश्न उठेपछि गृह प्रशासनले छानबिन गरेर यथार्थ सार्वजनिक गर्नुपर्ने दबाबसमेत बढेको छ । कसैको चरित्रहत्या गर्न उठाइएको विवाद हो वा उजुरीमा सत्यता छ ? यसबारे सिरोहियाले नै अनुसन्धानका लागि आफूले स्वागत गर्ने बताइसकेकाले प्रशासनले यसबारे प्रस्ट पार्नुपर्ने देखिएको छ ।


प्रतिक्रिया

One thought on “के हो कैलाश सिरोहियाको नागरिकता विवाद ? कसरी मिल्यो शिवशंकर साहुको नम्बर ?

  1. यो सब राजनिती दल बाट वच्न खोजेको हो।जे सुकै होश एस्लाइ देश निकाला गर्नु पर्छ ।एश केश को मामिला बाट जोगाइयो भने एस्ले मेरो नेपाल र हाम्रो नेपाल लाई पुरै धोस्त बनाउछ।साथै कान्तिपुर मिडिया लाई पनि खारेज गर्नु पर्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *