पानी बाराबारको अवस्थामा रहेका तीन मधेसी नेतालाई जब जयशंकरले दायाँ-बायाँ उभ्याए – Nepal Press

पानी बाराबारको अवस्थामा रहेका तीन मधेसी नेतालाई जब जयशंकरले दायाँ-बायाँ उभ्याए

काठमाडौं । नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले द्वारिका होटलमा विभिन्न दलका शीर्ष नेताहरुलाई बोलाएर भेटे । अरु नेताहरुसँग दलीय हिसाबले भेटवार्ता गरेका उनले मधेसवादी तीन पार्टीका प्रमुखहरुलाई भने एकैपटक सामूहिक भेट गरेका थिए ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, जनमत पार्टीका अध्यक्ष डा। सिके राउत र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्षका अध्यक्ष महन्थ ठाकुरसँग विदेशमन्त्री जयशंकर भेटवार्ता गरेका हुन् । यो यसकारण रोचक छ कि तीनै जना नेता अहिले एकअर्कासँग निकै दूरीमा छन् । उपेन्द्र यादव र सीके राउतबीच त एक प्रकारको दुश्मनी जस्तै छ ।

जयशंकरले मधेसवादी नेताहरुलाई हेपेर एकैसाथ भेटेका हुन् कि उनीहरुबीचको दूरी घटाएर एक ठाउँ ल्याउने प्रयास गरेका हुन् ? यो रोचक प्रश्न हुनसक्छ ।

महन्थले उपेन्द्रसँग एउटै पार्टीमा बस्न नसकेपछि जसपाबाट अलग भएर लोसपा गठन गरेका थिए । महन्थ र जनमतका अध्यक्ष राउतबीच पनि व्यक्तिगत तवरमा राम्रो सम्बन्ध छैन । जसपाको मधेशमा खिइँदो शक्ति र गत निर्वाचनपछि जनमतप्रति बढेको आकर्षण उनीहरुबीच टकराब बढ्दै आइरहेको छ ।

गत मंसिरमा सप्तरी- २ को निर्वाचनमा उपेन्द्र र सीके आपसमा भिडेका थिए । उपेन्द्रलाई पराजित गर्दै सीके भारी मतले विजयी भए । तर, उपेन्द्र यादव फेरि गत वैशाखमा भएको उपचुनाव लड्दै चोर बाटोबाट संसद छिर्न सफल भए । उपेन्द्रलाई बारा २ बाट संसदमा छिर्न रोक्न अध्यक्ष राउतले सक्दो प्रयास गरेका थिए । तर, उनको त्यो प्रयास सफल भएन ।

मधेशको राजनीतिमा पछिल्लो समय पहिलो नेता को हो भन्ने आन्तरिक प्रतिस्पर्धा छ । सीके राउतको उदयले उपेन्द्र र महन्तको प्रभुत्वमा धक्का दियो । त्यसैले यी तीन नेताहरुबीच आपसमा पानी बाराबारकै स्थिति छ । उनीहरु एउटै गठबन्धन र सरकारमा भए पनि एकअर्काविरुद्ध खनिँदै आइरहेका छन् ।
विगतमा बारम्बार भारतीय दूतावासले मधेसी नेताहरुलाई एक ठाउँमा ल्याउने प्रयास गर्दै आएको छ ।

मधेसी नेतामध्ये महन्त ठाकुर सबैभन्दा भारतपरस्त मानिन्छन् । उनी भारतीय दूतावाससँग अत्यधिक नजिक छन् । दूतावासले उनलाई राम्रैसँग प्रयोग गर्दै आइरहेको छ । सीके र उपेन्द्रले महन्त जसरी दूतावास रिझाउन सकिरहेका छैनन् । कतिपय सन्दर्भमा उनीहरु भारतीय संस्थापन पक्षसँग असन्तुष्ट देखिन्छन् ।

मधेसी दलहरु यसरी छिन्नभिन्न हुँदा उनीहरुको जनाधार भत्किने र चुनावमा राम्रो परिणाम नआउने चिन्ता भारतीय संस्थापनलाई छ । त्यसैले भारतीय विदेशमन्त्रीले आफ्नो भ्रमणमा उनीहरुबीच सुलह गराउने प्रयत्न गरेको हुनसक्ने अनुमान एकथरि विश्लेषकले गरिरहेका छन् ।

स्रोतका अनुसार महन्त, उपेन्द्र र सीके तीनै जनालाई भारतीय दूतावासले भेटका लागि एउटै समय दिएको थियो । यद्यपि, उनीहरु यसबारे जानकार थिएनन् । सामूहिक भेटमा के कुरा भयो भन्ने बाहिर आएको छैन । आउने सम्भावना पनि छैन ।

लोसपा नेता केशव झा जयशंकरको समय अभावको कारणले शीर्ष नेताहरुबीच सामूहिक भेटवार्ता भएको बताउँछन् ।

उनले भने, ‘उहाँको बाक्लो कार्यसूची थियो । सबैलाई एकै समयमा बोलाउनुभएको रहेछ । तीन दलका नेताहरु एकै ठाउँमा राखेर फोटो खिचाउनुभयो ।’

जयशंकरले कुनै एजेण्डा वा रणनीतिका खातिर तीन नेतालाई एकै ठाउँ नराखेको उनको दाबी छ ।

यस्तै जनमतका प्रवक्ता शरदसिंह यादवले यो शिष्टाचार भेटवार्तामात्रै भएको बताए ।

उनले भने, ‘उहाँले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । त्यस्तो कुनै छलफल भएको होइन । उहाँको पनि समय अभाव भएकाले सबैलाई एकै ठाउँमा राख्नुभएको होला ।’


प्रतिक्रिया

One thought on “पानी बाराबारको अवस्थामा रहेका तीन मधेसी नेतालाई जब जयशंकरले दायाँ-बायाँ उभ्याए

Leave a Reply

Your email address will not be published. Required fields are marked *