बुद्धिमान तामाङ भन्छन्- गठबन्धनले राप्रपालाई पनि समेट्ने कुरा थियो, म आज पहल गर्छु – Nepal Press
राष्ट्रियसभा चुनाव

बुद्धिमान तामाङ भन्छन्- गठबन्धनले राप्रपालाई पनि समेट्ने कुरा थियो, म आज पहल गर्छु

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको हिजो बसेको वैठकले राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनसँग एक सीट माग्ने निर्णय गर्दै यसका लागि कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई जिम्मेवारी दिने निर्णय गर्‍यो । तर, आज गठबन्धन बैठकले राष्ट्रियसभाका १९ सीटमा सत्तारुढ चार दलबीच भागबन्डा टुंग्याएको छ ।

गठबन्धन दलहरूबीच नै हानाथाप चलिरहेको बेला राप्रपाले भाग पाउन सक्ने कुनै सम्भावना थिएन । तर, कोशी प्रदेश सरकारलगायतका विषयमा गठबन्धनलाई सहयोगको आश्वासन दिएर राष्ट्रियसभामा एक सीट प्राप्त गर्ने रणनीति पार्टीले लिएको थियो । राप्रपा उक्त निर्णय केही घन्टामै असान्दर्भिक बनेको छ ।

राप्रपा कार्यवाहक अध्यक्ष तामाङ भने अझै पनि आफू गठबन्धनसँग तालमेलका लागि प्रयास गर्ने बताउँछन् । उनले यसअघि प्रधानमन्त्री र कांग्रेस सभापतिसँग सकारात्मक कुराकानी भएको दाबी गरे ।

यो पनि पढ्नुहोस् : राष्ट्रियसभा चुनावका लागि राप्रपाले टुंग्यायाे उम्मेदवार, गठबन्धनसँग तालमेल प्रयास गर्ने

नेपाल प्रेससँग तामाङले भने, ‘उहाँहरूले आपसी भागबन्डा मिलाइसकेको मेरो जानकारीमा छैन । त्यस्तो हो भने पनि म पार्टीले दिएको जिम्मेवारीअनुसार आज आफ्नो तर्फबाट पहल गर्छु ।’

यसअघि आफूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासँग समेत राष्ट्रिय सभामा राप्रपालार्ई समेट्ने सन्दर्भमा कुराकानी गरेको बताए ।

‘म उहाँहरूसँग संवादमा थिएँ । उहाँहरूले सकारात्मक प्रतिक्रिया दिनुभएको थियो,’ तामाङले भने ।

यदि गठवन्धनसँग कुरा नमिलेको खण्डमा पार्टीले सबै प्रदेशमा आफ्नै उम्मेदवार उठाउने उनले बताए ।

‘हामीले उम्मेदवार टुंग्याइसकेका छौं र उहाँहरूलाई खबर पनि गरिसकेका छौं । जितहार जे भए पनि प्रतिस्पर्धामा उत्रिन्छौं,’ उनले भने ।

राप्रपाको हिजो बसेको कार्यसम्पादन समितिको वैठकले सबै प्रदेशमा उठाउने उम्मेदवारको नाम फाइनल गरेको थियो । गठबन्धनले एक सीट दिएको खण्डमा भने उद्धव पौडेललाई पठाउने राप्रपाको तयारी थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर
Nepal Press - Live
Nepal Press - Live