यू-१९ विश्वकप : ठूला टीमविरुद्ध नेपालले पल्टाउला पासा ? यी ४ खेलाडीमा आशा – Nepal Press

यू-१९ विश्वकप : ठूला टीमविरुद्ध नेपालले पल्टाउला पासा ? यी ४ खेलाडीमा आशा

काठमाडौं । नेपालले यसै साता आईसीसी यू-१९ विश्वकप क्रिकेट प्रतियोगितामा प्रतिस्पर्धा गर्दैछ । दक्षिण अफ्रिकामा जनवरी १९ तारिखबाट सुरु हुने प्रतियोगिताको पहिलो चरणमा नेपालले तीन वटा टेस्ट टोली पाकिस्तान, न्युजिल्यान्ड र अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो चरणको यात्रा तय गर्ने नेपालले चार टोली रहेको समूहमा शीर्ष ३ भित्र अटाउनुपर्ने हुन्छ । नेपालले ८ वर्षपछि यू-१९ विश्वकप खेल्न लागेको हो । कुनै समय लगातार पाँच पटक सहभागिता जनाएको नेपाली टोली पछिल्ला तीन संस्करणमा छनोट हुन सकेको थिएन । यस पटक एसिया छनोटको अन्तिम लिग म्याचमा यूएईलाई हराएलगत्तै नेपाली टोलीले उमेर समूहको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगितामा स्थान बनाएको थियो ।

नेपाली टोलीले अन्तिम पटक सन् २०१६ मा युवा विश्वकप खेल्दा ऐतिहासिक सफलता प्राप्त गरेको थियो । त्यतिबेला पहिलो चरणमा टेस्ट राष्ट्र न्युजिल्यान्डलाई हराएको थियो भने पहिलो पटक क्वाटरफाइनल यात्रा तय गरेको थियो । सन्दीप लामिछाने, आरिफ शेख, सुनिल धमला, राजु रिजाल, दीपेन्द्रसिंह ऐरी, सन्दीप सुनारलगायतका खेलाडी नेपाली टोलीमा थिए ।

त्यसको दुई वर्षअघि मात्र नेपाली सिनियर राष्ट्रिय टोलीले बंगलादेशमा आईसीसी टी-२० विश्वकप खेलेको थियो । एक वर्षयता आईसीसीका एसोसिएट तथा एफिलिएट सदस्यले मात्र खेल्ने सबैभन्दा ठूलो एक दिवसीय प्रतियोगिता आईसीसी वर्ल्ड क्रिकेट लिग च्याम्पियनशिपमा पनि प्रतिस्पर्धा गरिरहेको थियो ।

यतिबेला पनि नेपाली सिनियर राष्ट्रिय टोली उच्च लयमा छ । नेपालले गत वर्ष एकपछि अर्को सफलता हात पार्न सफल भयो । आईसीसी विश्वकप लिग-२ मा अन्तिम १२ मध्ये ११ वटा खेल जितेर एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको थियो भने एसीसी प्रिमियर कप जितेर पहिलो पटक एसिया कपमा पनि प्रतिस्पर्धा गरेको थियो ।

गत वर्ष नेपालले यू-१९ क्रिकेटमा पनि उल्लेख्य सफलता हात पार्‍यो । सन् २००७ पछि नेपालले पहिलो पटक एसीसी यू-१९ प्रतियोगिताका रुपमा रहेको एसीसी यू-१९ प्रिमियर कप जितेको हो । नेपालले फाइनलमा यूएईलाई हराएर उक्त सफलता पाएको थियो । यसबीचमा लामो समय अफगानिस्तान र त्यसपछि यूएईले नेपाललाई उपाधि जित्नबाट रोकिरहेको थियो ।

गत वर्ष नेपाली यू-१९ राष्ट्रिय टोलीले पनि भारत र पाकिस्तानसँग खेलेको थियो, एसीसी यू-१९ एसिया कपमा । यद्यपि उनीहरुसँग सिनियर टोलीले जस्तो तारिफयोग्य प्रदर्शन नेपालको युवा टोलीले गर्न सकेन । तर पनि विश्वकपमा भिड्नुअघि नेपाललाई बलिया टोलीसँग अनुभव बटुल्ने गतिलो अवसर भने बन्यो । त्यही टोलीमा रहेका अधिकांश खेलाडीलाई समेटेर नेपालले आगामी विश्वकप खेल्दैछ ।

यस पटक संयोग नै मान्नुपर्छ, नेपालले समूहगत चरणमा खेल्न लागेका तीन वटै टोलीलाई विगतमा हराएको छ । नेपालले पाकिस्तानलाई सन् २००२ को विश्वकपमा हराएको थियो भने न्युजिल्यान्डलाई सन् २००६ र २०१६ मा हराएको इतिहास छ । अफगानिस्तानलाई सन् २०११ मा आयोजित यू-१९ विश्वकपको विश्वस्तरको छनोटमा पराजित गरेको थियो ।

नेपाली टोलीले विश्वकप सुरु हुनुअघि दक्षिण अफ्रिकामा खेलिरहेका अभ्यास खेलहरुमा लगातार सफलता पाइरहेको छ । नेपालले स्कटल्यान्डलाई दुई पटक हरायो भने नामिबियामाथि पनि रोचक जीत हात पार्‍यो ।

यी चार खेलाडीमा आशा

यसपालिको यू-१९ टीमले नेपालको ‘जाइन्ट किलर’ छवि कायम राख्न सक्ला त ? पक्कै पनि त्यो आशा गर्न सकिन्छ । टीममा केही खेलाडी छन्, जो चलेको खण्डमा कुनै पनि प्रतिस्पर्धीलाई दबाबमा राख्न सकिन्छ ।

नेपालले आगामी विश्वकप खेलिरहँदा सबैभन्दा बढी आशा गरिएका खेलाडी हुन् गुल्शन झा । सिनियर राष्ट्रिय टोलीबाट समेत निरन्तर खेलिरहेका गुल्शन अलराउन्डर हुन् । उनको मिडियम पेस बलिङ र मध्यक्रममा आएर विस्फोटक ब्याटिङ गर्न सक्ने क्षमताले विपक्षी टोलीलाई पक्कै गाह्रो बनाउने छ ।

गुल्शनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा २४ एक दिवसीय खेल खेल्दै २१ विकेट लिएका छन् भने ३ अर्धशतकसहित ४८८ रन बनाएका छन् । गुल्शनकै निर्णायक प्रदर्शनमा नेपालले यूएईलाई हराएर गत वर्ष एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्न सफल भएको थियो ।

गुल्शनबाहेक कप्तान देव खनालसँग पनि सिनियर राष्ट्रिय टोलीबाट खेलेको अनुभव छ । उनले सिनियर अन्तर्राष्ट्रिय क्रिकेटमा १० खेल खेल्दै २ अर्धशतकसहित २५३ रन जोडेका छन् । देवकै कप्तानीमा नेपालले एसीसी यू-१९ प्रिमियर कप जितेको थियो । उनी माथिल्लो क्रममा टिकेर ठूला इनिङ खेल्न सक्ने क्षमता राख्छन् । देवले गत यू-१९ प्रिमियर कपमा २ शतक प्रहार गरेका थिए । प्रतियोगितामा उनी सर्वाधिक रन जोड्ने ब्याटर थिए ।

ओपनिङ ब्याट्सम्यान अर्जुनकुमार कुमाल पनि नेपाली टीमका एक खम्बा हुन् । उनले नेपाललाई ब्याटिङमा राम्रो सुरुवात दिने गरेका छन् । ओपनिङ ब्याट्सम्यानमा हुनुपर्ने खुबी र धैर्यता अर्जुनमा छ । उनले यू-१९ मा दुई वटा शतक नेपालका लागि प्रहार गरिसकेका छन् ।

विश्वकपमा आशा गरिएका अर्का नेपाली खेलाडी हुन् दीपेश कँडेल । स्पीनर कँडेल यू-१९ प्रिमियर कपमा सर्वाधिक विकेट लिने बलर हुन् । उनले ५ खेलमा १८ विकेट लिएका थिए भने बलिङ इकोनोमी केवल २ थियो । दीपेशलाई नेपाली स्पीनको भविष्यका रुपमा पनि हेर्न थालिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले विश्वकपको आसन्न संस्करणमा प्लेयर्स टु वाच भन्दै ४ जना नेपाली खेलाडीको नाम उल्लेख गरेको छ । त्यसमा गुल्शन, देव, अर्जुन र दुर्गेश गुप्ता रहेका छन् । दीपेश भने त्यसमा छुटेका छन् । सम्भवतः साउथ अफ्रिकाको पीचले स्पिनभन्दा फास्ट बलिङलाई सहयोग गर्ने भएकाले दुर्गेश परेका हुन् ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले पछिल्लो समय लगातार खेलिरहेको र सफलता पनि प्राप्त भइरहेकाले टोलीबाट अपेक्षा गर्न सकिने बताउँछन् ।

‘यू-१९ खेलाडीमा अनुभवको कमी नै हुन्छ । त्यसैले टेस्ट राष्ट्रहरुविरुद्ध पनि राम्रो नतिजाको अपेक्षा गर्न सकिन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *