डोजर लिएर बर्दघाटका मेयर खोलामा – Nepal Press

डोजर लिएर बर्दघाटका मेयर खोलामा

रूपन्देही । पश्चिमनवलपरासीको बर्दघाट नगरपालिकाले वर्षायाम सुरु हुनुअगावै खोलानाला सफाई अभियान सुरु गरेको छ । नगरका विभिन्न स्थानमा बाढी पसेर त्यसले वर्षेनि उत्पन्न गर्ने क्षति न्यूनीकरणका लागि खोला सफाई सुरु गरिएको हो ।

कतिपय स्थानमा खोला नाला अतिक्रमित भएकाले नगरप्रमुख शम्भुलाल श्रेष्ठसहित जनप्रतिनिधिहरु सफाई गर्न डोजरसहित विभिन्न स्थानमा पुगेका हुन् ।

बर्दघाट नगरपालिका वडा नं ९ र ११ को सिमाना सुनटाँडीमा डोजर चलेको छ । बर्दघाट नगरपालिकाले नगरभित्रका खोला र घोला सफाइ गर्ने क्रममा डोजर चलाइएको हो ।

बर्दघाट नगरपालिकाका नगर प्रमुख शम्भुलाल श्रेष्ठले पानीको निकाससँगै डुबानबाट हुने जोखिम हुन नदिन सफाई अभियान सुरू गरिएको बताए । ‘कतिपय स्थानमा खोलानाला अतिक्रमित भएर पानीको निकास नै छैन,सडक बनाउँदा समेत साबिकका कुला नाला र निकास पुरिएको अवस्था छ। त्यसैले यो जरूरी छ’नगरप्रमुख श्रेष्ठले भने ।

साबिकका खोला र घोलाको सफाइ गर्ने अभियान सुरु गरिएको उनले बताए । ‘बर्दघाट नगरले खोला र घोला सफाइलाई तीब्रता दिइरहेको छ । अहिले वडा नम्बर ९, ११ र ४ मा रहेका घोलाहरु आज र भोलि सफाइ गर्दैछौं ।’ श्रेष्ठले भने ।

बर्खा अगाडि नै बर्दघाटलाई डुवान बनाउने खालका घोला सफाइ गरिसक्ने गरी बर्दघाट नगरपालिका अगाडि बढेको नगर प्रमुख श्रेष्ठको भनाइ छ । खोला सफाई नभै वर्षायाममा पानीको सतह माथि आउँदा दुई वर्ष अघि बर्दघाट ४ को बाढीपीडित क्षेत्र लगायतका केही बस्ती डुबानमा परेका थिए ।

नगरबासीबाट खोला र घोलाका कारण ढुबान भएको गुनासो वर्षेनि आउने गरेको छ । बर्दघाट नगरपालिका वडा नम्बर ०९ सुनटाडीका स्थानीयले धेरै पटक घोला सफाइ नभएका कारण डुबानमा परेको गुनासो गरेपछि अहिले सुनटाडीबाट नै घोला सफाइ सुरु गरिएको वडाअध्यक्ष चन्द्रकान्त चापागाईंले बताए ।

‘मैले गतवर्षनै घोला सफाइमा लाग्न खोजेको हो । घोलाको कारणले धेरै विवाद भयो । केही साथीहरु आवेशमा पनि आउनुभयो त्यसैले गतवर्ष सफाइ गर्न सकिएन अहिले सहमति मै घोला सफाइ गरेका छौं ।’ चापागाईंले भने ।साबिकका खोला र घोलालाई सफाइ गर्दै अभियानका रुपमा अगाडि बढाइने बर्दघाट नगरपालिकाले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *