स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोग सचिवविहीन- तीनजना रेसमा – Nepal Press

स्वास्थ्य मन्त्रालय र निर्वाचन आयोग सचिवविहीन- तीनजना रेसमा

तीन प्रदेश पनि लामो समयदेखि कामुको भरमा

काठमाडौं । लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी काठमाडौं उपत्यका बाहिर भएकाले सचिव बढुवा प्रक्रिया रोकिएको छ । अहिलेसम्म दुईजना सचिवको पद रिक्त रहेकोमा आयोगका अध्यक्षको अध्यक्षतामा बस्ने सचिव बढुवा सिफारिस समितिको बैठक बस्न नपाएका कारण सचिव बढुवा प्रक्रिया रोकिएको हो ।

आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी एक सातादेखि अफिसियल कामको सिलसिलामा बाहिर रहेको सचिव राजकुमार श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार अबको एक-दुई दिनभित्रमा नै रेग्मी फर्किने र आएपछि बढुवा सिफारिस समितिको बैठक बोलाउने गृहकार्य चलिरहेको छ ।

निर्वाचन आयोगका सचिव सूर्यप्रसाद गौतम र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या तथा प्रशासन सचिव देवकुमारी गुरागाई अनिवार्य अवकाशमा गइसकेका छन् ।

उपनिर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोग करिब एक महिनादेखि सचिवविहीन भएको छ । वरिष्ठ सहसचिव यज्ञप्रसाद भट्टराईले निमित्त सचिवको जिम्मेवारी सम्हालिरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भने स्वास्थ्य सेवाका सचिव डा. रोशन पोखरेलले नै जनसंख्या तथा प्रशासन सचिवको जिम्मेवारी सम्हालिरहेका छन् ।

कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र कोशी प्रदेशको प्रमुख सचिव पनि लामो समयदेखि रिक्त छ । बढुवाको मुखैमा पुगेका वरिष्ठ सहसचिव चुडामणि पौडेलले कामु सचिवको जिम्मेवारी सम्हाललिरहेका छन् । सुदूरपश्चिममा डा. हरि लम्साल र कोशीमा केदारनाथ शर्मा कामु प्रमुख सचिव छन् ।

बढुवा शाखाका अनुसार सचिव बढुवाका लागि वरिष्ठ सहसचिव चुणामणि पौडेल पहिलो, डा. हरि लम्साल दोस्रो र केदारनाथ शर्मा तेस्रो नम्बरमा छन् । दुई जना सचिवको पद रिक्त भइसकेकाले सम्भव त: पहिलो चरणमा पौडेल र लम्साल सचिवमा बढुवा हुनेछन् ।

चैत ११ गते श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारी अनिवार्य अवकाशमा जाँदैछन् । भण्डारी बाहिरिएसँगै शर्मा पनि सचिवमा बढुवा हुनेछन् । तर, सिफारिस समितिले बढुवाका लागि सिफारिस गरेका वरिष्ठ तीन सहसचिवमध्ये जो सुकैलाई पनि बढुवा गर्न सक्ने भएकाले अघिपछि को हुन्छ भन्ने यकिन छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर