राष्ट्रियसभा चुनावका लागि राप्रपाले टुंग्यायाे उम्मेदवार, गठबन्धनसँग तालमेल प्रयास गर्ने – Nepal Press

राष्ट्रियसभा चुनावका लागि राप्रपाले टुंग्यायाे उम्मेदवार, गठबन्धनसँग तालमेल प्रयास गर्ने

गठबन्धनसँग सहमती भए उद्धव पाैडेललाई पठाउने तयारी, डा. लाेहनीले भने- आइ एम नट इन्ट्रेस्टेड

काठमाडौं । आगामी माघ ११ गते हुने राष्ट्रिय सभा चुनावका लागि संसदको पाँचौं ठूलो दल राप्रपाले सबै प्रदेशमा आफ्ना उम्मेदवार फाइनल गरेको छ । आज बसेको कार्यसम्पादन समितिको बैठकले पार्टीका उम्मेदवारको नाम टुंग्याएको हो ।

बिहान संसदीय दलको बैठकले उम्मेदवारहरूको नाम सिफारिस गरेको थियो । त्यसपछि बसेको कार्यसम्पादन समिति बैठकले उक्त सिफारिसलाई सदर गर्नुका साथै सत्ता गठबन्धनसँग तालमेलको पहल गर्ने निर्णयसमेत गरेको छ । गठबन्धन नेताहरूसँग छलफल गर्ने जिम्मेवारी कार्यवाहक अध्यक्ष बुद्धिमान तामाङलाई दिइएको स्रोतले बतायो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन मलेसियामा छन् । उनी राष्ट्रिय सभा चुनावका लागि मनोनयन दर्ता गराउने भोलिपल्ट (२४ गते) मात्र फर्किने कार्यक्रम छ । त्यसैले कार्यवाहक अध्यक्षको भूमिकामा रहेका तामाङलाई सबै जिम्मेवारी दिइएको हो ।

स्रोतका अनुसार तामाङले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटेर एक राउण्ड कुराकानी गरिसकेका छन् । तर ठोस समझदारी भएको छैन ।

गठबन्धन दलभित्रै भागबन्डा मिलाउन सकस परिरहेकाले राप्रपालाई समेट्न त्यति सहज देखिँदैन । तर कोशी सरकारको स्थायित्व लगायत विभिन्न कारणले राप्रपालाई पुरै उपेक्षा गर्ने पक्षमा पनि प्रचण्ड(देउवा छैनन् ।

गठबन्धनसित राप्रपाले एक सिटको माग गर्नेछ । यदि त्यसमा सहमति भएको खण्डमा उद्धव पौडेललाई पठाइने राप्रपा स्रोतले बतायो । पार्टीका वरिष्ठ नेता डा। प्रकाशचन्द्र लोहनी राष्ट्रिय सभा छिर्ने दौडबाट आफैँ अलग भएका छन् ।

आजको कार्यसम्पादन समिति बैठकमा लोहनीले राष्ट्रिय सभा चुनावमा लड्न इच्छुक नरहेको बताए । स्रोतका अनुसार उनले भनेका थिए, आइ एम नट इन्ट्रेस्टेड । अरू साथीहरूलाई सहयोग गर्छु ।’

गठबन्धनको सहयोगबिना राप्रपाले राष्ट्रिय सभामा एक सिट पनि जित्ने अवस्था छैन । यद्यपि गठबन्धनसित सहमति नभए पार्टीले सबै प्रदेशमा उम्मेदवार उठाउने स्रोतले बतायो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर