राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, सत्ता गठवन्धनसँग दूरी यथावत – Nepal Press

राप्रपाले गण्डकीमा एमाले सरकारलाई नसघाउने, सत्ता गठवन्धनसँग दूरी यथावत

आन्दोलनको स्वरुप फेर्ने तयारी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले वर्तमान सत्ता गठवन्धनसँग दुरी राख्ने रणनीतिलाई निरन्तरता दिने भएको छ । बाहिर चर्चा भएजस्तो गण्डकीमा एमाले नेतृत्वको सरकारलाई समर्थन गर्ने कुनै पनि सम्भावना नरहेको पार्टी स्रोतले बतायो ।

आफ्नो आगामी कार्ययोजना तय गर्न राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको वैठक दुई दिन देखि बसिरहेको छ । सो वैठकमा उपचुनावको निराशाजनक नतिजादेखि पार्टीले गर्ने भावि आन्दोलनका विषयसम्म छलफल भइरहेको स्रोतले बतायो ।

राप्रपाले राजसंस्था पुनस्र्थापनको माग राख्दै गरेको सडक आन्दोलनको पहिलो चरण पूरा भएको छ । अब दोस्रो चरणमा आन्दोलनको स्वरुप फेर्ने तयारी गरिएको स्रोत बताउँछ ।

राप्रपा वर्तमान सत्ता गठवन्धनलाई कतै पनि सहयोग नगर्ने आफ्नो निर्णयमा अडिक रहने भएको छ । गण्डकीमा राप्रपा संसदीय दलका नेता पञ्चराम तमुले एमाले नेतृत्वको सरकारलाई समर्थन गर्न सक्ने अभिव्यक्ति दिएका थिए । तर, पार्टी नेतृत्वले उनलाई त्यस्तो निर्णय नलिन सचेत गराइसकेका छन् ।

स्रोतले भन्यो, ‘सत्ता गठवन्धनसँग कुनै पनि हालतमा सहकार्य हुँदैन । गण्डकीमा पनि त्यस्तो सम्भावना शून्य छ ।’

गण्डकीमा खगराज अधिकारीको सरकारविरुद्ध परेको रिटमा सर्वोच्चले उनको पक्षमा निर्णय सुनाएको थियो । ३० जनाले नै बहुमत पुग्ने भनेर सर्वोच्चले ब्याख्या गरेपछि गण्डकी सरकार जोगिएको छ । यद्यपि, विश्वासको मत लिँदा ३१ जनाकै समर्थन चाहिने कांग्रेसले बताइरहेको छ । राप्रपाले समर्थन गरेको खण्डमा खगराज सरकार सुरक्षित रहनेछ । तर, राप्रपा अहिले सत्ता गठवन्धनभन्दा पनि कांग्रेससँग सहकार्यको मुडमा छ ।

केन्द्रीय सरकारमा राप्रपा सहभागी हुने कुरा झन् कल्पनाभन्दा बाहिरको भएको स्रोतले बतायो । ‘हामीलाई सरकारमा जाने भए पहिल्यै गइसक्थ्यौं । यो सरकारमा नजाने भनेरै बसेका हौं । यतिबेला सरकारमा सहभागी हुने हाम्रो नीति नै छैन,’ स्रोतले भन्यो ।

राप्रपा बैठकमा इलाम २ को चुनावी परिणाम बारे पनि विमर्श भइरहेको छ । त्यहाँ निकै दयनीय मत आएपछि राप्रपा गम्भीर बनेको पनि स्रोत बताउँछ । ‘हामीले सोचेको भन्दा धेरै नै कम भोट आयो,’ स्रोतले भन्यो, ‘इलाममा हाम्रो संगठन कमजोर हुनुलाई नै मुख्य कारक मानेका छौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर