तस्कर जोगाउन सीआईबीका उच्च अधिकारी नै संलग्न, विभागीय कारबाहीको तयारीमा गृहमन्त्री – Nepal Press

तस्कर जोगाउन सीआईबीका उच्च अधिकारी नै संलग्न, विभागीय कारबाहीको तयारीमा गृहमन्त्री

काठमाडौं । सुन तस्करीसम्बन्धी अनुसन्धानमा कतिपय व्यक्ति जोगाउन पदको दुरुपयोग गरेको ठहर गर्दै छानबिन आयोगले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीकी प्रमुख एआईजी किरण बज्राचार्यलाई कारवाही सिफारिस गरेको छ ।

अनुसन्धान गर्ने ठाउँमा बसेर तस्करीमा संलग्न व्यक्तिलाई जोगाउन भूमिका खेलेको पुष्टि भएकाले विभागीय कारवाहीको सिफारिस गरेको हो । गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अध्ययन गरेपछि प्रधानमन्त्रीलाई जानकारी दिएर उनीमाथि विभागीय कारवाही अघि बढाउन लागेका छन् ।

सुन तस्करीमा संलग्न जीवन चलाउने भन्ने व्यक्तिको बयान नै च्यातेर उनलाई फरार बनाउन भूमिका खेलेको आरोप एआईजी बज्राचार्यमाथि लागेको छ । उनीसँगै सिआईबीका केही प्रहरी अधिकारीलाई पनि कारवाही सिफारिस भएको गृहमन्त्रीनिकट स्रोतले जनाएको छ ।

सुन तस्करी अनुसन्धानमा सीआईबीको भूमिकामा प्रश्न उठाउँदै तत्कालीन प्रमुख प्रतिपक्ष नेकपा एमालेले छानबिन आयोग गठनको लागि सदन अवरोध गरेर दबाब दिएको थियो । छानबिनका क्रममा सीआईबीको अनुसन्धानका क्रममा गम्भीर लापरवाही र दोषीलाई उम्काउने खेल भएको पाइएको हो ।

सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले गरेको अनुसन्धानका क्रममा ६० किलो सुन तस्करीको अनुसन्धानमा सीआईबीले गम्भीर लापरवाही गरेको उल्लेख गरेको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बताए ।

जो माथि अनुसन्धान गर्नु पर्ने हो उनीहरूलाई अनुसन्धाननै नगरी भएका प्रमाणसमेत नष्ट गर्न सीआइबीले भूमिका खेलेको देखिएको छ ।

सुन तस्करी नाइके दावा छिरिङसँग सम्बन्ध देखिएका जीवन चलाउने र चलाउनेसँग सम्बन्ध देखिएका पूर्वप्रहरी प्रमुखहरूलाई जोगाउन सीआईबीका अधिकारीहरूले प्रमाण नष्ट गरेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया

One thought on “तस्कर जोगाउन सीआईबीका उच्च अधिकारी नै संलग्न, विभागीय कारबाहीको तयारीमा गृहमन्त्री

  1. देशमा शु-शासनको व्यवस्थापन अनुसरण गर्ने हो भने यसरी नै देशका कुलंङ्गार भनाउँदा देशद्रोहीलाई कानुनी कठघरामा उभ्याउन सरकारले दुधको दुध पानीको पानी छुट्याएर कार्वाही अगाडि बढाओस् यो नै देशको लागि गौरवको बिषय अभिशाप देखिनेछ।
    हृदय देखि धन्यवादका साथ अग्रीम सफलताको शुभकामना, गृहमन्त्रालयलाई, जय स्वतन्त्र राष्ट्र !!!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर