रुसमा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली युवाले गरे प्रतिवाद, मागिन् माफी (भिडिओ) – Nepal Press

रुसमा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली युवाले गरे प्रतिवाद, मागिन् माफी (भिडिओ)

काठमाडौं । रुसमा आयोजित एक कार्यक्रममा भारतीय प्रतिनिधिले बुद्धको जन्मस्थल भारत रहेको भनेपछि नेपाली प्रतिनिधिले प्रतिवाद गरेका छन् । नेपालको प्रतिवादपछि भारतीय महिला प्रतिनिधिले माफी मागेकी छन् ।

गत मार्च ५ मा रुसको सोची शहरमा आयोजना भएको ‘वर्ल्ड युथ फेस्टिभल’मा भारतीय महिला प्रतिनिधि रिचेन ल्हामाेले बुद्ध भारतमा जन्मिएको बताएकी थिइन् । भारतीय प्रतिनिधिको भनाइपछि नेपाली युवाहरुको समूहले प्रतिवाद गरेको थियो ।

अन्तर्राष्ट्रिय स्तरको कार्यक्रममा भारतीय प्रतिनिधिले गरेको उक्त कुप्रचारले भ्रम उत्पन्न हुनुका साथै संसारभर फैलिएर रहेका बौद्ध धर्मावलम्वीहरुको आस्थामा गम्भीर चोट पुग्ने भन्दै नेपाली युवाहरुले तत्काल प्रतिवाद गरेका थिए ।

कार्यक्रममा सहभागी नेपाली प्रतिनिधि हरि ढकालले नेपाल प्रेससँग भने, ‘अन्तर्राष्ट्रिय मञ्चमा भारतका प्रतिनिधि ल्हामाेले भ्रमपूर्ण दाबी गरेपछि हामीले प्रतिवाद गरेका हौं ।’

ढकालका अनुसार भारतीय प्रतिनिधि ल्हामाेले उक्त भनाइ राख्नासाथ नेपाली युवाहरुले प्रतिवाद गरेका हुन् ।

नेपाली युवाहरुको प्रतिवादपछि भारतीय प्रतिनिधि ल्हामाेले माफी मागेको ढकालले बताए । ढकालका अनुसार नेपाली युवाहरुको प्रतिवादपछि उनले भनेकी थिइन्, ‘म आफ्नो भनाइलाई सच्याउन चाहन्छु, बुद्धको जन्म नेपालमा भएको हो, बुद्धले बुद्धत्व भने भारतमा पाएका हुन् ।’

कार्यक्रममा झण्डै १८८ देशका युवाहरुको सहभागिता रहेको थियो ।


प्रतिक्रिया

3 thoughts on “रुसमा भारतीय प्रतिनिधिले बुद्ध भारतमा जन्मिएको भनेपछि नेपाली युवाले गरे प्रतिवाद, मागिन् माफी (भिडिओ)

  1. हार्दिक बधाई तथा शुभकामना साथै सलाम छ सच्चा देशप्रेमी युवा विद्यार्थी भाईबहिनीहरूलाई, ठाउँका ठाउँ झाँको झारेकामा, धन्यवाद ।

  2. सच्चा देशभक्त भाई वहीनीहरूले गरेको प्रतिवादको लागी मनै देखी नमन । हाम्रा राजनीतिज्ञ भन्ने गोरूहरूको पनि यसरी नै प्रतिवाद गरेर धुलो चटाउने शक्ति आवोस ।

  3. भारतीयहरूले समय समषमा अन्तर्राष्ट्रिय मञ्चहरूमा यस्तै भ्रम छर्ने गरेका छन् । यस्ता भ्रम चिर्न सकेसम्म ठाउंकाे ठाउं खण्डन वा प्रतिवाद गर्नु पर्दछ । यस अर्थमा ती नेपाली भाइहरू धन्यवादका पात्र हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर