स्पोटिफाइ : नेपालीहरुले पनि बनाउन थाले राम्रो स्थान – Nepal Press

स्पोटिफाइ : नेपालीहरुले पनि बनाउन थाले राम्रो स्थान

काठमाडौं । ‘स्पोटिफाइ’ विश्वकै सबैभन्दा ठूलो म्युजिक स्ट्रिमिङ प्लेटफर्म मानिन्छ । विश्वका ९० प्रतिशत अर्थात १७८ देशमा स्पोटिफाइ प्रयोग गरिने ‘ब्याकलिङको डटकम’ को तथ्याङ्कले देखाएको छ । स्पोटिफाइ सन् २०२४ मा विश्वकै सबैभन्दा बढी प्रयोग हुने एप्लिकेशनको नवौं नम्बरमा पर्छ ।

सन् २००६ मा डेनियल एक र मार्टिन लोरेन्टजोनले ‘स्पोेटिफाइ’ आविस्कार गरेका थिए । तर, उनीहरुले सन् २००८ अक्टोबर ७ मा पहिलो पटक औपचारिक रुपमा स्पोटिफाइ सार्वजनिक गरेका थिए ।

स्न २०२४ सम्म आइपुग्दा स्पोटिफाइ ६०२ मिलियन अर्थात ६० करोड २० लाख जनाले चलाउने गरेको स्पोर्टिफाइको तथ्याङ्कले देखाउँछ । स्पोटिफाइका अनुसार १० करोडभन्दा बढी ट्रयाक, ५ करोड पडकास्ट, ३ लाख ५० हजार अडियो बुक स्पोटिफाइमा स्ट्रिम हुने गर्छन् ।

पछिल्लो समय नेपाली गायक तथा प्रतिभाहरु पनि स्पोटिफाइमा राम्रो स्थान बनाइरहेका छन् । यस्तो प्लेटफर्मबाट विश्वव्यापी रुपमा आफूलाई चिनाइरहेका पनि छन् ।

नेपालमा सन् २०२१ फेब्रुअरी २२ मा पहिलो पटक स्पोटिफाइ लन्च भएको थियो ।

कसरी प्रयोग गर्ने स्पोटिफाइ ?

स्पोटिफाइ सबैले प्रयोग गर्नसक्ने म्युजिक स्ट्रिमिङ एप्लिकेसन हो । स्पोटिफाइ मोबाइलमा हुने म्युजिक प्लेयर जस्तै हो । तर, स्पोटिफाइ अनलाइनबाट मात्रै चलाउन सकिन्छ ।

स्पोटिफाइ निःशुल्क र प्रिमियम अर्थात शुल्क तिरेर प्रयोग गर्न सकिन्छ । स्पोटिफाइमा जोसुकैले पनि गीत, ट्र्याक, पडकास्ट र अडियो बुक सुन्न सक्छन् ।

कसरी चलाउने निःशुल्क स्पोटिफाइ ?

प्रयोगकर्ताले कुनै पनि शुल्क नतिरी स्पोटिफाइ चलाउन सक्छन् । यसको लागि एप्लिकेसन डाउनलोड गर्नुपर्छ । तर, निःशुल्क प्रयोगकर्ताले गीतहरु डाउनलोड गर्न पाउँदैनन् । निःशुल्क प्रयोग गर्दा विज्ञापनहरु देखिन्छन् ।

प्रिमियम स्पोटिफाइमा के के छन् सुविधा ?

अनलाइनमार्फत गीत सुन्ने र डाउनलोड गर्ने सुविधा स्पोटिफाइका प्रिमियम प्रयोगकर्तालाई हुन्छ । प्रिमियम प्रयोगकर्ताले मन लागेका गीतहरु डाउनलोड गरेर जुनसुकै बेला अफलाइन हुँदा सुन्न सकिन्छ । आफ्नै प्लेलिस्ट सेभ गरेर राख्न सकिन्छ । यस्ता प्रयोगकर्ताले गीतहरु सुन्दा कुनै पनि विज्ञापन आउँदैन ।

०००

सन् २००८ अक्टोबर ७ मा पहिलो पटक ‘म्युजिक स्ट्रिमिङ’ एप्लिकेशन स्पोटिफाइ डेनियल एक र मार्टिन लोरेन्टजोनले सञ्चालनमा ल्याएका थिए । तर, त्यसअघि सन् २००६ मै दुबैले ‘स्पोेटिफाइ’ आविस्कार गरिसकेका थिए ।

स्पोटिफाइको आइडिया डेनियल एकलाई सबैभन्दा पहिले सन् २००१ मा सञ्चालनमा आएको ‘नेप्स्टर’ नामक फायल सेयरिङ वेबसाइटबाट आएको थियो । नेप्स्टर एक डिजिटल म्युजिक फाइल वितरण गर्ने सर्भिसका रुपमा सञ्चालनमा आएको थियो । सन् २००२ मा उक्त वेबसाइट विभिन्न विवादका कारण बन्द भएको थियो ।

बन्द भएको वेबसाइटको आइडियालाई डेनियलले नयाँ रुप दिँदै सन् २००६ मा ‘स्पोटिफाइ’ आविस्कार गरेका थिए । डेनियलले आफ्नो अन्तर्वार्तामा भनेका छन्, ‘कुनै पनि आइडियालाई चोरी गरेर कानूनबाट कोही पनि भाग्न सक्दैन । त्यसैले अरुको आइडिया ओगट्नुभन्दा आफूले त्योभन्दा राम्रोे सेवा दिन सक्नुपर्छ । मैले त्यही राम्रो कसरी गर्न सकिन्छ भन्ने कुरालाई प्राथमिकता दिएर स्पोटिफाइ बनाएको हो ।’

निःशुल्क ‘साइनअप’ गराएर स्ट्रिमिङ सुरु गरेको पहिलो वर्षमा डेनियल र मार्टिनले ४४ लाख अमेरिकी डलर घाटा व्यहोरेका थिए । सन् २००९ सम्ममा बेलायतका प्रयोगकर्ताहरुलाई निःशुल्क साइनअप स्ट्रिमिङ उपलब्ध गराउन सकेको थिएन । यता एप्पल स्टोरमा स्पोटिफाइ डाउनलोड सुरु भइसकेको थियो । जसबाट स्पोटिफाइले अत्यधिक मार खेपिरहेको थियो ।

स्पोटिफाइले सन् २०११ मा १० लाख डलर लगानी पाएको थियो । उक्त लगानीपछि स्पोटिफाइले अमेरिकामा आफ्नो स्ट्रिमिङ विस्तार गरेको थियो । सुरुमा अमेरिकाका प्रयोगकर्ताहरुलाई निःशुल्क साइन-इन सुविधा दिइएको थियो । ६ महिनापछि म्युजिक स्ट्रिम सुविधा अफर दिइएको थियो । यतिबेलासम्म स्पोटिफाइका १० लाख प्रिमियम प्रयोगकर्ता पुगेको कम्पनीले दाबी गरेको थियो ।

प्रयोगकर्ताहरु बढाउन स्पोटिफाइले सन् २०१२ मा ‘एन्ड्रोइड’ स्मार्टफोन प्ल्याटफर्ममा पनि स्ट्रिमिङे सुरु गरेको थियो । सन् २०१२ को अन्तसम्म विश्वव्यापी रुपमा स्पोटिफाइ प्रयोगकर्ता २ करोड पुग्यो । जसमा शुल्क तिर्नेमात्रै ५० लाख थिए ।

स्पोटिफाइमा गीतहरु सुन्ने प्रयोगकर्ता बढ्दो क्रममा छन् । कम्पनीले पनि एप्लिकेशनमा थप सुधार जारी राख्दै आएको छ । कम्पनीले सन् २०१५ मा स्पोटिफाइमा गीतका भिडियोहरु राख्ने सर्भिस अपडेट गरेको थियो । उक्त अपडेटबाट स्पोटिफाइमा २५ अर्ब घण्टासम्म गीतहरु सुन्न सकिने व्यवस्था भयो । यतिबेलासम्म विश्वव्यापी रुपमा म्युजिक स्ट्रिमिङ प्रयोेगकर्ता संख्या ७ करोड ५० लाख पुगेको थियो ।

सन् २०१६ मा आफूहरुले भोग्नुपरेको कठिनाइमा राज्यको नीतिहरु कारक रहेको भन्दै स्पोटिफाइका संस्थापक डेनियल र मार्टिनले राजनीतिक प्रतिनिधिहरुलाई पत्र लेखेर दबाब दिएका थिए । डेनियल र मार्टिनले सरकारका प्रतिनिधिहरुलाई आफूहरु जस्ता उदाउँदै गरेका स्टार्टअपहरुले देशको अर्थतन्त्रमा टेवा पुग्ने र सरकारले नीतिगत रुपमा सहजीकरण गर्नुपर्ने माग गरेका थिए । सन् २०१६ सम्म स्पोटिफाइका प्रयोगकर्ता १० करोड पुगेको थियो ।

स्पोटिफाइले आफ्नो कार्यालय न्यूयोर्कको ‘वर्ल्ड ट्रेड सेन्टर’ मा स्थापना गर्ने घोषणा गरेको थियो । कम्पनीले विश्वका विभिन्न राष्ट्रहरुमा आफ््नो स्ट्रिमिङ बढाउँदै सन् २०२० को सुरुसम्म २८ करोड ६० लाख प्रयोगकर्ता बढाएको थियो । सन् २०२० को अन्तसम्ममा स्पोटिफाइका प्रयोगकर्ता ३४ करोड ५० लाखभन्दा बढी पुगेको थियो ।

सन् २०२१ सम्म ४० करोड ६० लाख प्रयोगकर्ता भएको स्पोटिफाइले सन् २०२२ सम्म ४५ करोड ४० लाख प्रयोगकर्ता पुर्‍याएको थियो । सन् २०२३ को अन्तसम्ममा स्पोटिफाइले १४ करोड प्रयोगकर्ता बढाउँदै ६० करोड पार गरेको थियो । एकै वर्षमा १४ करोड प्रयोगकर्ता बढाउन सक्नु स्पोटिफाइको धेरै ठूलो उपलब्धि थियो ।

हाल ६० करोड २० लाखभन्दा बढीले स्पोटिफाइमा म्युजिक, पडकास्ट तथा अडियो बुकहरु सुनिरहेका छन् ।

विभिन्न एजेन्सीहरुको सहयोगमा


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर