ल्होसार सकिएको एक महिनापछि सार्वजनिक बिदा दिइएकोबारे के भन्छ गृह मन्त्रालय ? – Nepal Press

ल्होसार सकिएको एक महिनापछि सार्वजनिक बिदा दिइएकोबारे के भन्छ गृह मन्त्रालय ?

काठमाडौं । शेर्पा समुदायको सांस्कृतिक पर्व ग्याल्पो ल्होसार एक महिनाअघि नै मनाइए पनि सरकारले अहिले सार्वजनिक बिदा दिएको भन्दै सामाजिक सञ्जालदेखि शेर्पा समुदायले टिप्पणी गरिरहेका छन् । यद्यपि सरकारले भने यस विषयमा आधिकारिक धारण सार्वजनिक दिइसकेको छैन ।

गृह मन्त्रालयले भने यस विषयमा आफू केही नबोल्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले ग्याल्पो ल्होसारको दिन सार्वजनिक बिदा दिने निर्णय अहिले तत्काल नभएर एक वर्षअघि नै वार्षीक क्यालेण्डर अनुसार भएको बताए ।

उनले भने, ‘यो तत्काल मन्त्रिपरिषद्को निर्णय भएर वा गृह मन्त्रालयले बिदा दिएको होइन । एक वर्ष अघि नै धेरै वर्ष पहिलेदेखि दिँदै आएको बिदालाई निरन्तरता दिइएको हो । यस अघिका वर्षमा पनि सोनाम ल्होसार र ग्याल्पो ल्होसार दुवै दिनमा बिदा दिने प्रचलन रहँदै आएको छ ।’

सोनाम ल्होसारकै दिनमा ग्याल्पो ल्होसार मनाइसकिएको भनेर शेर्पा समुदायले टिप्पणी गरिरहेका छन् नि भन्ने प्रश्नमा प्रवक्ता भट्टराईले यो विषय सरकार वा गृह मन्त्रालयको भन्दा पनि सम्बन्धित समुदायको भएको तर्क गरे ।

उनले भने, ‘यो विवाद लामो समयदेखि हुँदै आएको मैले पनि अहिले सुनिरहेको छु । सोनाम ल्होसार मान्ने समुदायले ग्याल्पो ल्होसार नमान्ने र ग्याल्पो ल्होसार मान्ने समुदायले सोनाम ल्होसार नमान्ने गरेको रहेछ र जो जुन समुदायले मनाउँछ त्यसै दिनलाई मात्रै ल्होसार हो भन्ने गरिएको छ । यो सम्बन्धित समुदायको विवाद हो । यसमा हामीले केही भन्दैनौ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर