कार्यसम्पादन मूल्यांकनमा महानगरको सूचीमा पोखरा महानगर कसरी भयो पुछारमा ? – Nepal Press

कार्यसम्पादन मूल्यांकनमा महानगरको सूचीमा पोखरा महानगर कसरी भयो पुछारमा ?

पोखरा । स्थानीय तहको कार्यसम्पादन मूल्यांकनअनुसार महानगरपालिकाको सूचीमा पोखरा महानगर पुछारमा छ । प्राकृतिक स्रोत तथा वित्त आयोगले मंगलबार सार्वजनिक गरेको कार्य सम्पादन मूल्यांकनमा पोखरा महानगर २०.७४ अंक प्राप्त गर्दै महानगरको सूचीमा पुछारमा छ । स्थानीय तहको सूचीमा भने पोखरा महानगर ६३६औँ स्थानमा छ ।

आयोगले १४ वटा सूचकलाई आधार मानेर स्थानीय तहको कार्यसम्पादन मूल्यांकन गरेको हो । त्यसमा अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य काम लगायत छन् । आधिकारिक तथ्यांक प्राप्त नभएको तथा पोर्टल सञ्चालनमा नरहेको भन्दै २४ अंकभार आयोगले मुल्यांकन समावेश गरेको छैन । आयोगले १४ वटा सूचकको ७६ अंकभारमा मुल्यांकन गरेको थियो । जसमा पोखरा महानगरले २०.७४ प्राप्त गरेको हो ।

कार्यपालिकाले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान सम्बन्धित नगर सभाबाट २०८० असार मसान्तभित्र पारित गरे नगरेको सूचकमा महानगरले ५ अंक गुमाएको छ । २०८१/८२ को आय व्यय प्रक्षेपण गरिएको तथ्यांकसहितको विवरण २०८० पुस मसान्तभित्र अर्थ मन्त्रालयमा पेस नगरेको र २०७९/८० को बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण २०८० कार्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको सूचकमा पनि थप ५/५ अंक गुमाएको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी सूचक ७ र सूचक ८ मा १५/१५ अंक भार दिइएको छ । सूचक ७ मा आर्थिक वर्ष २०७९/८० को विनियोजित रकमअनुसार खर्चको अवस्था र ८ मा लेखा परीक्षणले औँल्याएको बेरुजुको अवस्थाको मुल्यांकन गरिएको छ । दुवै सूचकको अंक महानगरले गुमाएको छ ।

स्थानीय तहले आवधिक योजना तर्जुमा नगरेको र शैक्षिक सत्र २०८० मा कक्षा १ देखि ८ सम्मको खुद विद्यार्थी भर्ना दर सूचकमा समेत महानगरले कुनै अंक पाएको छैन ।

अंक पाएको सूचीमा पनि महानगरले राम्रो अंक पाउन सकेको छैन । आव २०७९/८० मा पूर्ण खोप पाएका बालबालिकाको अनुपात सूचकमा ३ पूर्णांकमा महानगरले ०.४५ अंक पाएको छ ।

कार्य सम्पादन मुल्यांकनमा कमजोर देखिएपछि पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य कमजोरी ढाकछोप गर्नतर्फ लागे ।

वित्त आयोगले कार्यसम्पादन मुल्यांकन सार्वजनिक गरे लगत्तै मेयर आचार्यले केही समयअघि सार्वजनिक भएको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) को अंकभार सार्वजनिक गरेका थिए । जुन उक्त अंकभार स्थानीय तहले आफैले दिने अंक थियो ।

‘२०७९÷०८० मा स्थानीय तह कार्यसम्पादन (क्षमता) मूल्यांकन (लिजा)मा पोखरा महानगरपालिकाले ८५.५ अंक प्राप्त गरेको छ । सम्पूर्ण महानगर परिवारलाई हार्दिक धन्यवाद र बधाई ज्ञापन गर्दछु,’ मेयर आचार्यले लेखेका छन् ।

स्थानीय तहले कसरी काम गरिरहेका छन् भनेर त्यसको मूल्यांकन स्वयंबाट गराउने गरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन कार्यविधि, २०७७’ जारी गरेको थियो । सोही कार्यविधिअनुसार हरेक स्थानीय तहले ३ सूचक र १० विषय क्षेत्रमा रहेर आफूले स्वमुल्यांकन गर्नुपर्ने हुन्छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर २५ का वडाध्यक्ष मोतीलाल तिमिल्सिना अपलोड हुन बाँकी हुँदा कार्य सम्पादन मुल्यांकनमा कम अंक आएको जिकिर गर्छन् । उनी भन्छन्, ‘कार्य सम्पादन नै नभएको भन्ने होइन । केही कुराहरू अपलोड गर्नुपर्नेमा छुटेको रहेछ । त्यसमा चाहिँ हाम्रो कमजोरी हो । तर, महानगरमा कामै भएन भन्ने जुन कुरा आएको छ । त्यस्तो चाहिँ होइन ।’

पुनरावलोकनका लागि महानगर अगाडि बढेको तिमिल्सिनाले बताए । ‘महानगर पुनरावलोकनका लागि निवेदन दिने गरी अगाडि बढेको छ । केही कुरा अपलोड गर्न बाकी छ । त्यसलाई अपलोड गरेर अगाडि बढ्छौँ,’ उनले भने ।

कार्यसम्पादन मूल्यांकनका विषयमा पोखरा महानगरपालिका वडा नम्बर २६ का वडाध्यक्ष नरेन्द्र थापाले प्रतिवेदनको नतिजा हेरेर समग्र पोखरावासीजस्तै आफू पनि लज्जित भएको बताएका थिए । उनले सामाजिक सञ्जालमार्फत कार्यकारी बैठकको निर्णयभन्दा बाहिर गएर महानगर प्रमुखले गरेका निर्णय र कामकारबाहीका कारण यो नियति भोगिरहेको बताएका हुन् ।

‘…मैले पोखराको सु–शासन र विकासका लागि कार्यपालिकामा जति विषय उठाउन पर्ने हो त्यति उठाउन सकिन कि भन्ने पनि लाग्छ । तर, सत्य तपाईँ हामीले सोचेभन्दा फरक छ । कार्यकारी बैठकको निर्णयभन्दा बाहिर गएर पोखरा महानगरपालिका प्रमुखले गरेका निर्णय र कामकारबाहीका कारण आज पोखराले यो नियति भोगिरहेको छ,’ उनले लेखेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर