जनमतको रणनीति- पहिला मधेसको मुख्यमन्त्री दाबी, त्यसपछि मात्रै प्रचण्डमाथिको समर्थनबारे निर्णय – Nepal Press

जनमतको रणनीति- पहिला मधेसको मुख्यमन्त्री दाबी, त्यसपछि मात्रै प्रचण्डमाथिको समर्थनबारे निर्णय

जनमतलाई सरकारको नेतृत्व दिने सहमति नभएको जसपाको दाबी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेस सरकारबाट बाहिरिएको जनमतले पार्टीले गठबन्धनमा भएको सहमतिअनुसार सरकारको नेतृत्व दाबी गर्ने तयारी गरेको छ ।

राष्ट्रियसभाको निर्वाचनको समीक्षा गर्न मंगलबार बसेको गठबन्धनको बैठकमा नगएको जनमतले अब बस्ने बैठकमा आलोपालो सहमति सम्झाउने तयारी गरेको हो । जनमतको दाबीअनुसार मधेस सरकारको नेतृत्व जसपाले एक वर्ष नेतृत्व गरेपछि जनमत र कांग्रेसले २-२ वर्ष नेतृत्व गर्ने सहमति बनेको थियो ।

जनमतका जनमतका उपाध्यक्ष अब्दुश खानले आलोपालो सहमतिअनुसार आफूहरूले सरकारको नेतृत्व पाउनुपर्ने बताए ।

उनले भने, ‘मधेस सरकारको नेतृत्व गठबन्धनमा भएको सहमतिअनुसार त अहिले जनमतले नै पाउनुपर्ने हो । जसपाको दादागिरीको कारणले हामीले सरकारबाट मन्त्री फिर्ता बोलाएका हौं । संघ सरकारका लागि नेताहरूमा छलफल भइरहेको छ ।’

मधेस सरकार छाडेपनि संघ सरकारलाई दिएको समर्थन कायमै रहेको बताए ।

उनले भने, ‘अब कसरी अगाडि बढ्ने भन्नेबारे पार्टीमा छलफल भइरहेको छ । कुनै टुंगो लागेको छैन । पार्टीमा छलफल भएपछि मात्रै निष्कर्ष निस्कन्छ ।’

हिजोको बैठकमा नगएको जनमतले मधेस सरकारको नेतृत्वसहित प्रधानमन्त्री र गठबन्धनको बैठकमा कुरा उठाउने प्रवक्ता डा. शरद यादवले बताए ।

उनले भने, ‘गठबन्धनमा भएको सहमतिअनुसार मधेस सरकारको नेतृत्वको विषयमा अब हामीले गठबन्धनकै बैठकमा कुरा राख्ने निर्णय भएको छ ।’

तर, जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेत मधेस सरकारको नेतृत्व जनमतलाई छाड्ने गठबन्धनमा कुनै सहमति नभएको दाबी गरे ।

उनले भने, ‘मधेस सरकारबाट उहाँहरू आफैं बाहिरिनुभएको हो । हामीले हटाएका होइनौं उहाँहरूलाई नै सरकारको नेतृत्व दिने भन्नेबारे कुनै सहमति भएको छैन । मधेसमा बाहिरिसकेपछि अब संघमा के गर्नुहुन्छ उहाँहरूको स्वविवेकमा भर पर्छ ।’

गत सोमबार सप्तरीको राजविराजमा जसपा अध्यक्ष उपेन्द्र यादव र मुख्यमन्त्री सरोजकुमार यादवले मधेस कृषि विश्वविद्यालय भवनको शिलान्यास गर्दा विरोध प्रदर्शन गर्ने क्रममा शिक्षामन्त्री यादव र जनमतका नेता कार्यकर्ताहरूमाथि प्रहरीले लाठीचार्ज गरेपछि जनमतले सरकार छाडेको थियो ।

जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमतका अध्यक्ष सीके राउतबीच पछिल्लो समय टकराब बढ्दै गइरहेको छ । दुई नेताहरूबीचको टकराबले जनमतलाई गठबन्धनबाट हटाउने तयारी छ । जनमतबाट संघमा संघीय मामिला मन्त्री अनितादेवी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर